कर्णालीमा कांग्रेस सांसदको व्यङ्ग्यः ‘एआईले पनि भेटेन रातो किताबमा कालीकोटको योजना’



कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको तर बजेटमा नसमेटिएको योजना खोज्न आफूले कृत्रिम बौद्धिकता (एआई) को समेत सहायता लिएको तर फेला पार्न नसकेको भन्दै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य हिक्मतबहादुर विष्टले सरकारप्रति कडा व्यङ्ग्य गरेका छन्।

प्रदेश सभामा भौतिक पूर्वाधार र आर्थिक मामिला मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै सांसद विष्टले सरकारले नीतिमा बोलेका कुरा बजेटमा कार्यान्वयन नगरेको भन्दै आक्रोश पोखे ।

आफ्नो धारणा राख्दै उनले भने, “सरकारको नीति तथा कार्यक्रम र बजेट भाषणमा कालीकोट सदरमुकाम मान्मदेखि सुनथराली एयरपोर्ट जोड्ने केबलकार, रोपवे र पोडवेजस्ता पूर्वाधारको सम्भाव्यता अध्ययन गर्ने भनियो। यो सुनेर मलाई खुसी लाग्यो। तर जब मैले बजेटको रातो किताब पाना-पाना पल्टाएँ, त्यो योजना कतै भेटिनँ।”

उनले थप व्यङ्ग्यात्मक शैलीमा भने, “कतै मेरो आँखाले नदेखेको हो कि भनेर मैले हिजो भर्खर सिकेको AI को सहायता लिएँ। मैले AI लाई प्रश्न सोधेँ, ‘मेरो जिल्लाको लागि सम्भाव्यता अध्ययन गर्न के-के कार्यक्रम छन्, मलाई सहयोग गर।’ AI ले पनि ‘तपाईंको जिल्लामा यस्तो कुनै कार्यक्रम छैन’ भनेर उत्तर दियो।”

३२ वर्षपछि निर्माण सम्पन्न भएको सुनथराली एयरपोर्ट पिच भएको दुई वर्ष बित्दा पनि सञ्चालनमा नआएको भन्दै उहाँले जनताको पीडा सदनमा सुनाए । उनले भने, “त्यो एयरपोर्टमा जहाज चल्दैन, अहिले त कलाकारहरूले ‘एयरपोर्टमा कोदो लगाउनुपर्यो’ भनेर गीत बनाइसके। यो हामी राजनीतिकर्मीका लागि लज्जाको विषय बनेको छ। संसद के गफ गर्ने थलो मात्र हो? यहाँ उठेका जनताका आवाजको सुनुवाइ हुनुपर्दैन?”

सांसद विष्टले उक्त योजनाका लागि १ अर्ब १४ करोडको डीपीआर तयार भइसकेको र निजी क्षेत्र लगानी गर्न इच्छुक रहे पनि सरकारले बेवास्ता गरेको आरोप लगाए ।  उनले थपे, “यो योजना बनेमा कालीकोट मात्र होइन, बडीमालिका र त्रिवेणीजस्ता पर्यटकीय स्थलमा पर्यटकको घुइँचो लाग्नेछ र सिङ्गो प्रदेशको राजस्व बढ्नेछ। सरकारले गम्भीरतापूर्वक लिएर यसलाई अघि बढाओस्।”

प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार