‘जंगलका राजा’ रैतीको बाटोमा



फरक रहनसहन, भेषभुषा, चालचलन, रितिरिवाज र संस्कृतिले राउटे समुदायले नेपाललाई विश्वभरी चिनाएको छ । यस्तै सांस्कृतिक विविधतामा एक ईट्टा थपेको भन्दा फरक पर्दैन ।

दक्षिण एशियाको एक मात्र भ्रमणशिल यो जाती कर्णाली प्रदेशका दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, सुदुरपश्चिम प्रदेशको अछाम र लुम्बिनी प्रदेशका दाङ, बाँके जिल्लाका आसपासका जंगलमा फिरेन्त जीवनयापन गर्दै आएका छन् ।

अहिले भने सुर्खेतको बराहताल गाउँपालिकामा बसोबास गरिरहेको छन् । नदीको किनारा, पहाड, टाकुरा जंगलमा बसाई सरिरहने यो समुदायलाई प्राकृतिक ज्ञानको भण्डार मानिन्छ । कुन सिजनमा कहाँ जाने हो भनेर योजनाबद्ध ढंगले मात्र बसाई सर्छन् । स्वार्थविहीन यो समुदायले आफुलाई ‘जंगलको राजा’ भन्न औधी मनपराउँछन् ।

नेपालमै बसोबास गर्ने भएकोले नागरिकता नलिएपनि नेपाली नागरिक हौं भनेर गौरव गर्ने यो समुदायको शान उत्तिकै गौरव गर्न लायक छ । तीनै तहका सरकारले लोपोन्मुख जातीको उत्थानको लागि प्रयास गरेपनि कुलधर्म विरुद्ध हुने भन्दै अस्वीकार गर्दै आएका छन् । यद्यपि सामाजिक सुरक्षाको भत्तालाई भने सहजै स्वीकार गरेका छन् ।

लेखपढ, खेतीपाती र स्थायी बसोबासलाई महाशत्रु ठान्ने यो समुदाय पछिल्लो समय परिवर्तनतिर उन्मुख हुन थालेको छ । गैर–राउटे सँगको घुलमिल लेखपढ र बाध्यताले गर्दा परिवर्तन संकेत देखिएको राउटेका जानकारको भनाइ छ ।

‘जंगलमा कन्दमूल पाइन छाड्यो, गुना, बाँदर पनि पाइँदैनन् । मूल सुक्दै जान थाले । बसोबास गर्ने खोलाको किनारामा बाढी पहिरोले बस्न लायक ठाउँ छैन । ‘लामखुेट्टले टोकेर दुःख दिन थाले’, राउटे मुखिया सुर्यनारायण शाहीको यो भनाइले जंगलमै रमाएर बस्ने यो समुदायलाई जलवायु परिवर्तनले प्रत्यक्ष असर गरेको सजिलै बुझ्न सकिन्छ । जलवायु परिवर्तन सँगै राउटेको व्यवहार फेरिनुका साथै दुःख भने झनै बढ्दै गएको छ । राउटेका व्यवहारमा केही बदलाप आएपनि दुःख उस्तै छन् ।

प्राकृतिक र शान्त वातावरण, चराचुरुङ्गीका चिरविर आवाजले रमाईरहेका यो समुदाय विकास निर्माण आधुनिक सहर, कलकारखानाबाट टाढा छन् । प्राकृतिकमय जीवनयापन गर्दै जीवन बिताइरहेका यो समुदाय आजभोली जलवायु परिवर्तनको चपेटामा छन् । ‘जलवायु परिवर्तन’ शब्दको ज्ञान कम भएपनि यसले पारेका असरबारे भुक्तभोगी छन्, उनीहरु । पर्यावरणीय प्रभावले यो जातीको आहारमा कमी मात्र छैन, सजिलै प्याँस मेटाउने मुलको पानी पाएका छैनन् ।

 

