ठूला दललाई अध्यक्ष बिजुक्छेको चुनौती– विकास कसरी गर्ने नेमकिपाबाट सिक्नूस



१६ फागुन, सुर्खेत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले विकास कसरी गर्ने भनेर आफूहरूबाट सिक्न दलहरूलाई चुनौती दिएका छन् ।

रोजगारी दिने नाममा राज्यको ढुकुटी आफ्नो मान्छेमाथि खर्च गर्नु समाजवाद नभएको उनको भनाइ छ । आज भक्तपुरमा भएको नेमकिपाको आठौं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले यस्तो बताएका हुन् ।

रोजगारको नाममा आफ्नो मान्छेलाई राज्यको ढुकुटी बाँड्ने, ठाउँठाउँमा छर्ने कामले रोजगारी सिर्जना गर्न पनि नसक्ने उनको भनाइ छ ।

अहिलेका राजनीतिक दलसँग जनतालाई केन्द्रमा राख्ने विचार पनि छैन । विकास कसरी गर्ने भन्ने सही योजना पनि छैन,’ आफ्नो पार्टीका उम्मेदवारले जितेका स्थानको विकासबाट सिक्न आग्रह गर्दै उनले भने, ‘अहिलेका राजनीतिक दलसँग तागत छ भने विकास गरेर देखाउन् होइन भने माफी मागुन् र हामीबाट सिकुन् ।’

उनले विगतदेखि अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीको गलत सोचका कारण मुलुक संकटमा पर्दै गएको टिप्पणी गरे । ‘विदेशी ऋण बढेको बढ्यै छ । आफ्नालाई रोजगारीको नाममा राज्यको ढुकुटी लुट्ने काम भइरहेको छ । देश झन्झन् संकटमा पर्दै गएको छ,’ उनले भने, ‘देशका सबै प्रधानमन्त्री र अर्थमन्त्री अपराधी हुन्, उनीहरूलाई टुडीखेलमा उभ्याएर र जनताले सोध्नुपर्नेछ ।’

अध्यक्ष बिजुक्छेले वर्तमान सरकारसँग विगतका सबै गल्ती सच्याएर देश र जनताको लागि राम्रो काम गर्ने अवसर रहेको तर नसच्चिए उनीहरू पनि इतिहासको कठघरामा उभिनुपर्ने जिकिर गरे । ‘हामी अहिलेको सरकारलाई पनि भन्छौं– तिमीहरूले पनि गल्ती सच्याएनौ भने जनताले तिमीहरूलाई पनि इतिहासले कठघरामा उभ्याउने छन् ।’

उनले नेमकिपाका जनप्रतिनिधि निर्वाचित भएका स्थानमा ठूला दलका असहयोगका बाबजुद विकास निर्माणमा नमूना कामहरू भएको बताए । ‘केन्द्रको सरकार ठूला दलले चलाएका छन् । त्यसैले बजेटमा उनीहरूकै हालीमुहाली छ ।पालिकाहरूमा जहाँजहाँ हाम्रा जनप्रतिनिधि निर्वाचित भएका छन्, ती ठाउँमा प्राप्त बजेट जनतासँग प्रत्यक्ष जोडिने खालको विकासमा खर्च गर्ने गरिएको छ । हाम्रा जनप्रतिनिधिले आफैं मनलाग्दी खर्च गर्दैनन्, पार्टीको सिद्धान्त, नीति–विचार र घोषणापत्रको आधारमा काम गर्दै आएका छन्,’ उनले भने । देशका कुल ७५३ पालिकामध्ये भक्तपुर नगरपालिकामा नेमकिपाले एकलौटी जित्दै आएको छ । नयाँ संविधान जारी हुनुअघि पनि भक्तपुरको नेतृत्वमा नेमकिपा नै रहँदै आएको थियो । लामो समयदेखि नेमकिपाले नेतृत्व गरिरहेको भक्तपुरलाई विकासको नमूना मान्ने गरिन्छ ।

शिक्षा, स्वास्थ्यमा विशेष बजेट खर्चिने गरेको यस नगरपालिकाले प्राविधिक जनशक्ति तयार पार्न विशेष प्राथमिकता दिने गरेको छ । यस्तै, कला–संस्कृतिको संरक्षण, जेष्ठ नागरिकहरूलाई घरैमा चिकित्सकसहित नर्सिङ सेवा प्रदान गर्दै आएको छ । उच्च शिक्षा अध्ययन गर्न भक्तपुर नगरपालिकाले शैक्षिक ऋणसमेत दिने गरेको छ ।

आठौं महाधिवेशनको उद्घाटन समारोह केही तस्बिरहरु हेर्नुहोस …

प्रकाशित मिति : २०८१ फागुन १६ गते शुक्रबार