
सुर्खेत । यसअघि वीरेन्द्रनगरको बुलबुले उद्यानमा हुँदै आएको कर्णाली उत्सव यो पटक सिटी हलमा हुने भएको छ ।
सोमबारदेखि सुरु हुने उत्सव सोमबार, मंगलबार र बुधबार गरी तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ ।
यो उत्सवको छैटौँ संस्करण हो । कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको आयोजक संस्था ऋति फाउण्डेसनले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
‘कुडा कर्नालीका’ नारा दिई सञ्चालन गर्ने गरिएको उक्त बहस कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यका साथ सञ्चालन गर्ने गरिएको छ ।
कर्णाली उत्सवका संयोजक कमल लम्सालले कुराकानीकै माध्यमबाट कर्णालीको पहिचान र सम्भावना केलाउन उत्सवका माध्यमबाट प्रयास थालिएको बताए ।
‘परम्परागत रुपमा हुने कचहरी वा बैठककै आधुनिक रुप हो, कर्णाली उत्सव,’ उनले भने, ‘उत्सवको माध्यमबाट हामीले कर्णालीमा सार्वजनिक वहसको श्रृंखला थालनी गरेका हौं ।’
बहसमा मूलतः कर्णालीलाई केलाउने गरिन्छ । साथै समृद्ध कर्णाली निर्माणका लागि नीति निर्मातालाई सुझाब दिइने बहसका रुपमा पनि लिइएको उनको भनाइ छ ।
‘कर्णाली उत्सवको मुख्य उपलब्धी भनेकै कर्णालीलाई चिन्ने र चिनाउने सार्थक प्रयास हो,’ लम्सालले भने, ‘विभिन्न संस्करणमा भाग लिएका वक्ता, सञ्चालक तथा सहभागीहरुले उत्सवको महत्वलाई बुझ्दै जानु हो । यसले हाम्रो समाजमा खुला र लोकतान्त्रिक वहसलाई संस्कारको रुपमा विकास गर्न सघाउँछ ।’
आयोजक संस्थाका अनुुसार यो पटक १३ वटा सत्र, तीन वटा कर्णाली कन्सर्ट, तीन वटा विद्धत् प्रवचन, चार वटा पैकलो रहने छन् । त्यसका लागि देशभरबाट राजनीतिज्ञ, पत्रकार, साहित्यकारहरु वीरेन्द्रनगरमा आउने छन् ।









प्रतिक्रिया दिनुहोस्