पहिलो भेटमै यौन प्रस्ताव, अस्वीकारपछि हत्या



अघिल्लो शनिबार (माघ १२) गते अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्का नजिकैको जंगलमा मृत भेटिए । उनीहरुको अघिल्लै दिन (माघ ११ गते) सोही गाउँपालिकाको वडा नम्बर १ को सोडसा सामुदायीक वनको छिन्ने ओडारमा हत्या भइसकेको थियो ।

झण्डै एक हप्ता लगाएर गरिएको प्रहरी अनुसन्धानले उनीहरुको हत्या यौन सम्पर्कको प्रस्ताव अस्वीकारपछि भएको देखिएको छ । घटनामा संलग्न सोही गाउँपालिकाभित्रकै १५ र १७ वर्षीय दुई बालकहरुले दुई किशोरीको ढुङ्गा प्रहार गरी हत्या गरेका हुन् । मृतक दुई किशोरी एउटै परिवारका हुन् । सरस्वती इशराकी फुपू नाता पर्छिन् ।

प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको अनुसन्धान विवरण अनुसार परिवर्तित नाम ‘६९ मंगलसेन ७३ र ६९ मंगलसेन ७६’ बालकले मायाको चिनो चुन्नी र यौन प्रस्ताव अस्वीकारेकै भरमा ती किशोरीको हत्या गरिएको अछामका प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारीले बताए ।

उनका अनुुसार उनीहरुको फोनमा कुराकानी भएपश्चात् प्रेम बसेको थियो । मृतक इशरा परिवर्तित नाम ६९ मंगलसेन ७३ को र मृतक सरस्वती खड्का परिवर्तित नाम ६९ मंगलसेन ७६ को प्रेमिका हुन् । टेलिफोनमा प्रेम बसेपनि भेट भने भएको थिएन् ।
प्रहरीका अनुसार हत्या गर्ने बालकहरु घटना घटेको २ दिन अगाडी सोही गाउँको डुफास्थित आफन्तको घरमा गई बसेका थिए । घटना घटेको अघिल्लो नै इशरालाई पटक–पटक फोन गरि भेट्न बोलाएका थिए ।

अछामका प्रहरी प्रमुख, डीएसपी ईश्वरी प्रसाद भण्डारीका अनुसार घटना घटेको दिन बिहानतिर भेट्ने योजना बनाएर ती दुई बालक बिहान १० बजेको समयमा मृतक किशोरीहरु आउने बाटोमा पर्ने खोलामा गएर उनीहरुको बाटो ढुकी बसेका थिए ।

इशरा र सरस्वती दिउँसो १२ बजेतिर रिमरौवा खोला नजिक रहेको आफ्नो खोरबाट बाख्रा ल्याई जंगल तर्फ जान्छन् । जंगलमै उनीहरुको भेट हुन्छ । सूरुमा मृतक सरस्वतीको मोबाईलवाट परिवर्तित नाम ६९ मंगलसेन ७३ को मोबाईलमा सेयरइट मार्फत गितभिडियो सेयर पनि गर्छन् । त्यसपछि जंगलमा रहेको छिन्नेओडार भन्ने स्थानमा गई उनीहरु सँगै ठुलो ढुङ्गामा बस्छन् ।

परिवर्तित नाम ६९ मंगलसेन ७६ ले सरस्वतीसँग मायाको चिनो चुन्नी मागेका थिए । यौन प्रस्ताव गर्दा पनि उनले अस्वीकार गरिन् । पहिलो भेटकै यौन प्रस्ताव गरेका थिए, ती बालकले । सरस्वतीले दुबै प्रस्ताव अस्वीकार गरेपछि ती बालकले इशराकाको सेतो दोपट्टा खोसी अर्का व्यक्ति (परिवर्तित नाम ६९ मंगलसेन ७३) लाई दिए ।

यस्तै सरस्वतीले दोपट्टा नदिएपछि (परिवर्तित नाम ६९ मंगलसेन ७६) ले ईअरफोन खोसेका थिए । उक्त ईअरफोन इशराले ‘मेरो दाईको ईअरफोन हो’ भनेर फिर्ता मागेकी थिइन् । उनीहरुले नदिएपछि दोपट्टा खोसाखोस भई विवाद बढ्यो ।
त्यही समयमा इशरा बाख्रा फर्काउन भनेर जंगलतर्फ लाग्छिन् ।

