मध्यपश्चिम विश्वविद्यालयको स्ववियू चुनाव चैत २० गतेभित्र गरिसक्न आदेश



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गराउन उच्च अदालत सुर्खेतले आदेश दिएको छ ।

उच्च अदालत सुर्खेतका न्यायाधीश मातृकाप्रसाद भण्डारी र मदन पोख्रेलको संयुक्त इजलासले विश्वविद्यालयका नाममा परमादेश जारी गरेको हो । आदेशमा आगामी चैत २० गतेभित्र चुनाव गराइसक्न भनिएको छ ।

‘मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्बाट मध्यपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन मिति २०८१/०५/२८ का दिन सम्पन्न गर्नेगरी वीरबहादुर पौडेल संयोजक रहेको निर्वाचन समति गठन गरेको र उक्त निर्वाचन समितिले मिति २०८१/०५/२८ मा स्ववियु निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन तालिका प्रकाशन भएकोमा उक्त निर्वाचन तालिका र सो बमोजिम भएका कामकारबाहीको आजका मितिमा औचित्य समाप्त भइसकेको देखिँदा निवदेन दाबी बमोजिम उत्प्रेषणको आदेशद्वारा बदर गरिरहन परेन,’ उच्च अदालतले भनेको छ ।

उक्त निर्वाचनका लागि निर्वाचन समिति गठन गर्नुपर्ने भए गठन गरी निर्वाचन तालिका प्रकाशन गरी मतदाता नामावली प्रकाशन मितिसम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई निर्वाचनमा सहभागी हुने सुनिश्चितता प्रदान गरी स्ववियु निर्वाचन गर्नू/गराउनू भनी न्याय आदेश जारी भएको हो।

२०७३ को भदौ ८ गते पहिलो स्ववियू निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि एमयूको स्ववियु नेतृत्वविहन छ । त्यसको तीन वर्षपछि २०७९ को चैत ५ गते तय भएको निर्वाचन तालिकामा विद्यार्थीले आफूहरू मतदानमा सहभागी हुन पाउनुपर्ने मागसहित अदालतमा रिट दायर गरेपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।

त्यसपछि पुनः २०८१ को भदौ २८ मा तय भएको निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीमा आफ्नो नाम समावेश नभएको भन्दै भदौ २६ मा बायोलोजी समूह पाँचौं सेमेस्टरका विद्यार्थीहरुले अदालतमा रिट दायर गरेका थिए ।

रिट परेपछि निर्वाचन स्थगित भएको थियो । विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा २०७९ चैतमै निर्वाचन सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : २०८१ फागुन १ गते बिहीबार