
मलाई लागेको लत चानचुने होइन
काँडासँगको आदत चानचुने होइन ।
कति कुरुप देख्यो होला ढुङ्गा
अहो सिसाको नफरत चानचुने होइन ।
घरी हराउने, घरि मै सँगसँगै हिड्ने
मेरो छायाको हरकत चानचुने होइन ।
त्यसपछि कहिल्यै मुस्कुराएनन् फूल
पुतलीले दिएको खत चानचुने होइन ।
यो गाउँमा अझै चर्चा चलिरहन्छ हाम्रो
तिमीसँगको मोहब्बत चानचुने होइन ।
कुनै समय नदी हिड्थ्यो यो बाटो
अहो बगरको बिगत चानचुने होइन ।
खेम बगर/अछाम
प्रकाशित मिति : २०८१ माघ १९ गते शनिबार
प्रतिक्रिया दिनुहोस्