कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापनाको काम सुरु



सुर्खेत । ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना गर्न काम सुरु भएको छ । अघिल्लो आवदेखि सुरु गरिएको यो काम चालु आवमा निर्माण कार्य सुरु गरिएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशु नश्ल सुधार गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले पशुपन्छी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको परिसरमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना गर्न लागेको छ ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार पशुहरूको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधान गर्न तरल नाइट्रोजन प्लान्ट निर्माणको काम सुरु भएको हो । प्लान्ट स्थापनापछि गाई, भैँसीको नश्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन गर्ने उद्देश्य पूरा हुने उनले बताए । अघिल्लो आबमा ४० लाखका विस्तृत योजना प्रतिवेदन बनाई चालु आवमा चार करोड ८५ लाख बजेट विनियोजन भएपछि कर्णाली प्रदेशमै पहिलोपटक प्लान्ट निर्माणको काम सुरु भएको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए ।

प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउन चालु आवमा सरकारले पर्याप्त बजेट विनियोजन गरेकाले सम्झौता भई काम अघि बढाइएको कठायतले बताए । पशुहरूको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधान गर्न तरल नाइट्रोजन प्लान्ट आवश्यक पर्ने गर्दछ । गाई, भैँसीको नश्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन गर्नका लागि प्लान्ट स्थापना उद्देश्य राखिएको हो । नश्ल सुधारका लागि अहिले कर्णाली प्रदेशले पशुको वीर्य बाहिरबाट ल्याउनु पर्ने बाध्यता छ ।

बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न सहयोग पुग्ने कठायातले जानकारी दिए । हाल यहाँका करिब २५० किसानले पालन गरेका पशु वस्तुमा कृत्रिम गर्भाधान सेवा दिँदै आएको छ । दूध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधानमार्फत् नश्ल सुधार अत्यन्त प्रभावकारी भएको मन्त्रालयले जनाएको छ । हाल १५ सयभन्दा बढी कृत्रिम गर्भधान गर्नेको माग आएको कठायातले जानकारी दिए ।

प्लान्ट स्थापना भएदेखि तीन वर्षसम्म प्राविधिक रूपमा निर्माण व्यवसायले हेर्ने सम्झौता भएको छ । प्लान्ट स्थापनापछि नाफा र घाटाको काम आठ वर्षपछि मात्र आउने उनले जानकारी दिए । तरल नाइट्रोजन चौथो चिसो पदार्थको रूपमा चिनिन्छ भने बाहिरी वातावरणमा आउने बित्तिकै यसको आयतनमा सात सय गुणा वृद्धि हुन्छ । यो रंगविहीन, गन्धविहीन ग्याँस हो । यसको उम्लने तापक्रम –१९६ डिग्री सेन्टिग्रेट र जम्ने तापक्रम –२१२ डिग्री सेन्टिग्रेट हुने गर्दछ ।

तरल भएको कारणले जमेको वीर्यसँग राम्रोसँग सम्पर्क हुने र मानव स्वास्थ्यमा पनि हानिकारक नहुने हुनाले विश्वभरी नै यसको उपयोग र प्रयोग भइरहेको छ । नाईट्रोजन ग्यास हावामा ७८ प्रतिशत जति हुन्छ र हावामा भएको यही नाइट्रोजनलाई चिसो पारेर तरल बनाई प्रयोगमा ल्याइन्छ । कर्णाली प्रदेशमा पहिलो पटक स्थापना गर्न लागिएको ‘तरल नाइट्रोजन प्लान्ट’ निर्माणले बाहिरबाट ल्याइने उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न सहयोग पुग्ने अपेक्षा छ ।

परियोजना कृतिम गर्भाधान कार्यक्रमलाई सुदृढ बनाउन र दूध उत्पादनमा वृद्धि ल्याउन यो कार्यक्रम महत्त्वपूर्ण हुनेछ । ‘प्रशोधित वीर्यका ‘स्ट्र’ संरक्षण तथा भण्डारणका लागि नभई नहुने अतिआवश्यक वस्तु तरल पदार्थ नाइट्रोजन बाहिरबाट आपूर्ति गर्नुभन्दा यहीँबाट कृत्रिम गर्भाधान केन्द्रमा वितरण गर्ने लक्ष्य रहेको छ । कर्णालीमा निर्माण हुने प्लान्टले कृत्रिम गर्भाधानको विकास हुनुको साथै दूध उत्पादनमा वृद्धि हुन्छ । यसले कृषकको आम्दानी पनि बढ्ने अपेक्षा छ ।

विशेषगरी, दूध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधानमार्फत नश्ल सुधार अत्यन्त प्रभावकारी मानिन्छ । चालु आर्थिक वर्षको अन्त्यसम्म प्लान्ट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आगामी आर्थिक वर्षबाट कर्णाली प्रदेशमा तरल नाइट्रोजन उत्पादन गर्न थालिने छ । यस परियोजना सफल भएमा कर्णाली प्रदेशमा कृषि र पशुपालन क्षेत्रमा उल्लेखनीय प्रगति हुने विश्वास सरकारको छ ।

प्रकाशित मिति : २०८१ फागुन ११ गते आइतबार