
जब कुनै ठाउँको घटना होस् वा कुनै व्यक्तिको कथा आफ्नै ठाउँ र आफ्नै परिवेशसँग मिल्छ भने लाग्छ त्यो ठाउँ र ती पात्र आफ्नै परिवेशका हुन् । कता–कता त्यो पात्र आफै हुँ लाग्छ र हृदय सम्म पुग्छ छाती बेस्सरी पोल्छ ।
मुटुको गति बढेको महसुस हुन्छ । जब त्यो घटनाले आफ्नै हृदय पोल्छ अनि त्यो घटना जीवन्तकालसम्म यादगार रहिरहन्छ । त्यसै मध्येको एक घटना हो—केरलाको त्यो हृदयविदारक कथा एक पिताको सम्झना ।
यो पुस्तकको बारेमा केही लेख्नु बोल्नु अगाडि अलिकती भारतीय इतिहासमा जाउँ । भारतमा पटक–पटक गरेर करिब १५ वर्ष प्रधानमन्त्री भएकी र भारतीय इतिहासमै पहिलो र एक मात्र प्रधानमन्त्री इन्दिरा गान्धीले भारतीय लोकतन्त्रलाई अँध्यारो सुरुङमा छिराएको एउटा सानो घटनाको आधारभुत तथ्यबारे जानकार हुनु जरुरी छ ।
सन् १९७१ मा भारतमा भएको चुनावमा इन्दिरा गान्धीको पार्टी भारतीय कांग्रेसले दुईतिहाइभन्दा धेरै सिटमा जित हात पार्यो । त्यो चुनावमा गान्धी उत्तर प्रदेशको रायबरेलीबाट १ लाखभन्दा धेरै भोटले विजयी भएकी थिइन् ।
तर गान्धीका प्रतिद्धन्द्धी रहेका संयुक्त सोसलिस्ट पार्टीका उम्मेदवार रहेका राजनारायणले गान्धीले चुनावमा धाँधली गरेको, भ्रष्टाचार गरेको, सरकारी स्रोत र साधनको चुनावमा दुरुपयोग गरेको भन्ने विभिन्न आरोपसहित इलाहबाद उच्च अदालतमा मुद्दा दायर गरिन् ।
चुनाव जितेपछि प्रधानमन्त्री भइसकेकी गान्धीलाई १२ जून १९७५ मा इलाहबाद उच्च अदालतले उनले चुनावमा सरकारी स्रोत साधनको दुरुपयोग गरेको भन्दै उनको सांसद पद खारेज भएको र ६ वर्षसम्म चुनाव लड्न नपाउने फैसला गर्यो ।
त्योसँगै उनले प्रधानमन्त्री पद सम्म गुमाउनु पर्ने स्थिती आयो । तर, त्यतिखेर कांग्रेससँग प्रधानमन्त्रीको रूपमा गान्धीको अर्को विकल्प थिएन । ‘इन्डिया इज इन्दिरा, इन्दिरा इज इन्डिया’ को नारा चर्चित थियो, भारतमा ।
सांसद पद गुमिसक्दा पनि प्रधानमन्त्री पद त्याग्न नमानेकी गान्धी इलाहबाद अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगिन् ।सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्यो । फैसलाको पूर्णपाठ नआउँदासम्म गान्धी प्रधानमन्त्री पदमा रहिरहने तर सांसद पद र सांसदका रूपमा पाउने सेवा सुविधा नपाउनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गर्यो ।
कहिलेकाहीँ अदालतको आदेशले राजनीति अवस्थालाई कहाँ–कहाँ पुर्याउँछ—यो त नेपालकै घटनाक्रमबाट हामी जानकार छौँ । बंगलादेशको सर्वोच्च अदालतको आदेश पछिको विद्रोहले त्यहाँकोे प्रधानमन्त्री शेख हसिनाले देशै छोड्नु परेको तथ्य त ताजै छ । तर कहिलेकाहीँ तानाशाहलाई बल समेत पुग्ने रहेछ ।
सर्वोच्च अदालतको त्यही आदेशबाट फेरि उनी रिभाईभ भएर आइन अनि लोकतन्त्र र संविधानको हत्या हुने गरी २१ महिनासम्म २५ जुन १९७५ को रातिबाट लागू हुने गरी आफ्नो मन्त्रीपरिषद्मा छलफलनै नगरी भारतमा संकटकाल लागू गरिन् । त्यो पश्चात नागरिकका मौलिक हकहरु निलम्बन गरिए ।
