वीरेन्द्रनगरमा यौनधन्दाको भयावह जालोः एचआईभी संक्रमित महिला नै यौन व्यवसायमा



फाइल तस्वीर

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्यावसायिक रूपमा सञ्चालित अवैध यौनजन्य गतिविधि हुने गरेको पाइएको छ ।

प्रहरीले यौनधन्दामा संलग्न आरोपमा पक्राउ परेकाहरूमध्ये एक महिला र एक होटल सञ्चालक एचआईभी संक्रमित रहेको खुलेको हो, जसले यो अवैध कारोबारले निम्त्याएको सामाजिक विकृतिसँगै भयानक जनस्वास्थ्य जोखिमलाई समेत उजागर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो डेढ महिनामा अवैध यौनजन्य गतिविधिमा संलग्न २९ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार पक्राउ पर्नेमा १२ पुरुष, १२ महिला र व्यावसायिक रूपमै यौनधन्दा चलाइरहेका ३ जना होटल सञ्चालक छन् ।

‘समाजका विभिन्न तहबाट आएका गुनासा र सूचनाको आधारमा हामीले यी विकृतिविरुद्ध शून्य सहनशीलता अपनाएका छौँ,’ एसपी शाहीले भने, ‘विशेषगरी होटलहरूमा व्यावसायिक रूपमै यौन व्यवसाय सञ्चालन भइरहेको सूचनाका आधारमा शंकास्पद स्थानहरूमा छापा मारेर कारबाहीलाई तीव्र बनाएका छौँ ।’

अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये एक महिला र एक होटल सञ्चालक एचआईभीबाट ग्रसित रहेको पुष्टि भएपछि घटनाले थप गम्भीर मोड लिएको छ ।

संक्रमित व्यक्तिहरू नै यौन व्यवसायमा संलग्न हुनुले यो धन्दामा संलग्न अन्य व्यक्ति र सेवाग्राहीहरूमा समेत संक्रमण फैलिन सक्ने आशंका बढाएको छ ।

प्रहरीले पक्राउ परेका सबैलाई कानुनी दायरामा ल्याएर आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाएको जनाएको छ। यो घटनाले वीरेन्द्रनगरजस्तो प्रदेश राजधानीमा समेत लुकिछिपी चलिरहेको अवैध यौन व्यवसाय र त्यसले निम्त्याइरहेको गम्भीर स्वास्थ्य संकटको यथार्थलाई सतहमा ल्याइदिएको छ ।

प्रहरीका अनुसार वीरेन्द्रनगरको बसपार्क, बुद्धपथ लाइन लगायतका क्षेत्रमा धेरै यौनजन्य गतिविधिहरु हुने गरेका छन् । प्रहरी प्रमुख शाहीका अनुुसार वीरेन्द्रनगरमा अनुमानित ६० भन्दा धेरै यौजनकर्मीहरु रहेका छन् ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार