
सुर्खेत । सीताकुमारी खाम्चा, लेकबेशी नगरपालिका–९, को जनअपेक्षा सहकारी संस्थाको एक सक्रिय सदस्य हुन् । पढेर जागिर खाने उनको सपना थियो, उनको । तर परिवारको दबावमा कक्षा १० मा पढ्दै गर्दा छिमेकी गाँउका सन्तोष खाम्चासँग उनको विवाह भयो ।
विवाह पश्चात उनले स्कुल छाड्नि, सपना टुट्यो । उनका श्रीमान सन्तोषले पढाइ छाडिसकेका थिए ।
परिवारकै दबावमा १२ वर्षकै उमेरमा विवाह गरेकी उनी र उनको परिवारलाई असफला नै असफलताले लपेटिरह्यो ।
सहरमा होटेलदेखि फेन्सी पसलमा समेत असफलतापछि पुनः गाउँ फर्केर व्यवसायिक पशुपालनमा रमाइरहेकी छन्, सीताकुमारी अहिले ।
पशुपालनबाट नै मासिक लाखौं आम्दानी गरिरहेकी उनको संघर्षको कथा कम प्रेरणादायक छैन ।
होटेलमा असफलता
सीताकुमारी स्कुलमा पनि अब्बल थिइन् । तर उनको पढेर सरकारी जागिर खाने सपना विवाह पश्चात टुट्यो । त्यसपछि उनको परिवारमा सल्लाह भयो, वीरेन्द्रनगरका गएर होटेल व्यवसाय गर्ने । ०५८ सालतिरको कुरा हो, उनको परिवार वीरेन्द्रनगरमा आयो ।
बसपार्क नजिकै सन्तोष नास्ता पसल चलाउन सुरु गरे । त्यो समय द्धन्द्धको थियो । सुरु–सुरुमा त होटल राम्रै चलेको थियो ।

भैँसीको रेखदेखमा सीताकुमारी खाम्चा
संकटकाल सुरु भइसकेपछि मान्छेको आवात–जावतमा कमी आउन थाल्यो । त्यसपछि दिनप्रतिदिन व्यवसाय चल्न छाडेको उनी बताउँछन् ।
‘बिस्तारै व्यापार घट्दै जाँदा घरभाडा तिर्न धौ–धौ हुन थाल्यो,’सीताकुमारी ती दिन सम्झिन्छन्, ‘अन्तिममा केही सीप नलागेपछि हामीले होटलमा भएको सामान बिक्री गरेर गाउँ फर्कियौँ ।’एउटा सपना देखेर सहर पसेको परिवार पूनः ती सपनाहरु सहरतिरै छोडेर गाउ फर्कनु पर्दा निकै पीडा थियो, उनको परिवालाई ।
उनले भनिन्, ‘वीरेन्द्रनगर आउँदै गर्दा मलाई लागेको थियो अब के गाँउ फर्किनु यतै घरजग्गा जोडेर बस्नुपर्ला तर समयले त्यसो हुन दिएन ।’ सीताको परिवार गाउँ फर्केर आफ्नो परम्परागत खेतीपातीमै केन्द्रित हुन्छ । तर त्यहाँबाट गुजारा चलाउन निकै सकस हुन्छ ।

खाम्चाको गोठमा रहेका भैँसीहरु
व्यावसायिक खेती गर्नका लागि न सिँचाइको सहज सुविधा थियो, न कुनै आइडिया । परम्परागत रुपमा गरिने खेतीपातीले वर्षभरी परिवारको हातमुख जोर्न पनि धौधौ हुने गरेको उनी बताउँछन् ।
त्यसपछि गाउँमा ऋण जोडेर लेकबेशी नगरपालिका–९ को स्थानीय गंगटे बजारमा फेन्सी पसल सञ्चालनमा ल्याएको उनले बताइन् ।
खाम्चा परिवारलाई फेन्सी पसलमा पनि सफल्ता मिल्दैन । माओवादी द्धन्द्धले गर्दा होटेल व्यवसायमा असफल भएका उनीहरुले कोरोनाले गर्दा फेन्सी पसलमा पनि सफलता पाउन सकेनन् ।
फेन्सी पसलमा पनि असफलता
खाम्चा परिवारलाई फेन्सी पसलमा पनि सफल्ता मिल्दैन । माओवादी द्धन्द्धले गर्दा होटेल व्यवसायमा असफल भएका उनीहरुले कोरोनाले गर्दा फेन्सी पसलमा पनि सफलता पाउन सकेनन् । सीताका अनुसार फेन्सी पसल केही वर्ष राम्रै चलेको थियो ।
त्यही बीचमा ०७६ सालबाट कोरोना भाइरसको कहर सुरु भयो । कोरानाबाट जोगिन मान्छेहरु सावधानी अपनाउन सुरु गरे र, सरकारले लकडाउनको घोषणा गर्यो । बजार तथा पसलहरु बन्द गर्न लगाइयो ।
मान्छेको आवत–जावत पुर्ण रुपमा बन्द भएपछि व्यवसाय चौपट भएको उनले बताइन् ।
‘पसल चल्न छाड्यो, भाडामा संचालन गरेको पसल बन्द हुँदा पनि घरभाडा तिर्नुपर्ने अवस्थाले फेरि ऋणमा डुब्यौँ,’सीता भन्छिन्, ‘पुनः हामीले पसल बन्द गर्नुपर्ने बाध्यता आयो ।’