इन्दिरा गान्धीको संकटकै बीचमा जन्मेको पुस्तक हो, एक पिताका सम्झनाहरु । उक्त संकटको भुमरीमा भारतको दक्षिण केरला राज्यमा समेत असर देखियो । त्यहाँको राज्यस्तरबाट गरिएको हिंस्रक बर्बरताले त्यस राज्यमा ग्रहण लाग्न पुग्यो, अनि त्यहाँ जंगलराज कायम भयो ।
अदालत, अधिवक्ता, संचार माध्यम, सिनेमामाथी ज्यादती गरियो । कैयौं कलाकरहरुलाई कालोसुचीमा राखियो । जुन काललाई इन्डियन डेमोक्रेसीमा ‘कालो पिरियड’ मानिन्छ । त्यो कालो इतिहासको बारेमा भए गरेका घटना अरु कुनै प्रसंगमा छलफलको विषय रहला, अहिले पुस्तक ‘एक पिताका सम्झना’ तिर लागौँ ।
इन्दिरा गान्धीको संकटकै बीचमा जन्मेको पुस्तक हो, एक पिताका सम्झनाहरु । उक्त संकटको भुमरीमा भारतको दक्षिण केरला राज्यमा समेत असर देखियो । त्यहाँको राज्यस्तरबाट गरिएको हिंस्रक बर्बरताले त्यस राज्यमा ग्रहण लाग्न पुग्यो, अनि त्यहाँ जंगलराज कायम भयो ।
न्यायपालिका भन्दा कार्यपालिका, कार्यपालिका भन्दा प्रहरीतन्त्र हावी भयो । त्यस संकटको भूमरीभित्र कैयन् कथाहरु लेखिए । तीनै कथाहरुभित्रको एक जीवन्त, दुख र पीडाको कथा हो—एक पिताका सम्झनाहरु ।भारतको इतिहासमा सन २५ जुन १९७५ देखि करिब २१ मार्च १९७७ को बीचका दिनहरुमा संकटकाल लादियो ।
संकटकाल विशेष परिस्थितिमा मात्र लगाइन्छ । जस्तो विदेशी अतिक्रमण सामना गर्न, वा आन्तरिक हिंसालाई समाल्नका लागि लगाइन्छ । त्यसको असर भने मुलुकका सारा जनतामाथि पर्छ । भारतको त्यो संकटकाल देशलाई खतराबाट जोगाउन वा आन्तरिक हिंसालाई समाल्नको लागि थिएन।
यो त तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको (एक शासक) नितान्त गुमेको पद, हैसियत जोगाउन आफ्नो ब्यक्तिगत स्वार्थको लागि थियो । जस्को कारणबाट सारा शक्ति आफ्नो मुठ्ठी मा लगिन । विश्व मानवअधिकार घोषणापत्रको खिल्ली उडाउदै बाँच्न पाउने र जान्न पाउने नागरिक अधिकारबाट वञ्चित गराइयो । र, अमानवीय गतिविधी सुरु गरियो । यतिसम्मकी संकटकालको बेला प्रत्येक प्रहरीलाई सडकमा कसैलाई पनी गोली हानेर मार्ने अधिकार छ । तर प्रश्न सोध्ने अधिकार कसैलाई छैन (पेज६८) भनियो । त्यतिबेला प्रहरीलाई राज्यका यातना दिने औजार बनाइयो ।
सन १९७६ फेब्रअरीमा २८ मा नक्सलवादिहरुले केरेला राज्यको कायन्ना स्थित प्रहरी चौकीमाथि गरी हतियार लगे, त्यसपछि ठाउँ–ठाउँबाट युवाहरु पक्राउ पर्न थाले । र, पक्राउ गरिएका युवाहरुलाई प्रहरी सिविरमा लगेर बर्बरता साथ यातना दिइयो । यो क्रम धेरै दिनसम्म निरन्तर जसो चलिरह्यो ।
यसै बीच १ मार्च १९७६ को दिन प्रहरीहरु चाथामंगलम ईञ्जिनियरिङ कलेजमा गए । र, ईन्जिनियरिङको अन्तिम वर्षका विद्यार्थी टि.भि.इएचारा भारियरका एक मात्र छोरा राजनलाई गिरफ्तार गरेर प्रहरी सिविरमा लगियो । आक्रमणको आरोपमा जेल चलान गरियो, यातना दिन थालियो ।
त्यहाँ जेलमा दिएको यातना हिटलर को बन्दी शिविरमा झै अलोकतान्त्रिक र हृदयहिन प्रयोग थियो—मानौँ कि फलामे पञ्जाले मान्छेको बौद्धिक इमानदारीता र न्यायको भावनालाई नष्ट गर्न प्रयोग गरिएको थियो ।
राजनलाई काठे बेञ्चमा बाँधेर मुसलले पेलियो र, मुखमा बुजो हालियो । अचल र शान्त बनाइयो । त्यसपछि शान्त लासलाई बोरामा हालेर जंगलमा लगि चिनी हालेर जलाइयो । (पेज ७९) यसरी उनका छोरा राजनको हत्या गरियो ।
