पत्रकार महासंघ सुर्खेतद्धारा गढी घोषणापत्र जारी, के छ घोषणापत्रमा ?



सुर्खेत । पत्रकार महासंघ सुर्खेतले चार बुँदे गढी घोषणापत्र जारी गरेको छ । बिहीबार वीरेन्द्रनगरको गढीमा बसेको शाखाको चौथो पूर्ण बैठकले गढी घोषणापत्र जारी गरेको हो ।

जसमा ऐतिहासिक गढी क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गरी पुनर्निर्माण गर्न वीरेन्द्रनगर नगरपालिकालाई ध्यानाकर्षण गराउने, गोठिकाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यस क्षेत्रलाई जोड्ने पदमार्ग तथा सडक स्तरोन्तीलाई प्राथमिकता दिन प्रदेश सरकार र नगरपालिकाको ध्यानाकर्षण गराइने उल्लेख छ ।

यस्तै नगरपालिकालाई मिडियामैत्री सञ्चार कानून निर्माण गर्न जोडदार माग गर्ने बैठकले निर्णय गरेको छ । स्थानीय सरकारबाट प्रकाशन/प्रसारण गरिने विज्ञापनहरू प्रकाशन/प्रसारण गर्ने पहिलो हक सोही स्थानका सञ्चार माध्यमहरूले पाउनुपर्ने उल्लेख छ । यसको कार्यान्वयनका लागि नगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।

सोही अवसरमा गढीमै नगरपालिकाले पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरेको थियो । कार्यक्रममा सहभागी पत्रकारहरुले नगरपालिकाले आगामी बजेटमा समेट्न पर्ने र यसअघि भए गरेका कामका बिषयमा सकरातमक आलोचना सहित सुुझाव सल्लाह दिएका थिए ।

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले पत्रकार महासंघ र पत्रकारहरुका माग तथा सल्लाहका आधारमा नगरपालिका अघि बढ्ने बताइन् ।

‘गढी क्षेत्र एक पर्यटकिय स्थल हो, वीरेन्द्रनगर पुुगेपछि जो पनि एक पटक गढी पुुग्नपर्छ भन्ने ध्ययेका साथ पर्यटकीय क्षेत्रमा विकास निर्माणमा काम अघि बढाइने छ,’ उनले भनिन् ।

नगरउपप्रमुख निलकण्ठ खनालले गढी क्षेत्रको पर्यटकिय विकासका लागि सबैभन्दा पहिले पक्कि सडक निर्माणको कामलाई जोड दिइएको बताए । सडक विस्तारपछि अन्य संरचनाको काम गरेर गढीलाई सुर्खेतकै उत्कृष्ट पर्यटकिय क्षेत्र बनाइने उनको भनाइ छ ।

पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले आम पत्रकारहरुको साझा हक हित र पेशागत सुरक्षाका लागि गोलबद्ध हुने प्रण गरे ।

प्रकाशित मिति : २०८१ फागुन २९ गते बिहीबार