
सुर्खेत । नारी दिवसमा कर्णालीका उत्कृष्ट ८ महिला उद्यमी सम्मानित भएका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले जनही १ लाख र सम्मानपत्रसहित उनीहरुलाई पुरस्कृत गरेको हो ।
पुरस्कार पाउनेमा घरेलु ऊन तथा अल्लो उद्योग सञ्चालन गरिरहेकी डोल्पाको जगदुल्ला गाउँपालिका–३, की ललिता थापा, सिलाई कटाई उद्योग सञ्चालक हुम्लाको सिमीकोट गाउँपालिका–५, की लछु थापा, फलफुल उत्पादन तथा प्रशोधन उद्योग सञ्चालक जुम्लाको तातोपानी गाउँपालिका–५, की नारायणी चौलागाइँ रहेका छन् ।
यस्तै बाख्रा फर्म चलाइरहेकी सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१०, की गीताकुमारी पुन मगर, पोल्ट्री फार्म सञ्चालक कालिकोटको रास्कोट नगरपालिका–५, की सिता शाही, सिलाई कटाई उद्यमी दैलेखको नारायण नगरपालिका–६, की विन्दुकुमारी उपाध्याय, मुगुको छायानाथ रारा नगरपालिका–२, की टेलर्स सञ्चालक सविना रोकाया र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, की होजियारी उद्योग सञ्चालक सुजाता पाण्डेय रहेका छन् ।
उत्कृष्ट महिला उद्यमी वापतको रकमबाट उनीहरुलाई पुरस्कृत गरिएको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाका अधिकृत बिना थापाले बताइन् ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रदेश सरकारको ‘एक जिल्ला, एक महिला उद्यमी’ कार्यक्रम अन्तर्गत सम्मान गरिएको बताए ।
यद्यपि जाजरकोट र रुकुमपश्चिमका उद्यमीहरुको तोकिएको प्रक्रिया पूरा नभएकाले अहिले आठ जिल्लाका उद्यमीलाई पुरस्कृत गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्