
डोल्पाको काइके गाउँपालिका-४, रिवामा गएराति भीषण पहिरो गएको छ। मध्यरातमा आएको पहिरोले करिब ५३ वटा घरमा क्षति पुर्याएको छ भने ८ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन्।
पहिरोले ठूलो भौतिक क्षति पुर्याए पनि कुनै मानवीय तथा चौपायाको क्षति नभएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
प्रहरीका अनुसार, २०८२ असार १३ गते राति करिब १२:३० बजे रिवा गाउँभन्दा करिब ५०० मिटर माथिबाट लेदोसहितको पहिरो खसेको थियो। गाउँलेहरू निदाइरहेको समयमा खसेको पहिरोले स्थानीयका कच्ची घरहरूमा क्षति पुर्याउनुका साथै लगाएको बालीनाली पनि नष्ट गरेको छ।
घटनाको खबर आज बिहान ७:४० बजे प्राप्त हुनासाथ तत्काल उद्धार तथा राहतका लागि सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। प्रहरी चौकी माथिल्लो सहताराबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) राम बहादुर गिरीको कमाण्डमा ८ जना र तल्लो सहरताराबाट प्रसनि हिमाल बि.क.को कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको छ।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म हेडक्वाटर दुनैबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनानि) शंकर बढाथोकीको नेतृत्वमा ११ जनाको टोलीसमेत घटनास्थल पुगिसकेको छ।
घटनास्थल प्रहरी चौकी तल्लो सहरताराबाट करिब दुई घण्टाको पैदल दूरीमा पश्चिममा पर्दछ। सुरक्षाकर्मीको टोलीले स्थानीयसँग मिलेर उद्धार कार्य र क्षतिको पूर्ण विवरण संकलन गरिरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्