वीरेन्द्रनगरमा अटोरिक्साको लुटतन्त्र, मुखदर्शक सरकार, छैन नगरबस



सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४, की वसन्ती थापा केही दिनअघि मंगलगढी चोकदेखि यरिचोक हुँदै घरतर्फ आउँदै थिइन् । यरिचोकभन्दा थोरै उत्तरतर्फ छ, उनको घर ।

उनले मंगलगढी चोकमा अटोलाई सोधिन—यरिचोकभन्दा थोरै माथि हो, कति रुपैयाँ लिनुहुन्छ ?

अटो चालकले भने—१०० रुपैयाँ लाग्छ ।

उनले अचम्म मान्दै भनिन्, ‘अस्ति त ३० रुपैयाँमा लगेको हो, अहिले कसरी १०० ?’

अटो चालकले १०० रुपैयाँ दिने भए लिने, नभए नलिने भनेर अड्डी कस्न थाले ।

बेलुकापख ७ बजिसकेकाले खासै अटोहरु थिएनन् । उनी बाध्य भएर २० रुपैयाँ लाग्ने दुरीमा १०० रुपैयाँ तिर्नुपर्‍यो ।

अटो चालकले बेलुकातिर अन्य अटोरिक्सा नभएको मौका छोपेर मनलाग्दी भाडा तोकेका हुन् । मंगलगढी चोकदेखि यरिचोकको दुरी बढीमा १ किलोमिटर छ । नगरपालिकाको मापदण्ड अनुसार प्रतिकिलोमिटर पक्की सडकको भाडा २० रुपैयाँ तोकेको छ । यस्तै पक्की सडकमा बढीमा ८ र कच्चीमा १२ रुपैयाँसम्म थप्न मिल्ने छ ।

तर वीरेन्द्रनगरका अटो चालकहरुले मनलाग्दी रुपमा यात्रुबाट भाडा असुल्ने गरेका छन् । विशेषगरी प्रदेश अस्पताल वरपरका एरियामा अटो चालकबाट यात्रुहरु ठगिने गरेका छन् । वसन्तीजस्तै दैलेखका हरेन्द्र शाहीसँग पनि यस्तै स्मरण छ । केही समयअघि उनको हजुरआमा बिरामी भएर प्रदेश अस्पताल पुर्‍याएका थिए ।

बेलुका ८ बजेतिर उनी अस्पतालबाट चन्द्रमान चोकसम्म आउँन अटो चढेर जाने निधो गरे । उनले सोचेका थिए—खासै पैसा छैन, २०/३० रुपैयाँसम्म त लेला ! दुरीमा हिसाबले बढीमा १ किलोमिटर बराबर छ ।

प्रदेश अस्पतालको गेटमा उभिएका अटो चालकले उनलाई जाने हो भाई ? भनेर सोधिहाले । उनी सुरुमा नसोधेर नै अटो चढीहाले । किनकि केही दिनअघि दिउँसोको समयमा उनी २० रुपैयाँमा नै सोही चोकमा पुगेकाले भाडा सोधेनन् ।

‘ओर्लिले बेला त अटो चालकले सिधै १०० देउ भाई भनेर भन्यो,’ उनी भन्छन्, ‘मैले अस्ति त अर्को अटोमा २० तिरेर आएको हो कसरी १०० ? भनेर भन्दा रातको बेला भनेर अड्डी थाप्न थाल्यो । मैले पनि के बार्गेनिङ गर्ने भनेर पैसा थमाईदिए ।’

उनीहरु त केही पात्र मात्र हुन्, वीरेन्द्रनगरमा अटोरिक्सा चढ्ने सबैको अवस्था उस्तै हो । यद्यपि नियमन निकाय भने मुखदर्शक बन्ने गरेको छ । सहरमा अटोको सहायता लिने भनेका कमजोर वर्ग नै हुन् । तर उनीहरुबाट नै अटो चालकहरुले मनोमानी रकम उठाउँदै फाइदा लिने गरेका छन् । यदि वीरेन्द्रनगरमा नगरबस सेवा भएको भए यस्तो अवस्था नआउने सरोकारवालाहरु बताउँछन् ।

गाउँका स्थानीय तहहरुले नगरबस सेवा सञ्चालनमा ल्याउँदा प्रदेशकै राजधानीको वीरेन्द्रनगर नगरपालिकाले भने कुनै चाल गरेकोे छैन ।

वीरेन्द्रनगर नगरपालिकाले अहिलेसम्म नगरबस सञ्चालनबारे कुनै योजना बनाएको देखिँदैन । यसअघि निजी क्षेत्रले नगरबस सञ्चालनमा ल्याए पनि अहिले बन्द भइसकेको छन् ।

