
सुर्खेत। स्ववियु निर्वाचनलाई लिएर सुर्खेत बहुमुखी क्याम्पसमा ताेडफाेड भएकाे छ ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार बेलुका क्याम्पसमा ताेडफाेड गरेकाे हाे ।
अनेरास्ववियुका कर्णाली प्रदेश सह- इन्चार्ज अमर शाहीले क्याम्पस प्रशासन र निर्वाचन टिमको दादागिरी र एकलौटी अपरिपक्क निर्णय गरेकाले विवाद भएकाे बताए ।
‘कुरा नमिल्दाखेरि हाम्रो साथिहरु आवेगमा आउँदा त्यस्ताे अवस्था सृजना भएकाे हाे,’ उनले भने, ‘निर्वाचन समितिले राजीनामा दिनुपर्छ।’
ताेडफाेडमा अन्य विद्यार्थी संगठन पनि जिम्मेवार रहेकाे उनले बताए।
विद्यार्थी कार्यकर्ताले ढुंगामुढा गरेपछि क्याम्पसको संरचनामा क्षति भएकाे बताइएकाे छ।
यता निर्वाचन समितिले भने असुरक्षाकाे विषयलाई ध्यानमा राख्दै निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेकाे जनाएकाे छ।
सुचना जारी गर्दै निर्वाचन अधिकृत प्रेम थापाका अनुसार निर्वाचन कार्यतालिका अनुसार मंगलबार उम्मेदवारी दर्ताका क्रममा विवाद भयाे ।
विवाद समाधान गरेर निर्वाचन गतिविधि अगाडि बढाउने प्रयास गरिएपनि सम्भव भएन । ‘त्यसपछि निर्वाचन समितिकाे बैठकले निर्णय गरेबमाेजिक प्राप्त उम्मेदवारी दर्ता गरी निर्वाचन प्रक्रिया थप सरु गर्न खाेज्दा विद्यार्थीहरुले नाराबाजी गर्दै ताेडफाेड गरे,’ सुचनामा भनिएकाे छ, ‘अवस्था असहज भएपछि शान्ति सुरक्षा एवम् सार्वजनिक सम्पत्तिको क्षतिलाई मध्यनजर गरी अर्काे सुचना प्रकाशित नहुने बेलासम्म निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगित गरिएकाे छ।’
यता जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी, प्रहरी नायब उपरीक्षक विरेन्द्रविर विश्वकर्माले अहिले अवस्था सामान्य रहेकाे बताए ।
राजधानीको क्याम्पस भएकाले उक्त क्याम्पसलाई सबै दलहरुले प्रतिष्ठाकाे विषय बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्