
भारतमा कोरोना संक्रमणको नयाँ भेरियन्ट देखिन थालेपछि नेपालमा पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभिन्न तयारीहरु अघि बढाइएका छन् । संक्रमणको पहिचानका लागि अहिले केसहरू सङ्कलन गरी जिन सिक्वेन्सिङको काम थालिएको छ । जसका लागि करिब ४०÷५० वटा नमूनाहरू आवश्यक पर्छन् । परीक्षणमा केही दिन लाग्ने भएकाले नयाँ भेरियन्टबारे अहिले नै पुष्टि गर्ने अवस्था छैन । तथापि सरकार र सम्बन्धित निकायहरू यसमा सक्रिय छन् ।
भारतमा संक्रमण देखिनासाथ नेपालमा यसको प्रभाव नपरोस् भन्ने उद्देश्यले सीमा नाकाहरूमा स्वास्थ्यकर्मीहरू परिचालन गरिएको छ । स्वास्थ्य परीक्षण र निगरानीको काम तीव्र रूपमा भइरहेको छ । देशभरका सात सयभन्दा बढी प्रयोगशालाहरूमा लक्षण देखिएका व्यक्तिहरूको निगरानी भइरहेको छ । अहिलेसम्म गम्भीर प्रकृतिका बिरामी भने भेटिएका छैनन् । शुरुमा केही बिरामीहरूमा सामान्य लक्षण देखिए पनि अहिलेको अवस्था सामान्य नै छ । सीमा क्षेत्रमा पहिचान भएका संक्रमितहरू अहिले आफ्नै घरमा आइसोलेशनमा बसेका छन् ।
स्वास्थ्य क्षेत्रमा जनशक्ति र परीक्षण सामग्री (किट) को केही अभाव छ । तर, सरकारले यसतर्फ पनि ध्यान दिँदै आवश्यक व्यवस्था गरिरहेको छ । सबैजसो नागरिकले खोप लगाइसकेको हुँदा अघिल्लो लहरमा जस्तो भयावह अवस्था दोहोरिने सम्भावना छैन । तर पनि सजग र सतर्क रहनु आवश्यक छ । जनस्वास्थ्यका मापदण्डहरू जस्तै भौतिक दूरी कायम गर्ने, हातको सरसफाइमा विशेष ध्यान दिने, भीडभाडबाट जोगिने, मास्क प्रयोग गर्ने आदि अनिवार्य रूपमा पालना गर्न आवश्यक छ ।
अहिलेको संक्रमणलाई गम्भीर नभनिए पनि यसलाई सामान्य ठानेर बेवास्ता गर्नु राम्रो हुँदैन । आम नागरिक नै सचेत बन्न जरुरी छ । छिमेकी देशमा संक्रमणको दर उच्च हुँदै गएको सन्दर्भमा खुला सिमानाको प्रभावले नेपालमा पनि संक्रमण फैलन सक्ने जोखिम छ । सरकारले भारतबाट नेपाल आउने नाकाहरुमा निगरानी, परीक्षण र अन्य सतर्कताका उपायहरू अपनाइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्