सुर्खेतमा राप्रपाको शक्ति प्रदर्शन, नारायणहिटी खाली गर्न चेतावनी (शब्द/चित्र)



सुर्खेत । सोमबार र मंगलबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शक्ति प्रदर्शन गर्‍यो ।

सोमबार मोटरसाइकल र्‍याली गरेर उक्त पार्टीले मंगलबार भने खबरदारी सभा गरेको छ । वीरेन्द्रनगरस्थित पिपलचौतारामा सडक कब्जा गरेर आयोजना गरिएको सभामा हजारौँ सहभागी थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उक्त पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रवादीहरुका कारण देश बर्बाद बनेको आरोप लगाए । साथै उनले अब केपी ओली, शेरबहादुर देउवाबाट देश बन्ने अवस्था नआएको बताए ।

‘यिनीहरुले ३५ वर्ष देश बर्बाद पारे, देश दुर्घटनामा जाने अवस्थामा छ,’उनले भने, ‘त्यसैले अब देशको रक्षाका लागि भएपनि राजसंस्था पुनस्र्थापनाको मागसहित राप्रपा जनताको बिचमा आएको छ ।’

साथै उनले गणतन्त्रवादीहरुकै कारण देश संसारकै भ्रष्ट मुलुक बनेको पनि आरोप लगाए ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कार्यकारी प्रधानमन्त्री र अभिभावकको रुपमा राजालाई राख्नुपर्ने एजेण्डा राप्रपाको रहेको बताए ।

यस्तै अर्का नेतृ कुन्ती शाहीले गणतन्त्रवादीहरुले देशमा लुटतन्त्र मच्चाएको आरोप लगाउँदै नारायणहिटी चाँडो खाली गर्न चेतावनी दिइन् ।

यस्तै नेताहरु प्रकाशचन्द्र लोहनी, मुकुन्दश्याम गिरीले पनि अब जसरी भएपनि राजसंस्था ल्याएरै छाड्ने दाबी गरे । राप्रपाले राजसंस्था पुनस्र्थापनाको माग गर्दै देशभर आन्दोलन चलाइरहेको छ ।

तस्वीरमा हेर्नुहोस् राप्रपाको खबरदारी सभाः

प्रकाशित मिति : २०८१ फागुन २७ गते मंगलबार