बलात्कार आरोपमा वाइएसिल कर्णालीका नेता पक्राउ



बलात्कार आरोपमा नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) का एक नेता पक्राउ परेका छन् ।

रूकुम पश्चिमका ३० वर्षीय रेशम खत्री क्षेत्रीलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो । क्षेत्री वाइसिएलका कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटी ईन्चार्ज हुन् ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका डिएसपी प्रमेश विष्टका अनुसार सानोभेरी गाउँपालिकामा रहेको एउटा होटलबाट उनलाई पक्राउ गरिएको थियो ।

उनीमाथि जाजरकोटकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ । जो अहिले छोरीकी आमा समेत भइसकेकी छन् ।

१७ वर्षकी किशोरीले आफूमाथि क्षेत्रीले जबरजस्ती करणी गरेको भन्दै कार्यालयमा दुई महिनाअघि जाहेरी दिएकी थिइन् ।

मुलुकी अपराध संहिताको दफा २१९ ले कसैले कुनै महिलालाई मञ्जुरीबिना वा १८ वर्ष भन्दा कम उमेरका बालिकालाई मञ्जुरी लिएर भए पनि गरिएको करणीलाई जबरजस्ती करणी मानेको छ ।

ती किशोरीलाई नेता क्षेत्रीले २०७९ चैतमा चौरजहारीको एक होटलमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन् । त्यही घटनाबाट छोरी जन्मिएको भनेर पनि जाहेरीमा उल्लेख गरेको डिएसपी विष्टले बताए ।

क्षेत्रीले आफूलाई गर्भपतन समेत गराउन दबाब दिएपनि आफूले अस्वीकार गरेको बताएकी छन् । छोरीको जन्म भएपछि क्षेत्रीले नै सबै खर्चको व्यवस्थापन गर्ने आश्वासन दिएको र मुद्दा मामिलामा नजान समेत चेतावनी दिएको आरोप छ ।

यस घटनामा दुई महिनाअघि नै जाहेरी परे पनि क्षेत्री फरार थिए । बिहीबार भने गोप्य सूचनाको आधारमा प्रहरीको टोली होटलमा पुगेर उनलाई पक्राउ गरेको डिएसपी विष्टले बताए ।

 

सेताेपाटी

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रबार