पहिरो रोकिएपछि तिलगाउँका बासिन्दा घर फर्कने तयारीमा



सुर्खेत । लेदोसहितको पहिरोका कारण विस्थापित भएका हुम्लाको नाम्खा गाउँपालिका वडा नं. ६ को तिलगाउँका बासिन्दा घर फर्कने तयारी गर्दैछन् ।

गएको बिहीवार र शुक्रवार पहिरो खस्न थालेपछि उनीहरु घर छोडेर नजिकैको विद्यालय र त्रिपालमा बसेका छन् ।

अहिले पहिरो खस्न रोकिएपछि उनीहरु घर फर्कने तयारीमा रहेका वडाध्यक्ष पाल्जोर तामाङले उज्यालोलाई जानकारी दिनुभयो । तर ठूला ढुङ्गा र लेदोसहित पहिरो खसेकाले जोखिम कायमै रहेको उहाँको भनाइ छ ।

१८ वटा घरमा रहेका ३२ जना विस्थापित भएका हुन् । वडाध्यक्ष तामाङका अनुसार हिमताल फुटेर लेदोसहितको पहिरो आएको आएको हो ।

आफूसहित गाउँका पाँच जनाको टोली हिजो दिनभर हिँडेर हिमताल फुटेको ठाउँ पुगेको उहाँले बताउनुभयो ।

तिलगाउँ करिब तीन हजार नौ सय मिटरको उचाइमा छ भने हिमताल फुटेको भन्ने ठाउँ पाँच हजार तीन सय मिटरको उचाइमा पर्छ ।

स्थानीयबासिन्दाले हिमताल फुटेर पहिरो खसेको बताए पनि यसबारे पुष्टि हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले उज्यालोलाई बताउनुभयो ।

लेदोसहितको पहिरोले जलविद्युत आयोजनाको भवन, खानेपानीको पाइप, कुलो र बाटो बगाएको स्थानीयबासिन्दाले बताएका छन् ।

प्रकाशित मिति : २०८२ जेठ ५ गते सोमबार