‘भयभीत हुनुपर्ने अवस्था छैन, सुधारको यात्रा साझा हो’



कतिपय माननीय सदस्यज्यूहरुले मिति समेत तोकेर कतिपय विषयहरु यहाँ उठाउनु भएको एउटा अवस्था छ। प्रदेश सभामा काम विशेषले अलि विलम्ब भएको हुनाले त्यसलाई पनि आधार बनाएर म सविस्तार ती विषयमा जानुपर्ने भएपनि म त्यतातिर नगइकन संक्षिप्तमा केही विषयमा आफ्ना केही भनाइहरु यहाँ राख्न चाहन्छु ।

नेपालको राजनीतिक घटनाक्रममा विभिन्न किसिमका राजनीतिक सहयात्राहरु भइरहेको एउटा अवस्था छ । म राम्रोसँग त्यसलाई हेक्का पनि छ र ध्यान दिएको पनि अवस्था छ । दुई प्रतिस्पर्धी राजनीतिक पार्टी देशको अवस्था र स्थितिलाई आफ्नो तर्फबाट गम्भीरतापूर्वक महसुस गरेर सहयात्रामा छन् ।

दुवै सहयात्राका व्यक्ति विशेषलाई त्यो कुरा के लागिरहेको छ, त्यो व्यक्तिको कुरा रह्यो । यो सहयात्रामा रहेका दुइटै राजनीतिक पार्टीहरुले बेलाबखतमा आफ्नो संगठनात्मक संरचनाको बैठक गर्दा समस्याका बाबजुद यो यात्रालाई अगाडि बढाउने कुरा निष्कर्ष निकालेको अवस्था छ । त्यसकारणले यो निष्कर्षलाई प्रभाव पार्ने प्रयास यसको स्थापनाकालदेखि निरन्तर रुपले जारी रहिरहेको अवस्था छ ।

यसको मूल्यांकन पनि भइरहेको छ, जनस्तरबाट टिप्पणी पनि भइरहेको एउटा अवस्था छ । दुइटा ठूला पार्टी मिल्दा सेवा प्रवाहमा जुन गतिका साथ सुधार हुनुपथ्र्यो, भइरहेको छैन भनेर कतिपय जनगुनासाहरु पनि रहिरहेका छन् । त्यसलाई हामीले गम्भीरतापूर्वक लिनुपर्ने एउटा अवस्था रहन्छ । तर विगतको भन्दा समस्याका बाबजुद केही राजनीतिक स्थिरता कायम गरेर हाम्रो मुलुक अगाडि बढिरहेको एउटा अवस्था छ । यस अर्थमा बुझ्दा हामी एउटा ठाउँमा पुग्न सक्छौँ। यो राष्ट्रिय दृष्टिकोणबाट अलि पर रहेर आफूकेन्द्रित कुरा गर्न सकियो भने अर्को निष्कर्षमा पनि पुग्न सकिने एउटा अवस्था रहन्छ । मलाई लाग्छ त्यो कुरालाई हेक्कामा राखेर प्रदेश सरकार अगाडि बढ्ने कुरा छ नै ।

त्यसमा कति राख्न सकियो, राख्न सकिएन, सम्बद्ध ठाउँमा छलफलको विषय बन्छ नै, बनाइने नै कुरा रहने स्थिति रहन्छ । तर कतिपय विषयहरु सार्वजनिक हुँदा, केही विषयहरु बोल्नु, त्यो दायित्व र कर्तव्यभित्र रहने एउटा परिस्थिति रहँदो रहेछ। यति मात्रै यो सन्दर्भमा म राख्न चाहन्छु ।

हाम्रा बीचमा एउटै पार्टीमा त दलीय व्यवस्था सञ्चालन गर्दा थरीथरीका कुराहरु आइरहेको एउटा अवस्था छ । एकआपसमा हामी प्रतिस्पर्धी छौँ । वर्तमान अवस्था, स्थिति र दायित्वमा हामी एक ठाउँमा उभिएको एउटा अवस्था छ। कतिपय कुराहरु हाम्रा आ–आफ्ना कुराहरु छन् । कहिलेकाहीँ त्यो पनि प्रकट हुन्छ होला । मलाई लाग्छ, त्यसलाई जसले जिम्मेवारीमा रहिरहेको छ, त्यसले गम्भीरतापूर्वक अगाडि बढाउनुपर्ने एउटा परिस्थिति रहन्छ ।