खेतबारीमा काम गर्दै सीता
उनीहरु पुनः गाउँमै परम्परागत खेतीमा निर्भर हुन थाले । फेन्सी सञ्चालन गर्दा आफन्तजनसँग ऋण मागेर करिब चार लाख लगानी गरेका थिए, खाम्चा परिवारले ।
पटक–पटक नयाँ उमङ्ग र आशा बोकेर सङ्घर्षमा हिँड्दा पनि असफलता नै असफलता हात लागेको भन्दै ती दिन सम्झिँदा सीता निराश हुन्छिन् ।
..जब कृषि क्षेत्र विकास कार्यक्रम गाउँमा गयो
जसोतसो गरी सञ्चालन गरेको होटल व्यवसाय र फेन्सी पसल बन्द गर्नुपरेपछि गाँउ फर्किनुपरेपछि सबै आशाहरु मरेको सीताको परिवारमा नयाँ मोड आयो, जब कृषि क्षेत्र विकास कार्यक्रम गाउँमा गयो ।
कृषि मन्त्रालय अन्तर्गतको कृषि क्षेत्र विकास कार्यक्रमले व्यावसायिक कृषि र पशुपालन सम्बन्धी साक्षरता तालिम दियो । त्यही तालिममा सहभागी भएपछि सीताको परिवारमा मरिसकेको आशा फर्केर आयो । उनी जनअपेक्षा सहकारी संस्थामा आबद्व भइन् ।
सुरुमा २ वटा भैँसीबाट व्यवसाय सुरु गरेकी उनको फर्ममा अहिले १३ भैँसी, तीन वटा गाई छन् । १३ मध्ये ८ वटा भैँसी, ४ वटा पाडा, १ राँगो छन् । ८ मध्ये पाँचवटा भैँसी दुहुनो छन् ।
कृषि क्षेत्र विकास कार्यक्रमसँगको सह–लगानीमा जनअपेक्षा सहकारी संस्था मार्फत उनले भैसीपालन व्यवसाय गर्न गरिन् । कृषि क्षेत्र विकास कार्यक्रम मार्फत भकारो सुधार, घाँस काट्ने मेसीन सहयोग तथा तालिममा सहभागी भए पश्चात सुरुमा दुई वटा भैँसी पाल्न थालिन ।

भैँसी फार्ममा काम गर्दै सीताका श्रीमान सन्तोष खाम्चा
०७९ सालमा आफ्नै नाममा सीता कृषि तथा पशुपंक्षी फर्म गरिन् । सुरुमा २ वटा भैँसीबाट व्यवसाय सुरु गरेकी उनको फर्ममा अहिले १३ भैँसी, तीन वटा गाई छन् । १३ मध्ये ८ वटा भैँसी, ४ वटा पाडा, १ राँगो छन् । ८ मध्ये पाँचवटा भैँसी दुहुनो छन् ।
प्रतिदिन बिहान र साँझ गरी करिब ३० लिटर दुध उत्पादन गर्छिन्, उनले । प्रतिलिटर ६३ रुपैयाँको दरले वीरेन्द्रनगर सहकारी संस्थाले संचालन गरेको दुग्ध डेरीमा बिक्री हुन्छ, उनको दुध ।
दुध बेचेर अहिले मासिक १ लाखदेखि १ लाख ५० हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । उनी भन्छिन्, ‘आइडिया नभएपछि लगानी भएर मात्र नहुँदो रहेछ । होटेल र फेन्सी पसल गर्दा बिना रणनीति लगानी गरेका थियौँ । सानो साक्षरता तालिमले अहिले निकै सहजता भएको छ ।’
अहिले उनको परिवार मालामाल छ । दुध बेचेकै रकमबाट अटो खरिद गरेकी छन्, उनले—जो उनको श्रीमानले चलाउँछन् । सन्तोषले अटोसँगै सीतालाई पनि सघाउँछन् । सासु–ससुरा, आफु, श्रीमान, २ छोरी र १ छोरो गरी ६ जनाको परिवार सङ्ख्या छ, उनको ।
सबै घरखर्च छाडेर मासिक ८०–९० हजार रुपैयाँ उनीहरु बचाउँछन् । आफुले गरेको व्यवसायप्रति पूर्ण रुपमा सन्तुष्ट भएको र यसलाई व्यवस्थित गर्दै अझ बढवा दिने योजना छ, सीताको । यो वर्षमा मात्र करिब १५ लाख लगानी गरी गोठ निर्माण गरेका गरेको उनले बताइन् ।

