
सुर्खेत । बिहीबारदेखि विविधत रुपमा बडादसैं सुरु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना तयार गरेको छ ।
जस अनुसार प्रदेशभर चार हजार ३५१ प्रहरीहरू परिचालन गरिएको छ । ती प्रहरीहरूलाई एक हजार ३२९ वटा ड्युटीमा खटाइएको हो ।
खटाइएका प्रहरीमध्ये चार हजार ९९ जना जनपद प्रहरी रहेका छन् भने २५२ जना ट्राफिक प्रहरी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआईजी) जनक भट्टराईले बताए ।
‘दसैँ, तिहार र छठ पर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण एवं सडक सुशासन कायम गर्न उक्त योजना लागु गरिएका हो,’ उनले भने ।
चाडबाडको समयमा जुवातास, मापसे गरी झै–झगडा, आपराधिक घटना, सवारी दुर्घटनाका घटनाहरू र बैंक तथा वित्तीय सङ्घ–संस्था लगायतका क्षेत्रहरूलाई लक्षित गरी चोरी, डकैती, लुटपाट, गुण्डागर्दी, पाकेटमारी जस्ता आपराधिक गतिविधि निस्तेज गरिने उनको दाबी छ ।
सुरक्षा योजना अनुसार विभिन्न १७ वटा समुहका प्रहरी परिचालन गरिएको छ । १२ वटा प्रदेश तथा जिल्ला कमान्ड पोस्टहरूमा १४५ जना प्रहरी र ४०१ प्रहरीको रिजर्भ टोली बनाइएको छ ।
रिजर्भ टोली प्रदेशका विभिन्न १४ वटा ठाउँका राखिएको छ । तीन वटा मातहत प्रहरी टोली बनाइएको छ । जसमा १४ जना प्रहरी जनशक्ति राखिएको छ । यस्तै ४८ वटा मोबाइल गस्ती टोली बनाइएको छ । जसमा २३४ जना प्रहरी खटाइएको छ ।
यस्तै प्रदेशभर १०२ ठाउँमा मोटरसाइकल गस्ती टिम बनाइएको छ, जसमा १५२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । १०९ स्थानमा क्युआरटी (क्वीक रेस्पोन्स टिम) बनाइएको छ । उक्त टिममा २४८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ ।
यस्तै २३३ वटा पैदल गस्ती टोली बनाइएको छ भने उक्त टोलीहरूमा ६३७ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । यस्तै लामो तथा छोटो दुरीको गस्ती १०० वटा बनाइएको छ । जसमा ३७७ जना प्रहरी खटाइएको छ । ११३ ठाउँमा पिकेट टोली बनाइएको छ जसमा २७६ प्रहरी परिचालन गरिएको छ ।
यस्तै स्ट्राईकिङ टोली ९ स्थानमा खटाइएको छ । त्यसमा ७६ प्रहरी परिचालन गरिएको छ । प्रदेशभित्रका महत्त्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलहरूको सुरक्षाका लागि १९८ प्रहरी परिचालन गरिएको छ । प्रहरीले त्यस्ता ४४ स्थानको पहिचान गरेर प्रहरी खटाएको हो ।
यस्तै बैंक, वित्तीय सङ्घ–संस्था, बजार अनुगमन, विशिष्ट व्यक्तिको सुरक्षा लगायतका अन्य स्थानमा समेत गरी १९८ स्थानहरूमा ७५० प्रहरी परिचालन गरिएको छ ।
यस्तै ४२ प्रहरीलाई विभिन्न ठाउँमा सादा पोसाकमा खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । माइकिङ प्रचार प्रसारका लागि १७ वटा स्थानमा ४० जना प्रहरी खटाएको छ ।
सडक सुरक्षा व्यवस्थामा कडाई
प्रहरीले सडक सुरक्षालाई कडाइ र व्यवस्थित गर्ने प्रयास गरेको छ । प्रदेशभर १६२ वटा स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङको व्यवस्था मिलाइएको छ ।
ती चेकिङ स्थलमा २९० जना प्रहरी ट्राफिक प्रहरी खटाइएको छ । साथै ८५ ठाउँमा ट्राफिकसहितको चेकिङ गर्ने व्यवस्था थप मिलाइएको छ । ती ठाउँहरूमा १९९ प्रहरी खटाइएको छ ।
यात्रुहरूको सहजताका लागि भनेर दसैँ, तिहार लक्षित ६० वटा यात्रु सहायता तथा नागरिक सहायता कक्षहरू स्थापना गरिएको छ । ती कक्षहरूमा १७२ जना प्रहरीलाई खटाइएको छ ।
प्रदेश ट्राफिक कार्यालयका सुचना अधिकारी हरी विसीका अनुसार ७ स्थानमा ‘रि–फ्रेस’ सेन्टर राखिने छ । लामा दुरीका सवारी साधनहरू उक्त ठाउँमा रोक्न मिल्ने र गाडी र यात्रुहरूले आरा गर्न पाउँछन् ।
राजधानीको सुरक्षा व्यवस्था कस्तो ?
प्रहरीले विशेषगरी प्रदेश राजधानीलाई लक्षित गरेर सुरक्षा व्यवस्थालाई कडाई गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार सुर्खेत जिल्लाभर साढे ७ सय जनशक्ति परिचालनमध्ये साढे तीन सय प्रहरी वीरेन्द्रनगरमा मात्रै परिचालन गरिएको छ ।
उनले भने, ‘जनशक्ति सुर्खेतमा कम भएकाले बाहिरबाट मगाइएको पनि उनले बताए । ‘हामीले सुरक्षा योजना नै बनाएर काम गरिरहेका छौँ । ठाउँ–ठाउँमा प्रहरी खटाइने, चेक प्वाइन्टहरुलाई चुस्त, दुरुस्त बनाउने काम भइरहेको छ । बाहिरबाट आउने जनशक्ति बिहीबार बेलुकासम्म आइपुग्छ ।’
प्रतिक्रिया दिनुहोस्