०८० असारमा निजी क्षेत्रले नगरको समन्वयमा निजी गाडीलाई नगरबसका रूपमा चलाए । पहिलो चरणमा १० वटा फोर्स गाडीबाट सेवा सुरु गरेपनि वर्षदिन पनि चल्न सकेनन् ।

काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेश कुमार सापकोटा तेलमा लगातार मूल्यवृद्धि हुँदा भाडा बढाइएको र त्यसपछि गाडीमा चढ्ने यात्रुमा कमी आउनु लगायतका कारण बन्द गर्नुपरेको बताउँछन् ।

‘सुरुमा तेलको मूल्य कमै थियो, पछि बिस्तारै बढ्दै गयो, अनि भाडाबाट आएको पैसाले तेल खर्चपनि धान्न नसक्ने अवस्था आयो,’ उनी भन्छन्, ‘सुरुमा भाडादर २० तोकिएकोमा पछि ३० बनाइयो । गाडीले ३० लिन थालेपछि अटोवाला सस्तोमा भनेर प्रचार गर्न थाले । अनि गाडीमा मान्छे चढ्न सकेनन् ।’

नगरबस र अटोको भाडा बराबर भएपछि नागरिकहरू सहज र छिटोका लागि अटोरिक्सा नै चढ्न थाले । अर्कातर्फ नगरपालिकाले पनि खासै सहयोग नगरेपछि नगरबस बन्द गरिएको सापकोटाले बताए । जब नगरबस बन्द भए फेरि अटोरिक्साले मनलाग्दी भाडा उठाउने गरेका छन् ।

नगरपालिकाले अटोरिक्सा र ई–रिक्सा सञ्चालन तथा व्यवस्थापन कार्यविधि बनाएको छ । जसमा न्यूनतम भाडा २० रुपैयाँ तोकिएको छ । र, पक्की सडकमा प्रतिकिलोमिटर ८ रुपैयाँ र कच्ची सडकमा १२ रुपैयाँ थप्न पाउने प्रावधान छ । तर अटोरिक्सा चालकहरूले भने पक्की सडकमै अटोमा चढ्ने बित्तिकै २० का दरले रकम उठाउँछन् ।

उनीहरुले मनलाग्दी रूपमा भाडा उठाउने गरेको नागरिकहरू बताउँछन् । विशेषगरी प्रदेश अस्पतालमा जाँदा–आउँदा अटोरिक्सा चालकले मनलाग्दी रकम उठाउँछन् ।

यता वीरेन्द्रनगर नगरपालिकाले भने नगरबस सञ्चालनका लागि कुनै योजना बनाएको छैन । नगरपालिकाका सूचना अधिकारी टंक प्रकाश लामिछाने अहिले नगरबसका लागि कुनै योजना नभएको सुनाउँछन् । ‘हल्काफुल्का कुरा त भएको हो,’ उनी भन्छन्, ‘अर्को आर्थिक वर्षपछि केही योजना बन्छ की !’

ट्राफिक भन्छ—अटो व्यवस्थापन प्रमुख समस्या

जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वकिल सुनार वीरेन्द्रनगरमा सबैभन्दा ठुलो समस्याको रुपमा नै अटोरिक्सा व्यवस्थापन रहेको बताउँछन् ।

अटोरिक्सा नगरपालिकामा दर्ता हुने र उनीहरुलाई नियमन गर्न बलियो काननु आवश्यक रहेको उनको भनाइ छ ।

सुनार अटोरिक्साबाट स्वयम् आफुपनि ठगिएको स्मरण गर्दै भन्छन्, ‘मैपनि कहिलेकतै अटो चढ्छु, एक चोकबाट अर्को चोक गयोभने ५०, ६० भन्छन् । कतिपटक उनीहरुलाई सम्झाई, बुझाई गर्दापनि उनीहरुलाई नियमन गर्न गाह्रो छ ।’

त्यसका लागि नगरपालिकाले एउटा बलियो कानुन बनाइदियो र भाडादर निश्चित् रुपमा तोकिदिएको खण्डमा ट्राफिकले नियमन गर्न सक्ने उनी बताउँछन् । सुनार वीरेन्द्रनगरमा नगरबसको आवश्यकता देख्छन् ।

भन्छन्, ‘वीरेन्द्रनगरको मुख्य सडक बांगेसिमल–सुब्बाकुनासम्म नगरबस चलाउने अनि भित्री सडकमा अटो चलाउन दिनेगरी व्यवस्थापन गर्न आवश्यक छ । त्यो पनि निश्चित् मापदण्ड बनाएर ।’

पटक–पटक अटोहरुलाई नियन्त्रणमा लिएर नगरपालिका बुझाएपनि अटो व्यवस्थापन अझै सुध्रन नसकेको उनले बताए । साथै उनले अटोरिक्साका लागि छुट्टै पार्किङ्को आवश्यक रहेको पनि बताए ।

 

प्रकाशित मिति : २०८१ चैत ७ गते शुक्रबार