प्रणय दिवसः महेश के भट्टराईद्धारा रचित गजलका ५१ प्रेमिल सेरहरु



महेश के भट्टराई गजल लेखन कर्ममा निरन्तर साधनारत छन् भने उनी मध्पश्चिमाञ्चल गजल मञ्च सुर्खेतका सचिव हुन् । पेसाले राष्ट्रिय वाणिज्य बैँक भक्तपुरमा कार्यरत छन् । अक्सर उनी प्रेममा सुन्दर कलाको प्रयोग गरेर गजल लेख्छन् । आज प्रेम दिवसको अवसरमा उनीद्धारा रचना गरिएका केही प्रेमिल सेरहरु साझा गरेका छौँ ।

१.तिमीलाई फूलसँग तुलना गर्नेहरू गलत छन् ।
तिमी त बस्न लायक छौ, शीरफूल बनेर फूलको ।

२.म हजुरको कोझ हूँ ? भनेर नसोध न ‘मनमाया’ ।
तिमी एक ‘बरदान’ हौ मलाई ईश्वरले दिएको ।

३. उसैलाई अँगालो हालेर रुने मन भैदियो आज ।
उफ ! वर्षौं भइसके छ, हाम्रो बोलचाल नभएको ।

४. स्वर्ग देख्ने भए एकपटक प्रेम गर्नुपर्छ भन्छन् ।
फेरि स्वर्ग देखिदैन्न भन्छन् आफू नमरी पनि ।

५.हरेक पटकका भेटहरूमा यस्तो लागिरहन्छ ।
ऊनीसँग फेरि भेट होस् जिन्दगीमा एक पटक ।

६. प्रेम किन गर्न हुदैन ? यो कुरा बुझ्नु छ मलाई ।
आऊ झन आऊ प्रेम गरौं, कम्तिमा एक पटक ।

७. तिमीले त मेरो अनुहारनै चिन्न छोडिसके छौ ।
म भन्न सक्छु तिम्रो बदनमा ‘कोठी’ कति छन् ।
८.आधा हुनेछ श्रृङ्गार गाजल लगाई राख्दा ।
पूरा हुनेछन् आँखा तिमीले मलाई राख्दा ।

९. म मूर्खलाई सुधार्ने कोशिस् गर निर्मायाँ ।
तिम्रो जिन्दगीमा अर्काे कालिदास आउदैन ।

१०. आफैले लगाएको ताला त जाँच्ने गरिन्छ ।

कसरी भर पर्नु तिमीले लगाएको मायामा ।

११. उद्यान् गयो र मौरी, हरफूल चुम्न थाल्यो ।
तिम्रो मुहार मेरा, आँखामा झुम्न थाल्यो ।

१२. मलाई सम्झिसम्झि तिमी रुनुपरोस, यो म चाहन्न ।
म चाहन्छु, तिमी रोएको पल मलाई सम्झिन परोस् ।

१३. वर्षाैं पछिको भेट हो, त्यसै के छुट्नु प्रिय ?
अङ्गालो मारी तिम्रो, निधार चुमेर छोड्छु ।

१४.कति बस्नु बेकामे भएर धर्तीको भार भएर ।
बस्न पाएपनि हुन्थ्यो कम्तिमा तिम्रो चौकिदार भएर ।

१५.जन्मिने हतार भएर आमाको कोखमा पुगेथें कुनैदिन ।
आज तिम्रो दिलसम्म आइपुगेको छु मर्ने हतार भएर ।

१६.माथमा नलाउनेझरे सिन्दूर एक चिम्टी ।
हातमा मेहन्दी मेरो नामको सजाउनेले ।

१७. तिमी नरुनु तिमी रोयौ भने त म पग्लिहाल्छु ।
म त्यही गाजल हुँ तिम्रो परेलीको डिलमा बसेको ।

१८. उसैको कलम होस्, कथा होस् उसैको ।
दिए हुन्छ बग्न, मसीमा मलाई ।

१९. छ चाहा अचाक्ली, भनौं लाज लाग्छ ।
हराउने मन भो, तिमीमा मलाई ।

२०. लाचार भएर म तिम्रो दिलबाट निस्केको हुँ ।
माहोल मिल्दामिल्दै सत्ता छोडेर को निस्किन्छ ?

२१. मायाँ रहेछ के चिज? बुझ्ने भएको छैन ।
कुन रात मैले उनको तस्बिर चुमेको छैन ?

२२. तिमी पवित्रताको कुतर्क गर्छौ ।
के भमराले चुम्दैमा फूल जुठो बन्छ ?

२३.फूलको थुङ्गा नखोजे टिप्न घोच्दैन काँडाले ।
म किन फेरि फूलबारी बाट भागेर जाँदैछु ?

