
सुर्खेत । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको गैर–जिम्मेवारीका कारण कर्णालीमा हुने भनिएको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले हुने भने भन्ने अन्योल कायमै छ ।
केही दिनअघि बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले जेठ ३ गतेदेखि १० गतेसम्म गर्ने निर्णय गरेको छ । ०८१ मंसिरमै गर्ने भनिएकको प्रतियोगिता चैत्र २३ हुँदै अहिले पुनः ०८२ जेठमा सारिएको छ ।
यद्यपि उक्त मितिमा पनि प्रतियोगिता हुने/ नहुने कुनै विश्वास छैन ।प्राविधिक समस्या, आन्तरिक तयारीदेखि बजेट खरिद प्रक्रियाका कामहरु अघि बढ्न सकेका छैनन् ।
अर्कातर्फ उक्त निर्णय केन्द्र सरकारको मन्त्रिपरिषद् बैठकले स्वीकृत पनि गरेको छैन । आइतबार नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर बिष्टले दशौं राष्ट्रिय खेलकुदबारे किन अलमल भएको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।
राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले आगाची चैत २३ गतेबाट दशौं राष्ट्रिय खेलकुद हुन्छ भनिएको स्मरण गरे ।
‘चैत २३ गते भन्ने थियो, फेरि जेठ ३ गते भनिएको छ’ उनले भने ।
कर्णाली प्रदेशमा हुन लागेको राष्ट्रिय खेलकुदबारे अन्योलता रहेको भन्दै उनले यस्तो अन्योलताले कर्णालीबासी र खेलाडीहरूमाथि अन्याय भएको बताए ।
समयमै खेल नहुने र फेरि पनि जेठमा खेलकुद हुन्छ भन्ने अनिश्चित रहेको दोहोर्याउँदै उनले युवा तथा खुलकुदमन्त्रीको प्रतिबद्धता स्मरण गरे ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दुई वटा संसदीय समिति बैठकमा उपस्थित भएर चैत २३ गते नै खेलकुद हुने प्रतिबद्धता जनाएको बताए ।
‘त्यो प्रतिबद्धतालाई उहाँ (खेलकुदमन्त्री)ले उल्लंघन गर्नुभएको छ,’ उनले भने, ‘म मन्त्रीलाई सदनमा आएर जेठ २३ गते राष्ट्रिय खेलकुद कर्णालीमा हुन्छ कि हुँदैन ? जवाफको माग गर्दछु ।’
खेलकुदमन्त्री चौधरीले भने जेठमा जसरी पनि प्रतियोगिता हुने दाबी गरे । ‘जेठमा जसरीपनि हुन्छ, आधा खेल काठमाडौँ वा नेपालगञ्जमा खेलाउने गरी गृहकार्य भइरहेको छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्