असली रूपान्तरणको खोजीः नेतृत्व, नीति र नियतमा प्रश्न



शेरबहादुर देउवाको दायाँ बायाँ बसेर तर मार्नेहरुले अहिले नेताको विकल्पका ठूल्ठूला गफ दिइरहेका छन् । एमालेमा पनि त्यस्तै स्वर सुन्न सकिन्छ । माओवादी पार्टीले यो वहश सकेर एउटा बाटो तय गरेको छ ।

जनतालाई भुलभुलैयामा पारेर कृतिम लोकप्रियतामा आफ्नो राजनैतिक रोटी सेक्ने हरुबाट देशलाई जोगाउनु पर्छ । मसानघाटमा मुर्कुट्टा लागेजस्तै नेपाली राजनीतिको यो सन्नाटामा विभिन्न रूपमा यिनीहरू टाउको उठाउने कोसिस गरिरहेका छन् । यसले नेपाली समाज र राजनीतिलाई गलत दिशामा लैजान्छ ।

जेञ्जी आन्दोलन, विद्रोह र युवाहरूको बलिदान के का लागि ? देउवा, ओली र प्रचण्डको ठाउँमा केही थान नयाँ अनुहार पदस्थापन गर्न हो ? मानौं तिनवटै नेता खराब,अयोग्य र असफल भए । तिनै नेताहरुले पेश गरेको नीति तथा कार्यक्रम बोकेर हिँड्ने मान्छे एकाएक कसरी योग्य हुन्छ ? बहश त्यो होइन । केही थान नेता फेरेर पार्टी राम्रो हुने होइन ।

मूलतः चरित्र फेर्नुपर्छ । भिजिट भिसा, भुटानी शरणार्थी, गिरि बन्धु टि स्टेट, यती ओम्नी लगायतका काण्ड छानविन गर्न पार्टीहरु तयार हुन्छन् ? इट्टा भट्टामा मान्छेलाई जिउँदै जलाउने अपराधी उन्मुक्त गराउने काममा पार्टीको शक्ति प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्न सक्छन् ? देशमा दुई खाले न्याय, शिक्षा, स्वास्थ्य लगायतका विभेद अन्त्य गर्न पार्टीहरु तयार हुन्छन् ? संवैधानिक निकाय, विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका ठाउँमा हुने दलीयकरण अन्त्य गर्न तयार हुन्छन् ? समाजका हरेक क्षेत्रमा राजनैतिक पहूँच नहुने मान्छे प्रताडित हुनुपर्ने अवस्था फेर्न सक्छन् ? देशको अर्थतन्त्र सबल बनाउने एजेण्डा के छन् ? जनताले चाहेको रुपान्तरण भनेको यही कुरामा हो ।

बैदेशिक सम्वन्धमा हाम्रो विगत के रह्यो ? आज एमालेका नेता कार्यकर्ता आफ्नो कमजोरी ढाकछोप गर्न यो हतियार प्रयोग गरिरहेका छन् । सबै षड्यन्त्र,चलखेल र हस्तक्षेप हो भन्दै आफ्नो असफलता र निकम्मा पनको ढाकछोप गर्ने पर्दा बनाउन लागिपरेका छन् ।

एमसीसी ल्याउन किन बलमिच्याइँ गरेको हो ? पश्चिममा शक्तिले दिएका अनुदान र सहयोग के का लागि हो ? कहिल्यै बुझ्ने कोशिस भए ? छिमेकी राष्ट्रले हामी बाट चाहेको भूमिका के के हुन् ? कहिल्यै छलफल गर्ने फुर्सद भयो ? चुच्चे नक्सा जारी हामीले साँच्चै जमिन फिर्ता लिनको लागि गरेका थियौं कि विश्व समुदायमा छिमेकीको बदनाम गर्ने हतियार बनाउन ? एमसीसी लिन जति हतार गर्यौं बिआरआई स्वीकार गर्न त्यति नैं ढिला र अरुचि किन ? रुपान्तरण यी कुरामा हुन जरुरी छ ।

अन्यथा नयाँ बोतलमा राखेको नशालु रक्सी जस्तै हुन्छ ।

प्रकाशित मिति : २०८२ असोज १९ गते आइतबार