सरस्वती बसिरहेको ढुङ्गाको तलतिर उभिएकी थिइन् । सोही समयमा परिवर्तित नाम ६९ मंगलसेन ७६ सरस्वती उभिएको ठाउँ जान्छन् । र, यौन सम्पर्क गर्न देऊ भनेर प्रस्ताव गर्छन् । सरस्वतीले ‘विवाह गर्ने भएपछि मात्र दिन्छु भनेकी र परिवर्तित नाम ६९ मंगलसेन ७६ ले आफ्नो उमेर कम छ, ५/६ बर्षपछि विवाह गरौँला’ भन्दा सरस्वतीले प्रस्ताव अस्वीकार गर्छिन् । लगत्तै उनी तलखोलातर्फ फर्किन्छिन् ।

यौन सम्पर्क गर्न नदिएको झोकमा ती बालकले सोही स्थान नजिक रहेको ढुङ्गा समातेर सरस्वतीको टाउको पछाडीको भागमा प्रहार गर्छन् । प्रहरीको प्रतिवेदनले भन्छ, ‘सरस्वती ढल्छिन् र उनको मृत्यू हुन्छ ।’

त्यसपछि ती बालक अर्को हतार–हतारमा पहिला बसेको ढुङ्गामा पुग्छन् । त्यहाँ हातले ढुङगा लडाउन खोज्दा ढुङ्गा लडाउन सकेनन् । जमिनको भित्तामा अडेश लगाई दुबै खुट्टाले उक्त ढुङ्गा ठेलीधकेली लडाउँछन् ।

त्यसपछि अर्का बालक परिवर्तित नाम ६९ मंगलसेन ७३ ले ढुङ्गा आयो भाग भनि कराउँछन् । ढुङ्गा लड्यो भाग भनि कराई सरस्वती लडेको स्थान तर्फ जान्छन्, ती बालक । ढुङ्गा लडेको र परिवर्तित नाम मंगलसेन ७३ ले कराएको आवाज सुनी इशरा सरस्वती ढलेको स्थानमा जान्छिन् ।

त्यो बेलासम्म सरस्वतीको मृत्यू भइसकेको हुन्छ भने इशरालाई ‘कसैलाई नभन्नु भनेर’ ती बालकहरु धम्काउँछन् । तर इशरा आफ्नी फुपुलाई मारेको खबर परिवारलाई भनिदिने भनेर घरतर्फ लाग्छिन् ।

त्यही अवस्थामा बालकहरुले ढुङ्गा प्रहर गरेर इशराको पनि हत्थ्या गरिदिन्छन् । उनीहरुले इशराको निधारमा ढुङ्गा प्रहार गरेका थिए । सो पश्चात् परिवर्तित नाम ६९ मंगलसेन ७६ ले घटनालाई भवितव्य बनाउन ढुङ्गाले इशराको अनुहारको भागमा हानेर चोटैचोट बनाउँछन् । ताकि माथिबाट ढुंगा आएकोजस्तो र त्यो ढुंगा उनीहरुलाई लागेको जस्तो घटना बनोस् । यद्यपि प्रहरीको अनुसन्धानबाट ती बालक पक्राउ परेर प्रहरीको निगरानी कक्षमा छन् । जिल्ला अदालतबाट ५ दिनको म्यादथप भइ उनीहरुमाथि थप अनुसन्धान भइरहेको डीएसपी भण्डारीले बताए ।

कमलबजार नगरपालिका–१० घोडासैनस्थित विद्या प्रवर्दनी माविमा कक्षा ८ मा अध्ययनरत थिए, सरस्वती र इशरा । स्कुलमा राष्ट्रपति रनिङ सिल्डअन्तर्गत कार्यक्रम चलिरहेकाले उनीहरू त्यो दिन घरमा परिवारलाई सघाउने र शनिबार खेल हेर्न जाने योजनामा थिए ।

यद्यपि उनीहरूको योजना भने सधैँका लागि असफल बन्यो । गोठाला गएका उनीहरू सधैँका लागि अस्ताए ।
मृतक दुई किशोरीहरूको शवको पोस्टमार्टम भेरी अस्पताल बाँकेमा गरिएको थियो भने बुधबार गाउँकै खोलामा दाहसंस्कार गरिएको छ ।

घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरी टुङ्गोमा पुर्‍याइएको थियो । अनुसन्धानका लागि काठमाडौँबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली अछाम पुगेको थियो भने सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द लगायतको विशेषज्ञ टोली पनि घटनास्थलमै पुगेको थियो ।

 

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिबार