बजेट चुहावटदेखि पुलसम्म सरकारको खिल्ली, शर्माले भने- ‘यो दुश्मनी होइन भने के हो?’



कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माले प्रदेश सरकारको बजेट प्रक्रिया र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएका छन्।

आइतबार  उनले बजेटमाथिको छलफललाई ‘कर्मकाण्डी’को संज्ञा दिँदै सरकारले संसदीय सर्वोच्चताको खिल्ली उडाएको आरोप लगाए।

आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले बजेट भाषणअघि नै सूचना चुहिएको विषयमा आक्रोश पोखे।

‘अर्थमन्त्रीले मन्त्रालयबाट सिलबन्दी गरेर पठाएको तर सचिवालयबाट बाहिरियो भन्दै पन्छिन खोजे,’ शर्माले भने, ‘यो गम्भीर विषयमा प्रदेश सभा सचिवालयले कहिले जवाफ दिन्छ? हामीलाई तत्काल जवाफ चाहिन्छ।’

सरकारले प्राथमिकताका योजनामा पूर्वाग्रह र दुश्मनी साँधेको आरोप लगाउँदै शर्माले रुकुम पश्चिमको चौरजहारी र जाजरकोट जोड्ने बेली ब्रिजलाई बेवास्ता गरिएकोमा आपत्ति जनाए। ‘रुकुम र जाजरकोटका जनताको चित्कारमा सरकारले कानमा तेल हालेर बस्यो,’ उनले भने, ‘यो जनताप्रतिको दुश्मनी होइन भने के हो?’

उनले सल्यानको सेनीपिपली पुलका लागि १२ करोडको डीपीआर भए पनि जम्मा २ करोड ५० लाख बजेट छुट्याएर सरकारले योजनामाथि नै ठट्टा गरेको बताए।

‘संसदीय सर्वोच्चता केवल देखाउने दाँत मात्रै भएको छ,’ शर्माले भने, ‘सदनमा उकुसमुकुसको वातावरण छ, जहाँ सांसदहरूले उठाएका गम्भीर विषयमा सरकारले रौं बराबर पनि आत्मालोचना गर्दैन।’

प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार