
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११ औँ बैठकले दैलेखको आठबीस नगरपालिकामा राकम कर्णालीमा ५० शैयाको स्याटालाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार बसेको बैठकले उक्त स्थानमा विगतमा १५ शैयाको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने कार्ययोजना अनुमोदन गरेको हो ।
सो अस्पतालको पूर्वाधार, जनशशक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग प्रस्ताव गर्नेछ ।
बैठकमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले कार्ययोजनाबारे सम्बन्धित स्थानीय तहसँग आवश्यक परामर्श र सहकार्य गरेर तीव्ररुपमा काम अघि बढाउन निर्देशन दिए ।
प्रतिष्ठान आरम्भदेखि नै नेपाल सरकारले पूर्ण लगानी गरेकाले अस्पतालको स्तरोन्नति भएपछि त्यहाँका जनताको सहज स्वास्थ्यसेवाका लागि सरकारले सक्दो सहयोग गर्ने विश्वास प्रधानमन्त्रीको छ ।
सभाको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बाँकी अवधिको बजेट पारित हुनुका साथै गत आर्थिक वर्षको आन्तरिक लेखा परीक्षकको प्रतिवेदन जानकारी गराइएको छ । यसैगरी बैठकबाट आगामी आर्थिक वर्षको प्रस्तावित वार्षिक कार्यक्रमसहितको बजेट पारित गरिएको छ भने प्रतिष्ठानको रिक्त सभा सदस्यहरुको मनोनयन गरिएको छ ।
बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं सहकुलपति प्रदीप पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा।आरपी बिच्छा, प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावललगायत सहभागी थिए ।









प्रतिक्रिया दिनुहोस्