सन १९७७ को मार्च महिनामा संकटकाल हटाउने र चुनाव गराउने सरकारले घोषणा गर्यो । संकटकाल को अवधिमा राजनवारे जानकारी प्राप्त गर्ने बाबुका प्रयासहरु मन्द थिए, संकटकाल पछि जब स्वतन्त्रताको सितल हावा वहन थाल्यो, उत्सव र मुक्तिका जुलुसहरु निस्किन थाले त्यसपछि मात्र आफ्नो छोराको खोजी गर्न थाले ।
संकटको भुमरी सकिएर उल्लास चलेको समयमा राजनका बाबुमा भने उदासीको वर्षा भइरहेको थियो । छोरा जिउँदो रहेको झिनो आसामा खोजीमा यति दुख र कष्ट भोग्नुपर्यो जसको बयान लेखेर गर्न नसकिने थियो ।
पुरै प्रशासन समेत उनको विरुद्धमा लाग्यो । छोराले बाबुको खोजी गर्नु भन्दा बाबुले छोराको खोजी गर्नु आफैमा दुखद र थकानपुर्ण हुन्छ ।
छोरा खोजिको महायात्रामा बाबू टि.भि. इएचारा भारियरलाई यस्तो लाग्यो कि धेरै मानिसहरु सहृदयका साथ उनको छेवैमा उभिएका भएपनी उनलाई भने दिनदिनै झनझन एक्लोपनाले सताइरहन्थ्यो ।
उनको दुख, पीडामा गहभरी आँसु देखाएर भावुकतामा साथ दिनेहरुको जमातै थियो । तर खोजीको महायात्रामा उनी एक्लै थिए । उनी छोरा राजनलाई डाक्दै आफ्नो समृतिका रिक्त कक्षहरुमा हिडिरहन्थे । यो काम निश्वासलाग्दो भएपनी उनी अन्तरहिन खोजीको संसारमा निस्किए ।
साँच्चिकै यो यात्रा सहज थिएन । बाध्यात्मकता थियो, यही यात्राकै क्रममा आफ्नो पत्निलाई गुमाउनु पर्यो । तथापी सहासपुर्ण यात्रामा निरन्तर लागिरहे । उनका लागि यो घटना शरीरमा घोचिरहने सियो जस्तै थियो ।
खानेबेला छोरा सम्झिदा गास निल्न गाह्रो हुन्थ्यो । सुत्दापनी छोराकै सम्झनाले चारैतिर घेरेको हुन्थ्यो । र, अन्तरात्मा रातो–तातो टिनको पाताझै हुन्थ्यो । वरिपरि अन्धकार मढारिए झैँ हुन्थ्यो (पेज३८) …।
हुन त जसले विचार र आदर्शका महान संसारहरु पार गरिसकेका छन्, तीनका लागि मृत्यु कहिलै बोझ नहोला । तर एउटा बाबूको छातिमा छोराका लागि कमजोर स्पन्दन र आँखामा सधै आँसु रहिरहन्छन् ।
जीवनमा सबैका स–साना सपनाहरु हुन्छन् । भविष्यमा माया दिने, न्यानो दिने, सहारा दिने, आखिरीपल्ट मुख हेर्न र दागबत्तीको साक्षी बसिदिने, साहस बनेर आफ्नै ठाउँमा उभिदिने सुन्दर सपना हो ।
सपना राजनका बाबुको पनि थियो । त्यो सपना हुर्काउन नपाउदै जलेर खाक भयो । उसको जीवनको सानो सपना फेरि कहिल्यै नदेखिने गरी चिरनिन्द्रामा अस्ताएको पत्तै भएन । तापनि जिउँदो रहेको आशमा सधै भौतारिरहनु पर्यो । त्यो बेला छोरा भेटिने सबै आशाहरु निराशामा परिणत भए ।
जब राजन अब कहिल्यै नदेखिने, कहिल्यै नसुनिने गरी शून्यमा विलीन हुँदै गएको खबर राजनका बाबुको कानमा पर्यो। त्यो खबरले संंसारै अँध्यारो भयो ।
बेचैनीको पिरो धुवाँ उडिरहेको जस्तो उनका ब्याकुल आँखाले हेरेँ अब राजन स्पन्दनहीन छ । अब उसलाई म कहिलै देख्दैन । ‘के छ, छोरा ?’ भनेर अब राजनलाई कहिल्यै सोध्न पाउदैन भन्ने थाहा पाएपछि यो संसार उनकै वरिपरि फनफनी घुमेको जस्तो भयो ।
आफ्नो छोराको खोजीमै सारा जीवन बिताउनु पर्दाको क्षण हामी कल्पना मात्र गर्दा पनि थकित हुन्छौँ । तर राजनका बाबुका लागि यो कल्पना थिएन ।