२४.अचम्मको छ यो प्रेमिका भन्ने कुरा
आफ्नो नलाग्दो अरुकै लोभलाग्दो ।

२५.छेउमै छ मदिरा, छेउमै उनी छिन्
अब कुन रोजौं दुबै लोभलाग्दो ।

२६. म को हूँ र तिम्रो ? हजुर भन्नुहुन्छ ।
हजुर एक बरदान, ईश्वरले दिएको ।

२७. लुकाउन खोज्दा, निधार छोप्नुपर्छ ।
लाहाछाप छ उसको, अधरले दिएको ।

२८.तिमी बाहेक अरु केही देख्नु नपर्ने भो आभारी छु ।
तिमीलाई हेरिरहेकै बेला मेरा आखा फुटाइएको हो ।

२९.उनी गयल भइरहिन यो दिलको पन्नामा ।
सधैं उनको याद आयो हाजिर चढाइदियो ।

३०.ठन्डी सकिनेछ दिलको वसन्ती आउनेछ ।
कसैले छाडेर गएको छ फेब्रुअरी आँखामा ।

३१.खुशी के हो ? भनेर कसैले सोध्यो भने ।
देखाइदिनु सँगै खिचेका हाम्रा फोटाहरू ।

३२.पानी नपिए बाँचिन्न पानीमा डुबे मरिन्छ ।
मायाँ पनि यस्तै हो, मैले बुझेको यत्ति हो ।

३३. म तिम्रै हातहरूमा परेको बुट्टे रुमाल थिएँ ।
बिस्तारै, मलाई छेउछाउबाट उधार्ने को थियो ?

३४.आधा बाटो आमाको फरिया समातेर हिडें ।
आधा बाटो हिड्नु छ हात समातेर तिम्रो ।

३५.गज्जब कुरा बुझियो धेरैपटक प्रेम गरेर ।
एउटै घाउले नसकिने रहेछ जीवन हाम्रो ।

३६.हातहरू छुट्टिन्छन् कि, भन्ने डर हुनेरहेछ ।
अङ्गालोमा बस्ने आदत भयङ्कर हुने रहेछ ।

३७. काटिएकै ठाउँबाट बिरुवाको पालुवा आयो ।
घाउ लागेपछिको जीवन सुन्दर हुने रहेछ ।

३८. हरदम तिमीनै आउछ्यौ, अवतार लिएर फूलको ।
सेवा गरीरहूँ झैं लाग्छ, फूलबारी, पुगेर फूलको ।

३९.प्रेम किन गर्न हुदैन ? यो कुरा बुझ्नुछ मलाई ।
आऊझन आऊ प्रेम गरौं, कम्तिमा एकपटक ।

४०. कसले गाउँछ, कसले लेख्छ, हाम्रो गीत ?
लता छैन, किशोर छैन, जावेद पनि छैन ।

४१.आफ्नैलाई आफ्नो बनाउन गाह्रो रहेछ ।
यो छायाँको अँगालो पाउन गाह्रो रहेछ ।

४२.तिमीबिना निदाउन सक्दिन झैं लाग्थ्यो ।
बास्तवमा तिमीसँगै निदाउन गाह्रो रहेछ ।

४३. सबैसबैले एकतर्फी प्रेम गर्न सक्दैनन् ।
सबैसबैलाई आत्महत्याको प्रयास आउदैन ।

४४. छ चाहा अचाक्ली, भनौं लाज लाग्छ ।
हराउने मन भो, तिमीमा मलाई ।

४५.मेरो प्रतिविम्ब अडिन सकेन तिम्रा आँखामा ।
सिङ्गो आकासको प्रतिविम्ब कचौरामा अडिन्छ ।

४६.यही एउटा कुराले मलाई बिथोलिरह्यो ।
तँसँग बोल्दिन भन्न पनि ऊ बोलिरह्यो ।

४७. प्रेमको अनुभूति राख्छ मृत्युको अवसर राख्दैन ।
फूलले कहिल्यै पनि आफ्नो ओठमा जहर राख्दैन ।

४८.मेरो विनम्र अनुरोध छ मेरा सपनाहरूलाई ।
जाऊ गएर बसिदेऊ न उनका आँखाभित्र ।

४९.पापि मन बन्छ, लोभी आँखो बन्छ ।

तिमीलाई देखेपछि सज्जन को बन्छ ?

५०.तिमी थिएनौ पाउने चिन्ता तिमी छौ गुम्ने चिन्ता ।
तिमी हुनु र नहुनुले जीवनमा अंतर भएन ।

५१.झर्दै पलाएँ तिमीलाई सम्झी ।
आएँ म आएँ तिमीलाई सम्झी ।

–लेखक ः– महेश के भट्टराई ।

प्रकाशित मिति : २०८१ फागुन २ गते शुक्रबार