
पढाउने बहानामा सुर्खेतबाट चितवन पुर्याइएका २१ बालिकाहरूलाई चितवन प्रहरीले उद्धार गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडा कार्यालयहरूको सिफारिसमा ‘आमाको काख’ नामक एक दर्ताविहीन संस्थाले ती बालिकाहरूलाई चितवन पुर्याएको थियो ।
भरतपुर महानगरपालिका र प्रहरीले अनुगमन गर्दा उक्त संस्था अवैध रूपमा सञ्चालन भएको र बालिकाहरूलाई राख्न न्यूनतम पूर्वाधारसमेत नभएको पाइएपछि मङ्गलबार उनीहरूको उद्धार गरिएको हो ।
अधिकांश बालिकाहरू विपन्न वादी, दलित तथा जनजाति समुदायका छन् र उनीहरू सबैका अभिभावक छन् ।
वडा कार्यालयहरूले राम्रो मनसायले पढाउनका लागि सिफारिस दिएको बताए पनि अनुमतिविना बालबालिका ओसारपसार गर्नु गम्भीर अपराध भएको बाल अधिकारकर्मीहरु बताउँछन् ।
प्रहरीले संस्थाकी सञ्चालक पवित्रा रिजाललाई नियन्त्रणमा लिएको छ । रिजालले दाताको सहयोग पाउने आशामा बालिकाहरूलाई ल्याएको बयान दिएकी छन् ।
प्रहरीले बालिकाहरूलाई उनीहरूको परिवारमा फिर्ता पठाउने तयारी गरिरहेको छ भने घटनालाई आन्तरिक ओसारपसारको रूपमा समेत अनुसन्धान अघि बढाएको छ ।









प्रतिक्रिया दिनुहोस्