
अखिल क्रान्तिकारीकी निवर्तमान अध्यक्ष पञ्चा सिंहले माओवादी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ समूह छाडेकी छन् ।
क्रान्तिकारीको नयाँ अध्यक्ष चुन्न निर्वाचन हुनै लाग्दा सिंहले शर्माको साथ छाडेकी हुन् । कालिकोटनिवासी सिंह यसअघि शर्माको जोडबलमा अध्यक्ष निर्वाचित भएकी थिइन् ।
शर्माको दबाबका कारण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अध्यक्ष बनाएका थिए । त्यतिबेला क्रान्तिकारीको अध्यक्षमा सिंहभन्दा सिनियरहरु तीलकराज भण्डारी, दीपक देवकोटा, उत्तम अधिकारी, सुरेन्द्र बस्नेत र विजय गौतम अध्यक्षका आकांक्षी थिए ।
आकांक्षी सबैलाई खुमलटार बोलाएर प्रचण्डले अघिल्लोपटक भाइ अनिल शर्मालाई अध्यक्षमा हराएर रञ्जित तामाङलाई जिताएपछि जनार्दनले पार्टीमा सधैं किचकिच गरिरहेको र त्यही नाममा गुटबन्दी गरेको भन्दै यसपटक उनकै उम्मेदवार सिंहलाई सर्वसम्मत गरिदिन आग्रह गरेका थिए ।
‘प्रचण्डले विद्यार्थी संगठनकै कारण पार्टीमा समस्या बल्झिइरहने भयो, यसपटक मेरो आग्रहलाई मानेर तपाईंहरुले पछि हटिदिनुपर्यो भनेपछि हामीले पञ्चालाई छाडेका थियौं’, त्यतिबेलाका अध्यक्षका आकांक्षीमध्ये एकले भने, ‘तर, अहिले उहाँले जनार्दन दाइ (जनार्दन शर्मा) को साथ छोडेको सुन्दा अचम्म लागेको छ ।’
शर्माको साथ छाडेकी सिंह पार्टी उपमहासचिव बस्नेतनिकट विजयप्रकाश सापकोटाको पक्षमा उभिएकी छन् । उनले सापकोटालाई जिताउन प्रतिनिधिहरुसँग मतसमेत मागिरहेकी छन् ।
शर्माले भने पूर्वपर्यटनमन्त्री सुदन किराँतीका स्वकीय सचिव हेमन्त राईलाई उम्मेदवार बनाएका छन् । सिंहसँगै पूर्वविद्यार्थी नेताहरु नारायण खनाल र मदन भुलले पनि शर्माको साथ छाडेका छन् ।
खनाल र भुल सिंह अध्यक्ष हुँदा क्रान्तिकारीका उपाध्यक्ष थिए । बस्नेत समर्थित सापकोटा प्यानलमा सिंहले आफूनिकट सञ्जय सिंहलाई महासचिवको उम्मेदवार बनाएकी छन् ।
यस्तै क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्माले महेन्द्र चन्दलाई कोषाध्यक्षमा अघि सारेका छन् ।









प्रतिक्रिया दिनुहोस्