तेस्रो पटक तोकिएको मितिमा पनि नहुने भयाे दशौँ राष्ट्रिय खेलकुद



तेस्रो पटक ०८२ जेठ ३–१० गतेका लागि तोकिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि स्थगित भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले प्रतियोगिता जेठमा आयोजना गर्न नसकिने निर्णय लिएको हो ।
२०७९ मा गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदबाट २०८१ मंसिरमा कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद गर्ने निर्णय भयो । तर उक्त समयमा पुर्वाधार लगायतका कारण देखाउँदै रोकियो । त्यसपछि पुनः चैत्र २३ देखि ३० गतेसम्मका लागि सारियो । उक्त समयमा पनि हुन सकेन ।

जेठमा गर्ने भनेर वीरेन्द्रनगरमा समेत सचिवालय स्थापना भइसक्दा अहिले पुनः प्रतियोगिता रोकिएको छ ।

शुक्रबारको बोर्ड बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता जेठमा नगर्ने प्रस्ताव राखेका थिए ।
केही माओवादी निकट सदस्यहरुले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

प्रतियोगिताको मिति नजिकिँदै गए पनि अहिलेसम्म कुन खेल कहाँ कहाँ हुने टुंगो नलागेको, मुख्य प्रतियोगिता–स्थल सुर्खेत रंगशालाको भौतिक पूर्वाधार निर्माण सम्पन्न नभैसकेको र मापदण्डविपरीत र कमसल संरचनामा खेलहरु खेलाइँदा दुर्घटनाको जोखिम हुनसक्ने खतरा रहेको समितिको ठहर छ ।

यस्तै अहिलेसम्म खेलाडी छनोट हुन नसकेको, खेल सामग्रीको टेन्डर नभएको र टेन्डर आह्वान गरेर प्रतियोगिता गर्न सम्भव नदेखिएको अनुगमन समितिले उल्लेख गरेको छ ।

प्रतिकूल मौसमका कारण थप जटिलता रहेको, प्रतियोगिताका लागि अर्थ मन्त्रालयबाट विनियोजित बजेटबाट विषयगत रुपमा शीर्षक बाँडफाँट हुन बाँकी, कतिपय खरिद तथा टेन्डर प्रक्रियाअघि विषयगत उपसमिति गठन भएको छैन ।

खेलाडी, प्रशिक्षक तथा निर्णायकहरुको संख्यासमेत निर्धारण हुन नसकेको, विभिन्न समय र स्थानमा भएका स्थलगत भ्रमण, अध्ययन तथा अनुगमनबाट समेत यथास्थितिमा कार्यक्रम आयोजना गर्नु प्रत्युत्पादक हुने देखिएको ठहर गरिएको छ ।

प्रकाशित मिति : २०८१ चैत २८ गते शुक्रबार