अबको १ वर्षभित्र ६५ वटा भैँसी पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ । यसको लागि कृषि विकास बैङ्कसँग ५० लाख सहुलियत कृषि ऋण स्वीकृत भइसकेको छ । अहिले पहिलो किस्ता वापत २८ लाख लगिसकेको र बाँकी प्रक्रियामा छ ।
सीतालाई घाँसपातको कुनै समस्या छैन । आफ्नै बारीमा टन्नै छ । भैँसीपालन व्यवसायकै लागि आफनो २५ कठ्ठा जग्गामा घाँस खेती गरेकी छन् ।
दुध बेचेर अहिले मासिक १ लाखदेखि १ लाख ५० हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ ।
गंगटेमा १ बिगाहामा नेपिएर घाँस खेती गरेको उनले बताइन् । कृषि क्षेत्र विकास कार्यक्रमको सहयोगमा गाउँमा सिँचाइ कुलो समेत बनेको छ, अहिले । घाँसखेती बाहेक अरु जमिनमा अन्नबाली पनि राम्रै उत्पादन हुन थालेको छ ।
उनी भन्छिन्, ‘कुनै बेला जति दुख गरेपनि गुजारा चलाउन समस्या हुन्थ्यो, अहिले उत्पादन भएको अन्नबालीले परिवारलाई खान पुगेर बाँकी रहेको ४०–४५ मुरी अन्न बेच्ने गरेका छौँ ।’
कृषि क्षेत्र विकास कार्यक्रम अन्तर्गत जनअपेक्षा सहकारी संस्थासँगको सहलगानीमा संचालित वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता सम्बन्धी ४० दिने कक्षामा सहभागी भएर व्यक्तिगत, घरायसी र आफ्नो व्यवसायमा आवश्यक आम्दानी, खर्च व्यवस्थापन गर्ने तरिकाका बारेमा जानकारी पाएपछि आफ्नो जीवनमा परिवर्तन आएको उनको भनाइ छ ।
‘आम्दानी गर्नुमात्र नभइ अनावश्यक खर्च कटौती गरी लगानी गर्नु महत्वपूर्ण हुने कुरा थाहा भयो,’उनी भन्छिन्, ‘अहिले आएर व्यवसायको आम्दनी र खर्चको हिसाब गर्न सक्ने भएकी छु । वित्तिय कक्षामा संचालन गरिएको पोषण कक्षाले खानपानमा सुधार भएको छ ।

सीताकुमारी खाम्चा
पोषण कक्षामा सहभागी भएपछि घरमा पोषण बगैचा निर्माण गरेकी छु ।’ कृषि क्षेत्र विकास कार्यक्रममार्फत निर्माण गरिएको कोलखोला सिँचाइ कुलोले उनी लगायत अन्य स्थानीयको सिँचाइको समस्या समाधान भएको छ ।
खेतीपातीको लागि आकाशे पानीमा भर पर्नुपर्ने किसानको समस्या अहिले हटेर जानुका साथै समयमै सिँचाइ भएपछि उत्पादनमा वृद्धि भएको छ ।
उनी भन्छिन्, ‘कृषि क्षेत्र विकास कार्यक्रमको सहयोग पश्चात अहिले आएर मेरो परिवारको जीवनशैली बदलिएको छ, खुसी छु । पढन सकिएन त के भो एउटा सफल कृषक बनेर पहिचान कमाएकी छु ।’









प्रतिक्रिया दिनुहोस्