
केही दिनअघि वीरेन्द्रनगरमा आयोजित नेकपा एमालेको जागरण सभामा बोल्दै नेकपा एमाले महासचिव शंकर पोखरेलले गणतन्त्रपछि मात्रै कर्णालीका मान्छेले भात खान पाएका हुन भन्ने भनाइको यतिबेला आलोचना भइरहेको छ ।
उनले कर्णालीलाई ‘बिचरा’ प्रदेशका रुपमा व्याख्या गरेको र तथ्य विपरित गैर–जिम्मेवार तर्क गरेको भन्दै विरोध भएको हो ।
यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रवि किरण हमालले पोखरेललाई कर्णालीमा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘सत्तामा पुगेर लुटतन्त्रको अगुवाई गरिरहेको प्रधानमन्त्रीको दल नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कर्णालीमा सधैँका लागि निषेध गर्नुपर्छ ।’
पोखरेलले गणतन्त्रको कारणले गर्दाखेरी कर्णालीका मानिसहरू भात खाना पाएको भन्दै गैरजिम्मेवार, हेपाहा र निकृष्ट वक्तव्य दिएको उनको टिप्पणी छ ।
हमालले लेखेका छन्, ‘उनले बरु गणतन्त्रको नाममा श्रीमतीलाई समानुपातिक सांसद बनाएका थिए, ज्वाईंलाई दाङ जिल्लाको भूमि आयोग अध्यक्ष साथै बहिनीलाई समानुपातिकको पहिलो नम्बरमा राखेका थिए। यस्ता लुटेरा र आसेपासे पुँजीवादका नायकहरूले जबजको व्याख्याता भन्दै एमालेका लाखौँ कार्यकर्तालाई ठग्दै हिँडेका छन्।’









प्रतिक्रिया दिनुहोस्