देशैभरीका स्थानीय युवा परिषद्को पहिलो राष्ट्रिय सम्मेलन: ४० प्रतिशत युवाहरूको राजनैतिक सहभागिता सुनिश्चित गर्न माग



देशैभरीका स्थानीय युवा परिषद्का उपाध्यक्षहरूको प्रथम सम्मेलनले ७ बुँदे ध्यानाकर्षण पत्र जारी गर्दै युवा सशक्तीकरण र युवाको अर्थपूर्ण सहभागिता प्रोत्साहन गर्न सर्वपक्षीय पहल गर्न राष्ट्रिय आव्हान गरेको छ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र युवालयको संयुक्त आयोजनामा ३ दिनसम्म चलेको प्रथम सम्मेलनमा हालसम्म ३० वटा निकायमा औपचारिक रुपमा गठन भएका स्थानीय युवा परिषद्का कार्यकारी उपाध्यक्षहरूको सहभागिता रहेको थियो ।

राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहकालाई युवाका रुपमा परिभाषित गरेको छ । देशमा युवाको संख्या १ करोड २४ लाख १२ हजार १७३ अर्थात् कुल जनसंख्याको ४२.५६ प्रतिशत रहेको छ । जारी भएको ध्यानाकर्षण पत्रले ७५३ वटै स्थानीय तहमा युवा परिषद् गठन तथा प्रभावकारी रुपमा सञ्चालन गर्न, समावेशिकरणलाई आत्मसाथ गर्न, जनसाङ्ख्यिक लाभ बहुआयामिक रुपमा प्राप्ति गर्न, प्रविधियुक्त तथा प्राविधिक शिक्षाको निशुल्क व्यवस्था गर्न तिनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आव्हान गरेको छ ।

सरकारबाट नियुक्त हुने विभिन्न निकायमा युवाहरूलाई पहिलो प्राथमिकतामा राख्नका लागि पनि उपाध्यक्षहरूले माग गरेका छन् । “सम्पूर्ण राजनैतिक दलको कमिटीगत संरचनाहरूमा अनिवार्य ४० प्रतिशत युवाहरूको राजनैतिक सहभागितालाई सुनिश्चित गर्दै स्थानीय युवा परिषद् गठन भएका स्थानीय तहहरूमा युवाहरूलाई अर्थपूर्ण सहभागिता प्रवर्द्धनका लागि युवा लक्षित बजेट तथा कार्यक्रम व्यवस्था गर्न पहल गरियोस्,” ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, “युवाका सन्दर्भमा लक्षित कार्यक्रम तय गर्न अध्ययन अनुसन्धानमा आधारित भई योजना तर्जुमा गर्न पहल गरियोस् ।”

आयोजक संस्था युवालयका अध्यक्ष धर्मराज रिमालले युवालाई नीति निर्माण र कार्यान्वयनको केन्द्रमा राख्न आवश्यक रहेको बताउँदै भने, “यस सम्मेलनले युवा नीति र कार्यक्रमहरूमा युवाको आवाजलाई प्राथमिकता दिन सर्वपक्षीय आव्हान गरेको छ । युवामैत्री देश निर्माण गर्ने आधार भनेको देशभरका स्थानीय तहमा युवा परिषद्को गठन र युवालाई अधिकार र स्रोतमा पहुँच अभिवृद्धि गर्नु नै हो” उनले भने, “युवाहरू देशको वर्तमान र भविष्य हुन् । तिनको सशक्तीकरण र अर्थपूर्ण सहभागिता नै देशको समृद्धिको आधार हो ।”

त्यस्तै, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा सशक्तिकरणको लागि स्थानीय, प्रदेश र राष्ट्रिय तहमा समन्वय बढाउन आह्वान गर्दै भने, “युवा परिषद्को गठन र सञ्चालनलाई प्रभावकारी बनाउन सबै सरोकारवालाको सहयोग र सहभागिता आवश्यक छ । युवाहरूको सृजनशीलता र ऊर्जालाई देशको विकासमा नियोजन गर्ने समय आएको छ ।” यस सम्मेलनले युवा सशक्तीकरण र अर्थपूर्ण सहभागितालाई प्रोत्साहन दिने दिशामा ठोस पहल गर्ने सङ्कल्प गरेको छ ।

प्रकाशित मिति : २०८१ फागुन ९ गते शुक्रबार