वीरेन्द्रनगरमा अब ९६ घण्टाको फरकमा खानेपानी वितरण



गर्मीयाम सुरु भएसँगै खानेपानीका मुहानमा पानीको स्रोत कम हुँदै गएपछि वीरेन्द्रनगरको खानेपानी वितरण प्रणालीमा नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ ।

तालिका अनुसार अब ९६ घण्टाको फरकमा खानेपानी वितरण गरिने भएको छ । सुर्खेत उपत्यका खानेपानी संस्थाका अनुसार सुर्खेत उपत्यका (वीरेन्द्रनगर) मा सहज रुपमा खानेपानी आपुर्ति गर्नका लागि हाल दैनिक ३८८ लिटर प्रति सेकेण्ड खानेपानी आवश्यक पर्छ ।

वर्षा र हिउँदको समयमा समेत आयोजनाको डिजाइन क्षमता अनुसार झुप्रा खोलाबाट ८६, खरिखोला बोरीखोलाबाट ३०, इत्राम खोलाबाट २७, दन्दुरे खोलाबाट ५ र खोर्के खोलाबाट १० लिटर प्रति सकेण्ड गरी जम्मा १५८ लिटर प्रति सेकेण्ड उपलब्ध हुँदै आएको छ ।

अझ गर्मी बढेसँगै प्रत्येक खानेपानीका मुहानमा पानीको स्रोतमा कमी आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्बर बहादुर गौतम बताउँछन् ।

अहिले खडेरीका कारण खानेपानीका स्रोतहरुमा ह्रास आएको छ । झुप्रा खोलामा ५०, खरिखोला बोरीखोलामा २०, इत्राम खोलामा १०, दुन्दुरे खोलामा ५ र खोर्के खोलामा ५ लिटर प्रति सेकेण्ड गरी ९० लिटर प्रति सेकेण्ड मात्र खानेपानी उपलब्ध भएको अवस्था छ । वैशाख नलाग्दै ६९ लिटर प्रति सेकेण्ड खानेपानीमा ह्रास आएको छ ।

अर्कोतर्फ सबै धारामा समान तरिकाले खानेपानी वितरण हुन सकेको छैन । उपत्यकाको असमान भू–वनोटका कारण कुनै धारामा पानी जाने र कुनैमा नजाने समस्या छ । ‘यस्तो अवस्थामा छरछिमेकमा मिलेर खानेपानी प्रयोग गर्न अपिल गरिएको छ,’जारी सुचनामा भनिएको छ ।

प्रदेश राजधानी बनेसँगै वीरेन्द्रनगरमा दिनप्रतिदिन जनसङ्ख्या बढ्दो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार अहिलेसम्म २० हजार ३५० घरधुरीमा धारा जडान छ । जबकि उपत्यकाभित्र घरधुरी संख्या झण्डै ४० हजार पुगेको अनुमान गरिएको छ । समग्र वीरेन्द्रनगरमा ५१ हजार घरधुरी छन् ।

करिब ४ हजार दुई सय बढी घरधुरीले धाराका लागि आवेदन दिए पनि जडान कार्य हुन सकेको छैन । साढे ८ सय धारा जडान गर्ने सूचीमा छन् ।
खडेरीको समयमा माग बढ्ने भएपनि मुहानमा पानी घट्ने हुँदा खानेपानीको पहुँच सहज छैन ।

प्रकाशित मिति : २०८१ चैत २५ गते मंगलबार