कर्णालीमा मुख्यमन्त्रीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता, अब्बल प्रगति हासिल गर्न निर्देशन



कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्ष (०८२/८३) सुरु हुने दिनमै मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा कडेलसँग मन्त्रीहरु तथा प्रमुख सचिवले कार्यसम्पादन सम्झौता गरेका हुन् ।

प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ मा सम्बन्धित मन्त्रालयलाई तोकिएको क्षेत्राधिकार भित्र रहेर कार्यसम्पादन गर्ने गरिएको छ ।

सोही अनुसार चालु आर्थिक वर्षको विनियोजित बजेटलाई नतिजामुखी तथा प्रभावकारी बनाउन आर्थिक वर्ष सुरु भएकै दिन मुख्यमन्त्रीले मन्त्रीहरु र प्रमुख सचिवबिच कार्यसम्पादन सम्झौता गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री कडेलसँग आर्थिक योजना मन्त्री राजीवविक्रम शाह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेशकुमार अधिकारी र प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कार्यसम्झौता गरेका थिए ।

माथिल्लो निकायलाई आफनो जिम्मेवारी र जवाफदेहितासहित मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गर्नु परेको मुख्यमन्त्री कँडेलले बताए ।

माथिल्लो निकाय जिम्मेवार र जवाफदेही बन्दा त्यसको प्रभाव तल्लो तहसम्म जाने र त्यसले कार्यसम्पादनसँगै जवाफदेही बनाउने हुँदा प्रदेश सरकारको माथिल्लो तहबाट कार्यसम्पादन सम्झौता गरिएको बताए । उनले भने, ‘लोकतन्त्रमा माथिल्लो तह जति जिम्मेवार हुन्छ, त्यो सबैको लागि अनुकरणीय हुन्छ ।’

कँडेलले कार्यसम्पादन सम्झौतामा उल्ल्लेख गरेका विषयहरुलाई मन्त्रालयले वार्षिक क्यालेण्डर बनाएर लागू गर्न मन्त्रीहरुलाई निर्देशन दिए । उनले भने, ‘अहिले तपाईसँग गरिएको कार्यसम्भौतालाई आधार बनाएर आफना सचिवहरुसँग परिणाम आउने गरि कार्यतालिकासहितको कार्यसम्पादन सम्झौता गर्नुहोस ।’

नागरिकबाट समर्थन पाउने गरि आफना कामकारवाही सम्पन्न गर्न पनि मन्त्रीहरुलाई निर्देशन दिए । उनले भने, ‘तपाईंहरुको कार्यसम्पादन नै जनताबाट पाउने जनसर्मथन पाउने आधार हो, अनुहार हेरेर जनसमर्थन प्राप्त हदैन ।’

अब मन्त्रीहरुले मातहतका सचिव र सचिवले कार्यालय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्नेछन् ।

प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार