७ वर्षमा कर्णाली सरकारले गर्‍यो जम्मा २३० किलोमिटर कालोपत्रे



प्रदेश सरकारद्धारा निर्माण गरिएको वीरेन्द्रनगरस्थित पिपल चौतारा–भानुपार्क सडक

सुर्खेत। कर्णाली प्रदेश सरकार स्थापना भएदेखि अहिलेसम्म २३० किलोमिटर सडक कालोपत्रे गरेको छ ।

पुर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्दै आएको कर्णाली सरकारले ७ वर्षको अवधिमा उक्त सडक कालोपत्रे गर्न सकेको हो ।

प्रदेशको भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयले बनाएको सडक गुरुयोजनामा उल्लेख भए अनुसार सोही अवधिमा ७ सय किलोमिटर खण्डस्मिथ सडक निर्माण गर्न सकेको छ । यस्तै तीन हजार किलोमिटर माटे अर्थात् नयाँ सडक खनिएको छ । यस्तै ४ दर्जनजति सडक पुल निर्माण भएका छन् ।

आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्म प्रदेशमा कुल तीन हजार ६३८.३७ किलोमिटर सडक सञ्जाल विस्तार भएको छ । त्यसमा १७३.७५ किलोमिटर कालोपत्रे, ६२०.०६ किलोमिटर ग्राभेल र दुई हजार ८४४.५६ किलोमिटर धुलाम्य सडक खनिएको उक्त गुरुयोजनामा उल्लेख छ ।

तथ्याङ्कअनुसार ७९ वटा स्थानीय तह रहेको कर्णालीका ३ वटा स्थानीय तहमा सडक सञ्जाल पुगेको छैन । यस्तै हुम्ला जिल्लाको सदरमुकाम राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । ४६ स्थानीय तहको केन्द्रसम्म त कालोपत्रे सडक नै बनेको छ ।

प्रदेश सरकारले अब आफुले बनाएको गुरुयोजना अनुसार सडक निर्माण गर्ने छ । त्यसका लागि प्रदेशभर २८२ वटा प्रदेश राजमार्ग तथा प्रदेश सडकहरू कायम गरिएका छन् । प्रदेश राजमार्ग मात्रै १०३ वटा रहेका छन् भने प्रदेश सडक १७९ वटा रहेका छन् ।

प्रदेश राजमार्गको सञ्जाल दुई हजार ८७७.३६ किलोमिटर रहेको छ भने प्रदेश सडक सञ्जाल ३ हजार ८०.५१ किलोमिटर कायम गरिएको छ ।

 

 

प्रकाशित मिति : २०८२ वैशाख २४ गते बुधबार