कांग्रेस नेताको प्रश्नः कर्णाली प्रदेशमा संयुक्त सरकार छ र ?



दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिचको सत्ता सहकार्यमा कर्णालीमा सरकार चलिरहेको छ ।

तीन मन्त्रालयसहित एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री छन् भने चार मन्त्रालय कांग्रेसले सम्हालिरहेको छ ।
तर कर्णालीमा कांग्रेसका नेताहरु संयुक्त सरकार छ र ? भन्दै प्रश्न गरिरहेका छन् ।

कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाका मेयर भइसकेका कांग्रेस सुर्खेत जिल्लाका सचिव देवकुमार सुवेदीले ‘कर्णालीमा संयुक्त सरकार छ र ?’ भन्दै प्रश्न उठाएका छन् ।

वीरेन्द्रनगरकै निवासी कँडेल मुख्यमन्त्री हुँदा सोही ठाउँका पुर्व मेयरले प्रश्न किन उठाए ? उनले खासै खुलाएका भने छैनन् ।
उनले नखुलाएपनि मुख्यमन्त्री कँडेलले आइतबार र सोमबार वीरेन्द्रनगरमा उद्घाटन गरेका दुईवटा सडक योजनासँग सम्बन्धित रहेको बुझिन्छ ।

आइतबार मुख्यमन्त्री कँडेलले वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने फलाटे–रानीघाट खण्डको ७ किलोमिटर सडकको स्तोरन्नतिको कार्य उद्घाटन गरे ।

यस्तै सोमबार वीरेन्द्रनगर नगरपालिका—१४ को छेडा–गढी–लेकगाउँ–कल्याणकाँध सडक स्तरोन्नतिका लागि शिलान्यास गरेका छन् ।

यी दुई सडक वीरेन्द्रनगरका महत्त्वपुर्ण सडक हुन् । यी उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कँडेलले सत्ता साझेदार दलका कुनैपनि सांसद तथा नेतालाई सहभागी गराएनन् । बरु वीरेन्द्रनगर निवासी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सन्तोषी शाहीलाई बोकेर लिए ।

छेडा–गढी–लेकगाउँ–कल्याणकाँध सडक स्तरोन्नतिका लागि शिलान्यासमा मुख्यमन्त्री कँडेल, राप्रपा सांसद शाही लगायत

वीरेन्द्रनगरबाटै कांग्रेसबाट जानकी सिंह प्रदेश सभा सांसद छिन् । तर उनको दुईवटै उद्घाटन कार्यक्रममा उपस्थित देखिएन ।
कांग्रेसका जिल्ला सचिव सुवेदी साझेदार दल भन्दा बाहिरका सांसदलाई मुख्यमन्त्री कँडेलले काखी च्यापेपछि रिसाएको देखिन्छ ।
उद्घाटन कार्यक्रममा कँडेलले राप्रपा सांसद शाहीका अलवा एमालेकै भौतिक पुर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा, राज्यमन्त्री गमता विक, एमालेबाटै निर्वाचित सुर्खेत जिल्ला समन्वय समिति सभापति गंगाराम सुनार, एमालेबाटै निर्वाचित वीरेन्द्रनगरका उपमेयर निलकण्ठ खनाललाई सहभागी गराएका थिए ।

फलाटे–रानीघाट सडकको उद्घाटनमा मुख्यमन्त्री कँडेल, राप्रपा सांसद शाही लगायत

 

प्रकाशित मिति : २०८२ जेठ १३ गते मंगलबार