
जाजरकोट । बारेकोट गाउँपालिकामा कार्यरत सब–इन्जिनियर हिमाल पुनमाथि रड प्रहार भएको छ ।
उनलाई बारेकोट–६ कार्कीज्यूलास्थित सीता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र नेपालीले रड तथा ढुंगा प्रहार गरेका हुन् ।
आइतबार सब–इन्जिनियर पुन विद्यालयको दिवा खाजा भवनको अनुगमन तथा निरीक्षण गर्न पुगेका थिए । सो क्रममा भवनको गुणस्तरको विषयलाई लिएर व्यवस्थापन समितिका अध्यक्ष नेपालीसँग विवाद भएको थियो ।
सामान्य भनाभनपछि नेपालीले अचानक रड र ढुंगा प्रहार गरी पुनलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक हरीराम डाँगीले जानकारी दिए ।
उनको पाखुरा र हिपमा चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले जनाएको छ । घटनापछि नेपाली फरार रहेका छन् । उनको खोजी भइरहेको छ ।
प्रकाशित मिति : २०८१ चैत ३ गते सोमबार









प्रतिक्रिया दिनुहोस्