वीरेन्द्रनगरमै हुँदो रहेछ मुद्दा मिलाइदिने भन्दै पैसाको कारोबारो



कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मुद्दा मिलाइदिने भन्दै पैँसाको कारोबारो हुने गरेको पाइएको छ ।

विभिन्न प्रकरणमा पक्राउ परेकाहरुलाई छुटाउनका लागि दोस्रो व्यक्ति (बिचौलिया) ले आरोपितहरुका परिवारसँग पैँसाका बार्गेनिङ गर्ने गरेका हुन् ।

सुर्खेत प्रहरीले त्यस्ता दुई जनालाई पक्राउ गर्न सफल भएको छ ।

अभद्र व्यवहारको कसुरमा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका प्रतिवादीलाई हिरासतमुक्त गराउन मुद्दा मिलाई दिन्छु भनि आरोपित व्यक्तिको परिवारबाट रु ५० हजार असुली गर्ने गेरुवा गाउँपालिका–३ शान्ति बजार बर्दियाका ४३ वर्षीय कृष्णबहादुर थारु र वीरेन्द्रनगर नगरपालिका १३ सुर्खेत ईन्द्रपुरकी ३४ वर्षीय मुना चन्दलाई प्रहरीले पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

थारु वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतमा डेरामा बस्दै आएका छन् । प्रहरी प्रमुख शाहीका अनुसार आरोपित थारु र चन्दले अभद्र व्यवहारका कसुरदारका परिवारलाई प्रहरी प्रशासन मिलाउनुपर्छ अन्यथा तपाईको मान्छे जेल जान सक्छन् भनि अपराधिक लाभ तथा असुली गर्ने उद्देश्यले रु ५० हजार मागेका थिए ।

दुवैले बेइमानीपूर्वक आर्थिक लाभ उठाइ आपराधिक लाभ लिएको कसुरमा सम्मानित अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको उनले बताए ।

प्रकाशित मिति : २०८२ असार १९ गते बिहीबार