
सुर्खेत । कर्णाली प्रदेश सरकारले योजना छनौटमा हुने बेथिति रोक्ने उद्देश्यले परियोजना बैंक सञ्चालनमा ल्याएको छ ।
सरकारले कार्यान्वयन गर्ने योजनाहरुको प्राथमिकीकरण गर्न परियोजना बैंक सञ्चालनमा ल्याइएको प्रदेश योजना आयोगले जनाएको छ ।
आगामी आव ०८२/८३ का लागि ‘परियोजना बैँक’मा योजनाहरु प्रविष्ट गर्ने काम भइरहेको छ । परियोजना बैंकमा हालसम्म ७ हजार ३११ वटा योजनाहरु प्रविष्ट भएका छन् । तीमध्ये ६ हजार ७०६ वटा रणनीतिक महत्वका छन् ।
जिल्लास्तरीय छनौट गरेका आयोजनाहरुको विषयगत मन्त्रालयहरुले प्राथमिकीकरण गरिरहेको छ ।
‘मन्त्रालयबाट भेरिफाई गरेर पठाउँदै हुनुहुन्छ, अहिलेसम्म आएकामध्ये ५० लाख भन्दा बढीका आयोजनाहरु ५ हजार ७२३ वटा जति आएको छ,’ प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले भने, ‘हामीले मन्त्रालयलाई पुनः योजनाहरुको विश्लेषण, आवश्यकताबारे छलफल गरेर पठाउन भनेका छौँ ।’
उपाध्यक्ष योगीले बिहीबारसम्म मन्त्रालयहरुले पठाएपछि परियोजना बैंकमा इन्ट्री गरिने बताए । ‘जेठ ७ गतेसम्म योजना आयोगले ती योजनाहरुको विषयमा थप छलफल गर्ने, योजना तथा कार्यक्रमहरुमा कति काँटछाँट गर्ने काम गर्छ,’ उनले भने ।
परियोजनाको प्राथमिकीकरण गर्दा आयोजनाबाट कति जनसंख्या लाभान्वित हुने, आवश्यकता हो वा हैन ? दीर्घकालिन योगदान पुर्याउने हो वा हैन लगायतका सम्पुर्ण तथ्य, तथ्याङ्कका विषयमा अध्ययन, अनुसन्धान गर्ने आयोगको भनाई छ ।
योजना छनौट गर्दा निर्माण गर्दा राष्ट्रिय जनगणना २०७८ र प्रदेशको पञ्चवर्षीय योजनालाई आधार बनाइने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्