
सुर्खेतको वीरेन्द्रनगरस्थित वीरेन्द्रचोकमा जडान गरिएको ट्राफिक लाइट औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले बुधबार एक कार्यक्रमबीच उक्त लाइटको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतलाई हस्तान्तरण गरेकी छिन् ।
लाइट सञ्चालनमा आएसँगै वीरेन्द्रचोकमा हुने सवारी चाप व्यवस्थापन सहज हुने र दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख ढकालले ट्राफिक लाइटले सडक सभ्यता विकास गर्न र यात्रा सुरक्षित बनाउन मद्दत पुग्ने बताइन् ।
नगरपालिकाले शहरी यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन अन्य योजनाहरू पनि अघि बढाएको छ । यसै वर्षदेखि मंगलगढी चोकमा आकाशे पुल निर्माण कार्य सुरु भइसकेको छ ।
साथै, मंगलगढी, एयरपोर्ट र यरिचोकमा पनि ट्राफिक लाइट जडानका लागि सडक विभागले ठेक्का प्रक्रिया अघि बढाएको नगरपालिकाले जनाएको छ ।
नगरका अन्य आवश्यक स्थानमा पनि क्रमशः लाइट जडान गर्दै जाने योजना रहेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्