जताततै बाढी र पहिरोले बसोबास गर्ने ठाउँ भेटन उत्तिकै मुस्किल छन् । सजिलै कुकाठ, कन्दमुल, जैविक जडीबुटीको अभाव उत्तिकै समस्या रहेको छ । बाह्य समाजसँग हिमचिम बढनु र कुकाठ काट्न नपाउँदा जीवनयापनका लागि परनिर्भर भएका छन्, राउटे । ‘जंगलको राजा’ भन्न रुचाउने यो समुदायलाई जलवायु परिवर्तनसँगै दुनियाँको (गैरराउटे) को बाटो लाग्न बाध्यझै भएको छ । उनीहरु पहिला भन्थे, ‘तपाईं दुनियाँ हामी राउटे ।’

समुदायमा एउटा सदस्यको मृत्युपछि मात्र बस्ती सार्ने राउटेहरु आहार अभावले छिटो–छिटो बस्ती सार्ने गरेका छन् । विहे गर्नु कुलको, पानी पिउनु, मुलको उखानलाई आत्मसाथ गर्ने यो राउटेहरु तापक्रम बृद्धि, वनजंगल विनास, पानीका मुहान सुक्दै जानु, कन्दमुल लोप हुँदै जानुले नै आफुहरुलाई रैतीको मार्गमा अगाडि बढाउन थालेका छन् । उनीहरुको भनाइमा पहिले जसरी कुकाठ पाइँदैन । शिकार पनि त्यस्तै छ । जंगलमा जीउन उनीहरुलाई अहिले झन कठिन भइरहेको छ । पहिलेजस्तो भाँडाकुडा बिक्री हुदैनन् । कसरी परिवार पालौँला भन्ने समस्या उनीहरुमा छ, अहिले । सरकारले दिने भत्ताले मात्र जीवन धानिएको छ । राउटेले पनि गैर–राउटेजस्तै जलवायु परिवर्तनको सामना गर्नु परेको छ ।

 

कु–काठका भाँडाकुँडा र सामग्री बनाई अन्नसँग साटेर जीविका चलाउने एउटै मात्र यो समुदायको सिप हो । नरम काठका कोसी मदुस, झुमा, खाट, पिर्का आरी लगायतका सामग्री बनाई गाउँमा लगेर अन्नसँग साटेर जीविकोपार्जन गर्छन् । तथापि पछिल्लो समय राष्ट्रिय वन सामुदायमा हस्तान्तरण हुँदा राउटेले चाहे अनुसारको कु–काठ काट्न पाउँदैनन् । जसले गर्दा पुख्र्यौली पेसा हट्ने होकी भन्ने चिन्ता उनीहरुमा रहेको पाइन्छ । पहिला कु–काठका भाँडाकुडा बनाएर अन्न सँग साट्थे । अब काठ नै काट्न नदिएपनि बाँच्न गाह्रो भइरहेको उनीहरुको भनाइ छ ।

विकासका नाममा जथाभावी सडक खन्नेलगातका कारणले वन मासिँदै छ । त्यसको असर सोझै राउटे समुदायमा बढी परेको छ । जीविकोपार्जनको मुख्य स्रोत गुम्दैछ, उनीहरुको । अहिले नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन धानिरहेको उनीहरू बताउँछन् ।

जंगलमा पाउन छाड्यो कन्दमुल, कु–काठको समस्या उस्तै

गिठाभ्याकुर, तरुल, जंगली कन्दमुल खाएर जीवन बिताइरहेका यो समुदाय समय बजारमा पाइने अस्वस्थकर खानपान जंकफुड खान बाध्य छ । कुनै बेला कन्दमुलकै भरमा बाँचिरहेका राउटे बजारमा पाइने अस्वस्थकर जंकफुडका कारण समुदायमा धेरै बिरामी हुने गर्छन् ।

सधै जंगलमा कन्दमुल खाँदै आएका उनीहरु आजभोली जंगलमा गिठाभ्याकुर, तरुल पाइन छोडेको राउटे अगुवा हरिबहादुर शाहीको भनाइ छ । उनीको भनाइ छ, ‘उहीले त हामी जहाँ–जहाँ बस्ती बस्थ्यौं, त्यहाँ वरपर धेरै कन्दमुल पाइथ्यो, शिकारका लागि बाँदर, गुना उत्तिकै हुन्थे । आजभोली न कन्दमुल पाइन्छ नत शिकार गर्न सकिन्छ ।’ यो समुदायमा समेत अर्गानिक खानपिन छैन । सबै सहरिया खानपिनमा रुची राख्दै आएको छन् । जसले गर्दा राउटेको स्वास्थ्य दिनानुदिन कमजोर हुँदै गएको छ । सबै भन्दा बढी यो समुदायमा मदिराको मोह मौलाउँदै गएको छ ।