यो पुस्तक पढिरहँदा हाम्रै देशको संकटकालिन युद्धको सम्झना आउँछ । सावित्री श्रेष्ठले आफ्नो बेपत्ता दाइको खोजीमा र सोही मुद्दामा गरिएका अथक प्रयास र पाएका दुखहरु समेटेर लेखिएको पुस्तक “पिडाका पाँच हजार दिन’’, दैलेखका पत्रकार डेगेन्द्र थापाको युद्धकालमा बेपत्ता पारिएपछि उनको खोजीमा उनकी पत्नीले गरेको साहसिक यात्राको सम्झना होस या २०४५ सालमा राज्य संयन्त्रबाट रचिएको भक्तपुर काण्डको सम्झना होस्—पुस्तक पढ्न सुरु गरेदेखी अन्त्यसम्म यी सम्झनाहरु झलझल्ती आइरहन्थे ।
यी त नेपाली समाजका प्रतिनिधि पात्र/घटनामात्र हुन्, नेपाली समाजमा पनि कैयौँ राजनहरु युद्धकालीन समयमा केही राज्य पक्षबाट, केही सशस्त्र समुहबाट बेपत्ता पारिए । र, त यो पुस्तक आफ्नै समाजको बर्बरता को कथा बन्न पुग्यो ।
आज हाम्रै हृदयको कारुणिक हुन गयो । आफ्नो छोराको खोजीमै सारा जीवन बिताउनु पर्दाको क्षण हामी कल्पना मात्र गर्दा पनि थकित हुन्छौँ । तर राजनका बाबुका लागि यो कल्पना थिएन ।
राज्यसत्ता सँग एक्लै निहु खोज्नु चान्चुने कुरा थिएन । यो आँट र साहस कैयौँ न्यायप्रेमिहरुका लागि प्रेरणादायी हुन पुगेको छ । राज्यसत्ताबाट हुने दमन, अन्याय अत्याचार, शोषण र सबै प्रकारका विभेदका विरुद्ध साहस गरी बोल्न र प्रश्न गर्नलाई यो पुस्तकले उर्जा दिएको छ ।
यो पुस्तक कुनै साहित्यकारले आफ्नो कल्पनाभित्र डुबेर रचना गरिएको काल्पनिक कथा वा उपन्यास होइन त काव्यिक कलाले सिंगारिएको फिक्सन नै हो । यो त आफ्नो छोरा राजनलाई बेपत्ता पारिएपछि बाबू टि.भि. इएचारा भारिएरले रगत, पसिना र सुस्केराले लेखिएको हृदयविधारक कथा हो।
हिंस्रक राज्यको अमानवीय बर्बरता, चरम अन्याय र अत्याचारका विरुद्ध साहस गरी लेखिएको प्रेमको कथा हो, करुणाको कथा हो, संघर्ष को कथा हो । यो किताबबाट यतिसम्म बुझिन्छ कि शासकहरु रक्षकको पगरी गुथेर भक्षकको भुमिका निर्वाह गर्न समेत पछि पर्दैनन् ।
संसारका काग काला हुन्छन भनेझै संसारका शासहरुको रुप फरक होला तर सार एउटै हो भन्ने कथनबाट हामीलाई पनि बुझ्न र अर्थ लाउन सहज छ ।
कैयौँ इन्दिराहरु हाम्रै समाजमा व्याप्त छन्, अझै निस्किन सक्छन् । त्यसको लागि राजनका बाबुको जस्तो साहस भएका बाबुहरु तयारी रहनु पर्छ । राजनमात्र हरायको थिएन कैयौं राजनहरु बेपत्ता पारिए, कैयौं राजनहरुको विभत्व हत्या गरियो ।
तर सबै सबैका आफन्तहरु, बाबूहरु निरासामा, रोधनमा, आँसुको सागरमा चुर्लुम्ब डुबेर आफ्नै भाग्य सराप्दै नियती ठानेर होस वा राज्यसत्ता सँग डराएर हो चुपचाप भए । हो, राज्यसत्तासँग एउटा व्यक्तिले गर्न सक्ने त केही हैन तर छोराको मृत्युुमा प्रश्न गर्ने हिक्मत राखे । बरु लडेरै थकान बिसाउने यो दृढता राजनका बाबुबाट ग्रहण गर्न सक्नु पर्छ ।
समग्र राज्यसत्ताको बेथिति, अत्याचार, शोषण र दमनका विरुद्ध एकै जनाले समेत औंला उठाउन सकिने रहेछ भन्ने पाठकहरुको मस्तिष्कमा चेतनाको दियो बाल्ने काम गरेको छ ।
यसरी सरल भाषामा यति उत्कृष्ट पुस्तक अनुवाद गर्ने अनुवादक र प्रकाशन प्रति साधुवाद…!









प्रतिक्रिया दिनुहोस्