कोहलपुरमा मिडिया हाउसको आवरणमा नक्कली नोटको कारखाना, १३ लाख नक्कली नोट र ३० किलो अफिमसहित ५ जना पक्राउ



प्रहरीले सुर्खेत, बाँके र जाजरकोटमा गरेको एक बृहत् कारबाहीमा नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने ठूलो गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीले बाँकेको कोहलपुरमा एक मिडिया हाउसको आवरणमा सञ्चालित नक्कली नोट छाप्ने कारखानासमेत फेला पारेको छ ।

उक्त कारबाहीका क्रममा प्रहरीले १३ लाख बराबरको नक्कली नेपाली नोट, ३० केजीभन्दा बढी अफिम र नोट छाप्न प्रयोग हुने उपकरणसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार, घटनाको सुरुवात सुर्खेतबाट भएको थियो ।

सोमबार वीरेन्द्रनगर–१०, शान्ति टोलमा जाजरकोटकी २२ वर्षीया दिलमाया सिंह ठकुरीले नक्कली नोट चलाइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले उनलाई १ हजार दरका ६ थान नक्कली नोटसहित पक्राउ गरेको थियो ।

दिलमायामाथिको अनुसन्धानबाट प्रहरी जाजरकोटकै ३३ वर्षीय राम बहादुर सिंहसम्म पुग्यो । उनीहरुको डेरा कोठामा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा १ हजार दरका १२ लाख ३६ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भयो ।

यस गिरोहको जालो खोज्दै जाँदा प्रहरीले मंगलबार सुर्खेतकै भेरीगंगा नगरपालिका–१२ मा डेरा गरी बस्ने जाजरकोटका ३५ वर्षीय कृष्ण बहादुर वली र ३८ वर्षीय प्रेम बहादुर विकलाई पक्राउ गर्‍यो। उनीहरुको कोठाबाट प्रहरीले ११ किलो ३७२ ग्राम अफिम बरामद गरेपछि घटनाले नयाँ मोड लिएको थियो ।

नक्कली नोट र अफिम दुवैको अनुसन्धानलाई तीव्र बनाउँदै जाँदा प्रहरी गिरोहका मुख्य नाइकेसम्म पुग्न सफल भयो। कालीकोट घर भई हाल बाँकेको कोहलपुर–११ मा ‘जनगर्जन नेटवर्क प्रालि नामक मिडिया हाउस चलाएर बस्ने ३४ वर्षीय मन बहादुर सहकारी नै यस कारोबारका मुख्य योजनाकार भएको खुल्यो ।

प्रहरीले सहकारीको मिडिया हाउस र डेरामा छापा मार्दा थप ५१ हजार बराबरको नक्कली नोट, १९ किलो ३०० ग्राम अफिम र नक्कली नोट छाप्न प्रयोग हुने क्यानन प्रिन्टर, सीपीयू, मनिटर, क्यामेरा लगायतका उपकरणहरू बरामद गरेको छ ।

पक्राउ परेका सबैलाई लागुऔषध (अफिम), मुद्रा सम्बन्धी कसूर र संगठित अपराधमा मुद्दा चलाएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूः

१. दिलमाया सिंह ठकुरी, २२ वर्ष, जाजरकोट
२. राम बहादुर सिंह, ३३ वर्ष, जाजरकोट
३. कृष्ण बहादुर वली, ३५ वर्ष, जाजरकोट (हाल सुर्खेत)
४. प्रेम बहादुर विक, ३८ वर्ष, जाजरकोट (हाल सुर्खेत)
५. मन बहादुर सहकारी, ३४ वर्ष, कालीकोट (हाल कोहलपुर, बाँके)

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार