
नेपालको इतिहासमा तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा ०५२ फागुन १ गते महान जनयुद्धको सुरुवात भएको थियो । सायद नेपालको इतिहासमा पृथ्वीनारायण शाहको नेतृत्वमा राज्य एकीकरण वा विस्तारका लागि गरिएको युद्ध पछिकै महान जनयुद्ध ठूलो र ऐतिहासिक युद्ध हो ।
जनयुद्ध राजनीतिक सैद्धान्तिक, सामाजिक, सांस्कृतिक र आर्थिक हिसाबले ऐतिहासिक महत्वको थियो । जनयुद्धको प्रभाव र विस्तार यति व्यापक थियो कि त्यसले सिङ्गो देश र जनतालाई प्रभावित गरेको थियो भने विश्व साम्राज्यवादका लागि टाउको दुखाइको विषय बन्न पुगेको थियोे । जनयुद्धले प्रभावित नगरेको कुनै भुगोल, राजनीतिक पार्टी, समाज, मान्छे थिएन ।
देशको समग्र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा उथलपुथल ल्याउँदै महान् उपलब्धिहरु हासिल गरेको जनयुद्धले नेपालका उत्पिडित जनताहरुको अदभूत साथ र समर्थन प्राप्त गरेको थियोे । जनयुद्ध हिमाल, पहाड, तराई, गाउँ, शहरका उत्पिडित र श्रमजीवी जनताले लडेको न्यायपुर्ण युद्ध हो । जनयुद्ध एक बहुआयामिक महत्त्व बोकेको अभियान थियो ।
यो महाअभियान वर्गीय उत्पीडनलाई केन्द्रमा राख्दै लिङ्गीय उत्पीडन, जातीय उत्पीडन, क्षेत्रीय उत्पीडन लगायत तमाम उत्पीडनका विरुद्ध विद्रोहको झण्डा उठाएको थियोे । जनयुद्ध, किसान, मजदुर, महिला, दलित जनजाति र श्रमजीवी उत्पीडित जनताहरुको सबै उत्पीडनबाट मुक्त हुने, अधिकार सम्पन्न बन्ने, आफ्नो शासन आफै चलाउने र सिङ्गो मानव जातीलाई समृद्ध र उन्नत जीवनका लागि समाजवाद हुदै साम्यवादसम्म पुग्ने सपनाहरूको अभिव्यक्ति हो ।
श्रमजीवी वर्गले शोषक, सामन्ती र पुजीवादीहरुका विरुद्ध गरेको विद्रोह हो र मालेमावादी विचारका आधारमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा सञ्चालन भएको मुलतः वर्गीय युद्ध हो । गाउँबाट शहर घेर्ने छापामार युद्धको रणनीति चिनियाँ नेता माओले विकास गर्नुभएको रणनीति हो, सोही रणनीतिलाई नेपाली सापेक्षतामा आत्मसात गर्दै गाउँ र शहर, वैधानिक र अवैधानिक, भौतिक र बौद्धिक, राजनीतिक र सैन्य गरि जनयुद्ध सञ्चालन गरिएको थियो।
समग्र राज्यसत्ता बदल्ने अभियानको क्रान्तिको नाम हो जनयुद्ध । जुन युद्धमा पृतिसत्तात्मक समाजले चुला चौका र घाँस दाउरामा कुण्ठित गरेको र सँधै कमजोर ठानिएको महिलाहरुले बन्दुक बोकेर तत्कालीन शाही सेनाको ब्यारेकमा आक्रमण गरि अदभूत साहस, विरता र कौशल प्रस्तुत गरेका थिए । जुन जनयुद्ध सुविधायुक्त तालिम प्राप्त र सापेक्षित आधुनिक हतियार भएको शाही सेनालाई तुलनात्मक रुपमा कमसल हतियार र तालिम लिएका जनमुक्ति सेनाले प्रतिबद्धता, समर्पण र आदर्शका कारण उच्च तहको साहस प्रदर्शन गर्दा शाही सेनालाई पराजित गर्दै ब्यारेकमा सिमित गरि ८०% बढि भु–भाग आफ्नो नियन्त्रणमा लिन सफल भएको थियोे ।