त्यसैगरी यो समुदायको पेसा काठसँगै जोडिएकोले पछिल्लो समय जथाभावी सडक निर्माणले आफुलाई चाहिन काठ माँसिदै गएको उनीहरुको भनाइ छ । ‘पहिले जहाँ पुगे पनि प्रशस्त काठ पाइन्थ्यो, आजभोली त जंगलै सकिन लाग्यो । पहिले जस्तो सिकार गर्न पनि जाँदैनौं । काठका सामग्री बनाउँथ्यौं । अहिले त धेरै कम भएको छ,’ राउटे समुदायका एक युवा दिपक शाही भन्छन् ।

‘माथि लेखतिर जुम्ला हुम्लातिर घना जंगल छ होला । हामी बस्ने अवल ठाउँहरूमा त जंगलै कम छ, मासिन थाल्यो अहिले त दाउरा पनि पाउनै छोडेको’ भन्दै दिपकले समस्या सुनाए । ‘पहिला–पहिला त मदुस, कोसीहरू धेरै बनाउँथ्यौ, गाउँ–गाउँमा पुगेर अन्नसँग साट्थ्यौं, हामी कोसी, मदुस दिन्थ्र्यौ, गाउँलेहरू धान दिनुहुन्थ्यो । अहिले पहिला जस्ता काठ पनि पाइँदैन । भाँडाकुँडा बनाउन पाउँदैनौं,’ उनले थपे ।

जंगल र जडिबुटी जोगाउन सके केही मात्रामा भएपनि जलवायु परिवर्तनको असरलाई कम गर्न सकिन्छ । पछिल्लो समय वनजंगल विनाशले जंगल र जडीबुटी हराउँदै गएकाले अब तीनवटै सरकारले जल, जंगल र जडीबुटी जोगाउनका लागि अभियान थाल्नुपर्छ । प्राकृति स्रोत साधनको विनाश गर्दा यसको प्रत्यक्ष असर जंगलमा आश्रित समुदायलाई छ, अब जल,जंगल र जडीबुटी जोगाउन गाउँ बस्तीबाट जनचेतना जगाउनुपर्छ ।

जथाभावी सडक खन्दा राउटे बस्ने बस्तीहरूसमेत पहिरोको जोखिममा परिरहेका छन् । आगलागी हुँदा जंगल नष्ट भइरहेको छ । पानीको मुहान संरक्षण गर्नुपर्ने र व्यापक रूपमा वृक्षरोपणको कार्यक्रम सञ्चालन गर्नुपर्छ । प्राकृतिक रूपमा वन जंगलमा प्रशस्त मात्रामा पाइने जडीबुटी संरक्षणका लागि सरकारले ठोस कदम चाल्नुपर्छ । जडीबुटी संरक्षणका लागि व्यावसायिक रूपमा खेती गर्नुपर्छ ।

यो जाति खस–आर्य समुदायको पिछडिएका लोपोन्मुख आदिवासी हुन् । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका उनीहरू आफूलाई ‘जंगलको राजा’ दाबी गर्छन्। खाम्ची भाषा बोल्ने उनीहरू नेपाली भाषा बोल्न र बुझ्न सक्छन् । बाँदरको सिकार गर्ने र कन्दमूल, फलफूल र अन्य वनस्पति खाएर बाच्ने राउटे केही वर्ष अघिसम्म पैसा छुँदा पाप लाग्छ भन्ने मान्यता राख्थे ।

पहिला राउटेहरूले आफूले बनाएका काठका सामग्री अन्नसँग साटेर जीविकोपार्जन गर्दै आएका थिए । तर, धेरैले अहिले त्यसो गर्न छाडे । राउटेहरू आफू सोवंशी, कल्याल र रास्कोटी गरी तीनवटा ठकुरी समुदायको भएको बताउँछन् ।

लेखक शाही पत्रकार हुन् । उनले लामो समय राउटेको क्षेत्रका काम गरेका थिए ।

 

प्रकाशित मिति : २०८१ फागुन ३ गते शनिबार