आफुले सदस्यसचिव नियुक्त नगरेका मुख्यमन्त्रीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित हुनुको सबै दोष केन्द्रलाई थुपारे



सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले जेठमा हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता रोकिनुको सबै दोष केन्द्र सरकारलाई दिएका छन् ।

प्रदेशको कुनै हात नरहेको र संघीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको उनको भनाइ छ ।

शुक्रबार खेलकुद क्षेत्रसँग सम्बन्धित संघ र प्रशिक्षकहरुसँग छलफलमा प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कुनै संलग्नता नरहेको समेत स्पष्ट पारे ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा आयोजना हुने तय भएको थियो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पटक–पटक मिति सार्दासमेत आफूले खेल सुनिश्चित हुने गरि काम गर्न संघीय खेलकुद मन्त्रालयलाई सुझाब दिएको मुख्यमन्त्री कडेलले बताए ।

प्रतियोगिता गर्ने भन्ने तर प्रतियोगिताको लागि आवश्यक तयारीका सम्बन्धमा अलमल गर्ने खेलकुद मन्त्रालयको समस्या आफूले अनुभव गरेको पनि उनले बताए । पछिल्लो समय प्रतियोगिताको लागि सुर्खेतमा सचिवालय स्थापना भएपनि देखिने गरि काम नभएको उनको भनाइ छ ।

‘खेलकुद प्रतियोगिता कर्णाली हुने भएपनि त्यसको मुख्य आयोजक संघीय सरकार भएकोले पूर्वाधारमा प्रदेशलाई सहयोग गरिएको आग्रहको समेत सुनुवाई भएन,’ उनले भने, ‘विगतमा अन्यन्त्र आयोजना गरिएका राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारमा लागि करोडौ खर्च गर्ने संघीय सरकारले कर्णाली प्रदेशमा निर्माण हुने पूर्वाधारमा पनि लगानी गरेन ।’

कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेश सरकारबाट कुनै कमि हुन नदिने पनि बताए । तर उनको व्यवहार भने त्यो किसिमको देखिन्न । उनले अहिलेसम्म खेलकुद परिषद्लाई पुर्णता दिन सकिरहेका छैनन् भने प्रतियोगिता चाँडो गर्न दबाब दिनुको साटो आयोजक केन्द्र हो भन्दै पन्छिने गर्छन् ।

एक अर्को प्रसङ्गमा मुख्यमन्त्री कडेलले प्रदेश रंगशालाको काम सकेर हन्तान्तरण भएको दिन भुक्तानीको लागि कुनै समस्या नहुने बताए । उनले भने, ‘निर्माण कम्पनीले कतिबेला १ प्रतिशत काम बाँकी छ भन्ने कतिबेला सम्पन्न भयो भन्ने खालका कुरा गरिरहेको छ तर रंगशाला हस्तान्तरण भएको छैन । काम सम्पन्न भएर हस्तान्तरण भयो भने बाँकी रकम दिन प्रदेश सरकार तयार छ, हामीलाई कुनै समस्या छैन ।’

निर्माण व्यवसायीले काम सकेर रंगशाला हस्तान्त्रण गर्नुभन्दा बाहानबाजी गर्दे हिँडेको आरोप पनि लगाए उनले । साथै रिक्त रहेको प्रदेश खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिमा नियुक्तीबारे छलफल गरेर चाडै टुंगोमा पुग्ने तयारी भएको जानकारी गराए ।

प्रकाशित मिति : २०८२ वैशाख ५ गते शुक्रबार