जनयुद्धले सांस्कृतिक हिसाबले युगिन परिवर्तन गरेको छ । समाजमा रहेको जात व्यवस्थाबाट सिर्जित विभेदका विरुद्ध निर्ममता पुर्वक प्रहार गर्यो जसको परिणाम दलितहरु माथि हिजो गरिने व्यबहारमा र आज गरिने व्यबहारमा आकाश जमिनको फरक छ, यद्यपि समाजमा जात व्यवस्था र विभेदको समस्या पुर्णरुपमा हल भइसकेको छैन । जनयुद्धले आदिवासी जनजातिहरुको अधिकार, भाषा संस्कृतिको लागि संघर्ष गर्यो, जसको परिणाम ठुलो जागरण पैदा भयो ।
समाजमा रहेका सामाजिक कुरीति कुसंस्कारहरु जस्तैः दाइजो प्रथा, बालविवाह, बहुविवाह, छाउपडी प्रथा लगायतका विरुद्ध निर्ममतापुर्वक लड्यो । यसर्थ सामाजिक कुरीति र कुसंस्कार विरुद्धको सामाजिक विद्रोहो पनि हो जनयुद्ध । जनजाति ,दलित र आमउत्पिडित श्रमजीवी जनताले बगाएको रगत ,पसिना र आँसुको मूल्यको समग्रता हो जनयुद्ध । सामन्ती व्यवस्थाको एक जाति, एक भाषा, एक भेषको नश्लवादी राजनीति र त्यसैलाई राष्ट्रनिर्माण र राष्ट्रिय एकताको आधार मान्ने नाजीवादी विचार विरुद्धको विद्रोह हो जनयुद्ध । नेपालको बहुसांस्कृतिक बहुभाषा र विविधतालाई आत्मसात गर्ने युद्ध हो जनयुद्ध । मजदुर किसान, सुकुम्बासी र श्रमजीवी वर्गको हित सौन्दर्य स्थापित गर्ने जनयुद्ध हो ।
दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार व्यहोर्दै आएका मधेशी, मुस्लिम लैङ्गकि अल्पसंख्यक, थारू र फरक क्षमता भएका जनसमुदायको आवाज हो जनयुद्ध । त्याग,समर्पण र बलिदानको उच्च किर्तिमान कायम गरेको विश्वमा भएको दुर्लभ परिघटनामध्यको एक परिघटना थियोे जनयुद्ध । उत्पीडनको विरुद्ध समर्पण वा सम्झौता होइन विद्रोह गर्नुपर्छ, विद्रोह गर्नु जनताको अधिकार हो भन्ने संघर्षको मूल्यको दर्शन हो जनयुद्ध । माओवादीको नेतृत्वमा सञ्चालन भएको जनयुद्धले जनतालाई लुटिखाने, ठगिखाने परम्परागत राजनीतिक भाष्य बदलिएको छ र त्याग, समर्पण र बलिदानको नयाँ भाष्य स्थापित भएको छ । उसो त बुर्जुवा नै भएपनि गणतन्त्र र संविधानसभाको जननी पनि जनयुद्ध नै हो ।
आजभोलि कतिपय जनयुद्धमा लडेका मानिसहरुले नै जनयुद्धका उपलब्धिहरुलाई व्यक्तिगत लाभका लागि दुरुपयोग गरिरहेका छन् भने कतिपयले हिंसा भनेर अपमानित गरिरहेका छन् अझ विरोधीहरुले गर्ने आलोचना र आक्रमणको त कुरै नगरौं । जनयुद्धबाट प्राप्त उपलब्धिको उपभोग गरेर जनयुद्धलाई नै सत्तोसराप गर्नेहरु जनताका अपराधीहरु हुन भविष्यमा नयाँ क्रान्तिले दण्डित गर्न जरुरी छ ।
आफ्नो सामान्य चोटमा चिच्याउनेहरुले पलपल मृत्युसँग पौठेजोरी खेल्दै बम, बारुद र बन्दुकसँग खेल्नेकुराको भावलाई अवमूल्यन गर्ने कुरा, आफ्नै प्रिय साथीहरूलाई आखै अगाडि ढलेको देखि आफ्नै हातले दफनाएर राम्रोसँग आँसु पुछ्न पनि नपाउदै फेरि लड्न जानुको पीडा महसुस नगर्ने कुरा, हरेक दिन रगतसँग लतपतिएर कयौं दिनरात भोकभोकै लड्ने कुराको समर्पण नबुझ्ने कुरा, सापेक्षित कमजोर हतियार र कमजोर तालिम लिएर आफ्नो लास बोक्ने घारा आफै बनाएर लडाइँमा जाने कुराको प्रतिबद्धता नबुझ्ने विषय आग्रह पुर्वाग्रह र निषेधबाट प्रेरित छन् । न तलबभत्ता, न पेन्सन, न बीमा, न त कुनै व्यक्तिगत लाभ निस्वार्थ खुकुरीको धारमा हजारौं पाइला चाल्न तयार भएको विचार थियोे जनयुद्ध । राजनीतिलाई व्यापार बनाएर पैसा र शक्ति कमाउन खोज्नेहरु जनयुद्धलाई नबुझ्नु र अपमानित गर्नु स्वभाविक छ तर जनयुद्ध त्याग, समर्पण, बलिदान, उदेश्य र विचारको हिसाबले महान् थियो र महान् रहिरहने छ ।
