
राउटे युवतीसँग गुडिरहेको ट्रकमा गलत नियतसहित दुव्र्यवहारपूर्ण भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
उक्त भिडियोका आधारमा दुव्र्यवहार गरिएको भन्दै शनिबार प्रहरीले आठबिस नगरपालिका—३, साइँगाउँका २८ वर्षीय टोपेन्द्र शाहीलाई पक्राउ समेत गरेको छ ।
सुर्खेत प्रहरीको अनुुरोधमा दैलेख प्रहरीले कर्णाली राजमार्ग अन्तर्गत टुनिबगरबाट नियन्त्रणमा लिएर सुर्खेत प्रहरीलाई बुझाएको छ ।
भिडियोमा चारजना राउटे युवतीका बीचमा बसेका शाहीले उनीहरुमाथि दुव्र्यवहार गरेको देख्न सकिन्छ । उनीसँग बस्न राउटे युवतीहरुले असहज मानिरहेका छन् ।
भिडियोमा शाहीले युवतीहरुलाई अंगालो हालेर दुव्र्यवहारपूर्ण शब्द बोलेको छन् । १५ सकेन्ड लामो उक्त भिडियोको अहिले आलोचना भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी, प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार उक्त भिडियो एक वर्षअघिको हो।
विभिन्न स्रोतहरुका अनुसार एक वर्षअघि राउटे दैलेखको पादुका खोलामा बसिरहेका थिए । त्यहाँबाट तल्लो डुङ्गेश्वरमा बसाइ सर्ने क्रममा उनीहरुले आफ्ना सामानहरु ट्रकमा हालेर ल्याइरहेका थिए ।
सोही ट्रकमा पक्राउ परेका ती युवा पनि थिए । त्यही मौकामा उनले भिडियो बनाएको बुझिएको छ । तर उक्त भिडियो अहिले भाइरल बन्यो ।
कतिपयले राउटे युवतीको सोझोपनामाथि खेलबाड गरेको र दुव्र्यवहार गरेको टिप्पणी गरेका छन् ।
पछिल्लो समय राउटे युवतीमाथि गैरराउटेबाट यस्ता घटनाहरु दोहोरिनुले उनीहरु सुरक्षित नभएको सरोकारवालाको भनाइ छ ।
पक्राउ परेका ती युवा टिकटकमा भाइरल युवा हुन् । उनी विगत केही वर्षदेखि भ्लक बनाउने काममा सक्रिय भएको प्रहरीले बताएको छ ।









प्रतिक्रिया दिनुहोस्