ठाटीकाँधका सबै घरको बीमा गरिने



सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकाका सबै घरधुरीको बीमा गरिने भएको छ ।

प्रदेश सरकारको घरबीमा कार्यक्रम अन्तर्गत रहेर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घरहरुको बीमा गर्ने भएको हो ।

बिहीबार गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत तुल्सीप्रसाद उपाध्याय, वडाध्यक्षहरु, सचिव सबैबिच सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको कर्णाली प्रादेशिक कार्यालयले बीमा सम्बन्धी अन्तरक्रिया समेत गरेको छ ।

कार्यालय प्रमुख राकेश विसीले गाउँपालिकाको समन्वयमा कुनै पनी घरहरुको बीमा नछुट्ने गरी काम गरिने बताए ।

कर्णाली प्रदेश सरकारले प्रतिघर २० लाख सम्मको घरबीमा गर्ने कार्यक्रम ल्याएको छ ।

आन्तरिक मामीला तथा कानुन मन्त्रालयले प्रदेशका दुर्गम गाउँहरुका घरहरुको सुरक्षाको लागि उक्त कार्यक्रम ल्याएको हो ।

७९ वटा पालिकामा प्राविधिक सहयोगका साथै इच्छुक पालिकालाई घर बीमा कार्यक्रममा जोडिन कार्यविधि बनाएर प्रदेश सरकारले पत्राचार गरेको थियो । अहिलेसम्म २३ वटा स्थानीय तहले बीमा कार्यक्रम लागु गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

प्रकाशित मिति : २०८२ जेठ ९ गते शुक्रबार