राजनीतिक चेतनाको हिसाबले जनयुद्ध एक खुल्ला विश्वविद्यालय थियो जहाँ लाखौं जनताले एकैपटक दीक्षित हुने अवसर पाए । महिला, दलित, आदिवासी जनजाति, उत्पीडित श्रमजीवी जनताले राजनीतिक चेतना, सम्मान, सहभागिता प्रतिरोध गर्ने क्षमता प्राप्त गरे । परन्तु दुःखद कुरा भनौं माओवादी पार्टीका नेतृत्व शान्ति प्रक्रियामा प्रवेश गरेसँगै सहरिया विद्रोह मार्फत केन्द्रीय सत्ता कब्जा गर्ने नीतिलाई छोड्दै संसदीय व्यवस्थालाई नै अङ्गिकार गरि प्रतिक्रान्तिको नेतृत्व गर्न पुगे ।जनतालाई ठूलो धोका भएको छ । जनयुद्धको मूल्य मान्यतालाई तिलाञ्जली दिने काम भएको छ ।
यति सम्म कि जनयुद्धको नेतृत्व गरेर आएका नेतृत्व नै बाट जनयुद्ध हिंसा हो भन्दै हिडेका छन । केही संसदीय संशोधनवादमा पतन भएका छन्। केही त माक्र्सवादलाई बुद्व चितको मला जस्तै जपेर बसेका छन् । परन्तु संसदीय पुँजीवादी व्यवस्था र संसदीय संशोधनवादका विरुद्ध निरन्तर संघर्ष गर्दै, नयाँ परिस्थितिको ख्याल गरेर जनयुद्धको भाग दुई अनिवार्य सुरु गर्न आवश्यक छ। त्यो संयुक्त जनसंघर्षमा मार्फत सुरुवात गर्नुपर्छ । एक दुई जना नेतृत्वले धोका दियो भन्दैमा क्रान्ति रोकिदैन, क्रान्ति हुन्छ हुन्छ र सम्भव छ । जनयुद्धलाई कसैले गाली गर्दा, अपमान गर्दा क्रान्तिकारीहरुले चित्त दुखाएर र गाली फर्काएर जनयुद्धको मुल्यको रक्षा हुनेवाला छैन । जनयुद्धको उपलब्धिको रक्षा, जनयुद्धको गौरवको बढावा नयाँ संघर्ष र नयाँ क्रान्तिबाट मात्र सम्भव छ ।
राजतन्त्रको अन्त्य, राज्यको हरेक निकायमा समानुपातिक–समावे शीप्रतिनिधित्व, धर्मनिरपेक्षता, सङ्घियता, दलित–आदिवासी जनजाति र महिलामा आएको जागरण र सशक्तीकरण, दुई दुई पटक महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश बन्ने कुरा लगायतका उपलब्धि जनयुद्धको योगदान हो । परन्तु जनयुद्धको लक्ष्य दलाल पुजीवादी संसदीय व्यवस्था थिएन । तत्कालीन नेतृत्वमा आएको विचलनका कारण केही पाइलाहरु भ्रमित भएका छन्, लर्बरिएका छन्, अवरोधहरु उत्पन्न भएका छन् तर क्रान्तिकारी पाइलाहरु रोकिएका छैनन् ।
उपरोक्त उपलब्धिहरुलाई केही पाइला अघि सरेको मान्न सकिन्छ तर यात्रा रोकिएको बुझ्नु भुल हुनेछ । अबको क्रान्तिको कार्यभार नयाँ पुस्ताको क्रान्तिकारीहरुको काधमा छ । हिजोको नेतृत्वले दिएको धोकाका कारण अझ जटिल अवरोधहरु उत्पन्न भएकै छ तर एक दृढ अठोट र प्रतिबद्धता सहित नयाँ क्रान्तिको झण्डा बोकेर क्रान्तिलाई अघि बढाउनु क्रान्तिकारीहरुको दायित्व हो । जनयुद्ध विश्व कम्युनिस्ट आन्दोलन कै एक अंग थियो।
जनवादी क्रान्ति हुदै समाजवाद र साम्यवाद सम्म पुग्ने सपना बोकेर पाइला सारेको जनयुद्धको यात्रा निरन्तरतामा छ, रहिरहनेछ । नयाँ परिस्थितिमा नयाँ रुप र नामहरुमा तर सार उहीँ हुनेछ ।
लेखक नेकपा (बहुमत) का केन्द्रीय सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस्