राउटेको जनसङ्ख्या १३४ मा झ¥यो !



केही दिनअघि मृत्यू भएका वृषबहादुर शाही । तस्वीरः सौजन्य/भक्तबहादुर शाही

सुर्खेत । लोपोन्मुख राउटे समुदायका जनसङ्ख्या १३४ मा झरेको छ । केही दिनअघि राउटे समुदायका २२ वर्षीय वृषबहादुर शाहीको मृत्यू भएसँगै राउटेको जनसङ्ख्या १३४ मा कायम भएको हो ।

शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल लगिएको थियो । उपचार हुन नसकेपछि अहिले राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका–१, सिमेलसाल फर्कँदै गर्दा बुधवार राति ९ बजे सुर्खेतको कल्यान काँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसी जानकारी दिए ।

उनका अनुसार मृतक युवा ६ महिनादेखि बिरामी थिए । उपचार गर्न अस्पताल जान नमान्ने राउटे समुदायलाई सम्झाई बुझाई गर्दा बल्ल भदौ ३१ मा उपचार गर्न सहमति जनाएका थिए ।

गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत ल्याइएको उनले बताए । खकार चेक गर्दा क्षयरोग रोग देखियो । उपचारमा संलग्न चिकित्सकले सरुवा टिबी भएको जानकारी दिए ।

‘क्यान्सर पो हो कि भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मन्जुर भएनन्,’बिसीले भने, ‘अस्पतालले डिस्चार्ज गरिदियो । फर्किँदै गर्दा बाटोमा मृत्यु भएको हो ।’
उनी राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन् । यसअघि मृतकका दाजु कपिल शाहीको ६ वर्षअघि मृत्यु भएको हो ।

२०७२ सालमा कपिल अछामको भैरवस्थानको कुजेडामा आगोले पोलिएका थिए । कपिल वीरबहादुर शाहीका जेठा छोरा हुन् ।
वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीले जनाए ।

 

किन घटिरहेको छ, निरन्तर जनसङ्ख्या ?

दक्षिण एसियाकै लोपन्मुख समुदाय हो राउटे । पछिल्लो समय राउटेको जनसङ्ख्या निरन्तर घटिरहेको छ ।

०८० कार्तिकमा राउटे समुदायका महामुखिया ६६ वर्षीय महिनबहादुर शाहीको मृत्यु पश्चात राउटेको सङ्ख्या १४१ थियो । यो बिचमा राउटे समुदायका ७ जनाको विभिन्न कारण ज्यान गएको छ ।

यस्तै २०७५ असार महिनादेखि ०८१ भाद्रसम्म अर्थात सोमबारसम्म यो समुदायका ४२ जनाको मृत्यु भएको छ भने ३१ जनाको जन्म भएको छ । मृत्यु हुनेमा अधिकांश वृद्ध र बालबालिका छन् ।

शिक्षक खत्रीका अनुसार राउटेमा मृत्युदर बढ्नुको पहिलो कारण मदिरा मोह हो । साथै उनीहरू औषधि उपचारमा खासै विश्वास गर्दैनन् भने पोषणयुक्त खाना नहुनु, बालबच्चाको हेरचाह नहुनु, बिरामीको हेरचाह नहुनु, भगवानको भरोसामा लागेर उपचार नगर्नु लगायतका कारण राउटे समुदायमा मृत्युदर बढिरहेको उनले बताए ।

राउटे समुदायकी ६९ वर्षीया दुनी शाहीले १४ सन्तान जन्माइन् । पति महिनबहादुरको मृत्युपछि यतिबेला उनी एक्ली छन् । उनका सबै सन्तान मरिसके । अधिकांश जन्मदै मर्दै गए भने दुई वटाले मात्रै विवाह गरेका थिए ।

दुई वर्ष अघि उनका जेठा छोरा नारायणको जलेर मृत्यु भएको थियो भने र चार वर्षअघि अर्को छोरा शिवराजको उच्च रक्तचापको कारण मृत्यु भएको थियो ।

शिक्षक खत्रीका अनुसार बालबच्चाको खासै हेरचाह नहुँदा सानैमा मृत्यु हुने गरेको छ । जन्मदर कम भएको र मृत्युदर बढी भएकाले जनसङ्ख्या घट्दै गइरहेको उनले बताए ।

‘जन्मदर एकदमै न्यून छ । समुदायमा अहिले एकल महिला धेरै छन्,’ उनले भने, ‘एकल महिलाले दोस्रो बिहे गर्दैनन् । यौवन उमेरका युवाहरू केटी नहुँदा अविवाहित छन् भने कोही विधुवा छन् ।’

अहिले १५ वर्षदेखि ८० वर्ष उमेरसम्मका महिला विधुवा छन् । यस्तै तीन जना एकल पुरुष छन् । यो समुदायभित्र रास्कोटी, कलेल र सोमवंशी छन् ।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिबार