
सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको पहिलो वार्षिक मुखपत्र ‘समाजवादी यात्रा’ पुस्तकमाथि आइतबार प्रदेश राजधानी वीरेन्द्रनगरको भ्याली भ्यू होटेलमा विमर्श गरियो ।
प्रकाशन विभागले तयार पारेको उक्त पुस्तकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अन्तर्वार्ता, कार्ल माक्र्सको अन्तर्वार्तादेखि १० वर्षे जनयुद्धका बेला कर्णालीले गरेको योगदानको चर्चा गरिएको छ ।
युद्धको समयभर कर्णाली प्रदेशमा भएका घटनाक्रमहरु राखिनुका साथै शान्ति प्रक्रियापछि माओवादीको चुनावी नतिजाको कुरालाई पनि विश्लेषण गरिएको छ । विमर्श कार्यक्रममा कर्णाली प्रदेशका नेताहरुले आ–आफ्ना दृष्टिकोण राखे ।
माओवादीका प्रदेश अध्यक्ष विमला केसीले पछिल्लो समयमा पार्टीभित्र विचार हराउँदै गएको टिप्पणी गरिन् । पढ्ने–लेख्ने बानी हराउँदै गएका बेला वार्षिक मुखपत्र पार्टीका नेता, कार्यकर्ताहरुलाई वैचारिक खुराक बन्ने उनको भनाइ थियो ।
संविधानको प्रस्तावनामै समाजवाद उल्लेख गरेको र माओवादीकै योगदानका कारण संविधानको प्रस्तावनामा समाजवाद उल्लेख भएको दाबी पनि गरिन् ।
उनका अनुसार पुस्तकमा कर्णाली प्रदेशका जति विषयबस्तु समेटिनु पर्ने हो ती नसमेटिएपनि सुरुवात भएकोमा खुःसी व्यक्त गरिन् ।
बाँकी छुटेका विषयहरुपनि आउने दिनमा समेटेर अघि बढ्ने उनको भनाइ छ ।
यस्तै माओवादी प्रदेश इञ्चार्ज कालीबहादुर मल्ले मुखपत्र भनेको पार्टीको आधिकारिक धारणा भएको बताउँदै सही विषयबस्तु समेटेर प्रकाशन गर्नुपर्ने बताए । माओवादीको लक्ष्य नै समाजवाद भएको र त्यही विषयसँग रहेर पुस्तक प्रकाशन गरिएकोप्रति उनले खुःसी व्यक्त गरे ।
साथै मल्लले एमालेका केन्द्रीय उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेपाली जनयुद्वलाई ‘हिंसा’ भनेको प्रति आपत्ति जनाए ।
अरुले जनयुद्वलाई राज्यसत्तासँगको लडाइ भएकाले जनयुद्व भनेर स्वीकार गरिसकेको अवस्थामा जनयुद्व लडेकाहरुले नै हिंसा भनेको बेला त्यो भ्रम च्यात्न सबै लाग्नु पर्ने बताए ।
जनयुद्व हिंसा भए नेपालका ७ राजनीतिक दलका नेताहरुले माओवादीसँग १२ बुँदे समझदारी गरी बृहत् शान्ति सम्झौता गर्दा ती राजनीतिक दलका नेताहरु कता सुतेका थिए ? भन्दै उल्टै उनले प्रश्न गरे ।
‘हिंसा होइन हामीले गरेको जनयुद्व हो,’ उनले थपे, ‘त्यो बहस हामीले गर्नुपर्छ । हिंसा भनेको झडप हो, द्धन्द्ध दुई पक्षबिच हुने लडाइ हो ।’
उनका बुझाइमा युद्व भनेको हतियारको युद्ध हो । जनयुद्ध भनेको अन्यायको विरोध गर्दै राज्यसत्ताका विरुद्ध लड्ने लडाइ भएको मल्लले बताए ।
माओवादीका केन्द्रीय सदस्य रामदीप आचार्यले पछिल्लो समय माओवादी पार्टीमा अध्ययन गर्ने बानी हराएको बताए ।
‘नेता, कार्यकर्ताहरुमा अध्ययन गर्ने बानीको विकास छैन,’ उनले भने, ‘यस्ता खालका कार्यक्रम, प्रकाशनले विचारलाई मलजल गर्छ नै ।’
केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले पढेको विषयमा पढाइमा मात्रै सीमित नभइ व्यवहारमा लागु गर्नुपर्ने बताए । अहिलेको समय भनेको व्यवहारीक ज्ञानको भएको उनले बताए । उनी थप्छन्, ‘ सिद्धान्तको व्याख्या गरेर मात्र हँुदैन, त्यो सिद्धान्त व्यवहारमा प्रयोग गर्न जरुरी हुन्छ । अहिले चाहिएको विकास र परिवर्तन हो ।’ भाषणमा विकासै विकास तर व्यवहारमा केही नभएपछि त्यसको अर्थ नरहने उनको भनाइ छ ।
प्रकाशन विभाग प्रमुख तथा ‘समाजवादी यात्रा’ का प्रधान सम्पादक मोहन शाहीले आगामी दिनमा पुस्तकलाई थप व्यवस्थित बनाई प्रकाशन गरिने बताए ।
शाहीले भने, ‘अहिलेकाे समयमा पठन संस्कृतिमा कमी आइरहेकाे र फेसबुक स्टाटस, टिकटक, अनलाइनकाे शीर्षक हेरेर धारणा बनाउने प्रवृत्ति हावी भइरहेकाे अवस्थामा गहन अध्ययनमा रुचि राख्नेहरूका लागि ‘समाजवादी यात्रा’ सन्दर्भ सामग्रीका रूपमा काम लाग्ने विश्वास लिएकाे छु ।’
प्रतिक्रिया दिनुहोस्