
लामो समयदेखि विभिन्न अवरोधका कारण रोकिएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्यले अन्ततः गति लिएको छ ।
बाँकेको बैजनाथ र सुर्खेतको सुब्बाकुनामा देखिएका जग्गा विवाद समाधानको चरणमा प्रवेश गरेसँगै आयोजना निर्माणले तीव्रता पाउने भएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलका अनुसार, आयोजनाअन्तर्गत बाँकेको बैजनाथमा लामो समयदेखि रोकिएको तीनवटा टावर निर्माणको काम तत्काल सुरु हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेले स्थानीयवासीको जग्गाको मूल्याङ्कन टुङ्ग्याएर क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढाएपछि निर्माणको बाटो खुलेको हो ।
यस्तै, सुर्खेतको सुब्बाकुनामा दुईवटा टावरको फाउन्डेसन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले जग्गा प्राप्ति र क्षतिपूर्ति सम्बन्धी काम अघि बढाएको छ । सोही स्थानमा निर्माणधीन सबस्टेसनको काम पनि लगभग अन्तिम चरणमा पुगेको छ ।
यसका साथै, सुर्खेतदेखि दैलेखसम्म १३२ केभी प्रसारण लाइन विस्तारको काम पनि सुरु भइसकेको छ, जसले कर्णालीका अन्य जिल्लामा समेत विद्युत पहुँच सहज बनाउने अपेक्षा गरिएको छ ।
मुख्यमन्त्री कँडेलले सबै पक्षको निरन्तर फलोअप, दबाब र सहजीकरणले गर्दा कर्णालीवासी १३२ केभी प्रसारण लाइनको पहुँचको नजिक पुगेको जानकारी गराएका छन् ।
उनले भने, “अनियमित विद्युतका कारण सास्ती भोगिरहेका कर्णालीवासीका लागि १३२ केभी प्रसारण लाइन ’लाइफ लाइन’ हो। हामी सबैको प्रयासले यो सम्भव हुँदैछ ।’’
उनले आयोजना पूर्ण रूपमा सम्पन्न नहुन्जेल आ–आफ्नो ठाउँबाट निरन्तर समन्वय र सहजीकरणका लागि सबैलाई आग्रहसमेत गरेका छन् ।
यो प्रसारण लाइन निर्माण सम्पन्न भएपछि कर्णाली प्रदेशमा हाल देखिँदै आएको अनियमित र न्यून भोल्टेजको विद्युत् समस्या समाधान हुने विश्वास लिइएको छ ।









प्रतिक्रिया दिनुहोस्