दोस्रो कुरा, अहिले बाहिर पनि र प्रदेश सभामा पनि सांगठनिक संरचनाका सम्बन्धमा सरकारले जे प्रतिवेदन प्राप्त गरेको छ, त्यसका आधारबाट पनि धारणा र दृष्टिकोण बनाउनुभएको एउटा अवस्था छ । म कसैको प्रश्नमा उत्तर होइन, आफ्नो तर्फबाट सरकारले भएगरेको कामको सन्दर्भमा कुरा यो हो है भनेर भन्नु आफ्नो कर्तव्य ठानेर केही कुरा राख्न चाहन्छु ।

यद्यपि यो भन्दा अगाडिका सन्दर्भ गाँसेर, त्यो सांगठनिक संरचना बनाउनका निम्ति मन्त्रिपरिषद्ले बनाएको कमिटीका बारेमा पनि यो प्रदेश सभामा जानकारी गराएकै विषय हो । प्रदेश सभा बनिसकेपछि यो कुनै नयाँ विषय थिएन । योभन्दा अगाडि पनि यो विषयमा हात हालेको अवस्था देखिन्छ । ती विषयमा कुनै सरकारले खर्च गरेको देखिन्छ । त्यसका पनि रिपोर्टहरु होलान्, छन् नै जस्तो लाग्छ ।

तर विगतको भन्दा यसचोटि के गरियो त भन्दा, यो बुझेर यसलाई सबैका निम्ति सार्वजनिक गर्ने काम चाहिँ हामीले गर्‍यौँ । कुनै यो लुकाउनुपर्ने कुरा थिएन । यो त्यो तहको हामीलाई निर्णयार्थ र कार्यार्थ दिएको प्रतिवेदन होइन। हामीले त्यसलाई ग्रहण गर्‍यौँ र कार्यान्वयनको एउटा संरचना निर्माण गर्‍यौँ ।

माननीय सदस्यज्यूहरुले पनि पक्कै पनि त्यसको अध्ययन गर्नुभएको एउटा अवस्था छ। हामीलाई अहिलेको अवस्थामा जे–जे उपयुक्त लाग्छ, ती कुराहरु कार्यान्वयन गर्ने कुरा हो। जे कुरा राम्रा भए पनि अनुपयुक्त हुन्छन्, त्यो प्रतिवेदनको सम्पत्तिको रुपमा रहने कुरा रह्यो।

कुनै पनि विषयमा सहमत, असहमत हुन सकिन्छ, आलोचनाहरु हुन सक्छ तर एकदम यसले नै भयभीत बनाएको जस्तो गरी चित्रण गर्ने जुन कुरा भइरहेको छ, मेरो तर्फबाट म अनुरोध र आग्रह गर्न चाहन्छु, त्यस्तो भयभीत हुनुपर्ने अवस्थाको तहमा पुगेकै अवस्था छैन।

प्रारम्भमा मन्त्रीज्यूको अध्यक्षतामा एउटा कमिटी बनाइयो, त्यो पनि यो सदनलाई जानकारी गराएकै विषय थियो। मलाई लाग्छ, अहिले सहकार्य गरेको दलसँगको यात्रापछि हामीले त्यो निर्णय गरेको एउटा अवस्था थियो। विभिन्न कारणले त्यो प्राविधिक विषय र दक्ष, कतिपय अनुभव र ज्ञानसँग विषय भएको कारणले गर्दा विज्ञ रहेको एउटा समिति बनाउने सरसल्लाहमा पुगियो। त्यो सरकारले निर्णय गर्‍यो। त्यसले काम गरेर एउटा प्रतिवेदन दिएको एउटा अवस्था छ।

यस्तो लाग्यो कि माननीय सदस्यज्यूहरुले गम्भीरतापूर्वक नै ध्यानाकर्षण गराउनका लागि भन्नुभएको होला भन्ने अर्थमा नै बुझिरहेको छु कि, भोलि साउन १ गते हो, साउन १ गतेदेखि नै कतिपय मान्छेहरुको बिदाबारी गर्ने गरी आएको छ।  यसको जवाफ त त्योभन्दा अगाडि नै चाहियो भन्ने जस्तो तहसम्मको बुझाइ जो साथीहरुले राख्नुभयो, त्यो तथ्यसँग मिल्दैन। कुनै पनि स्थायी साथीहरु यो प्रतिवेदनका आधारबाट बाहिर जानुपर्ने अवस्था छैन, हुँदैन, व्यवस्था गरिँदैन।

तर त्योसम्मको पनि साथीहरुले विचार व्यक्त गर्ने कुरालाई सरकारले वा व्यक्तिगत रुपमा म सकारात्मक ढंगले म लिन चाहन्छु। तर मेरो प्रारम्भमा पनि भनेको विषय हो, हामी प्रदेश संरचनाप्रति प्रश्न उठिरहेको अवस्था छ। संघीय संरचनाकै कार्यसम्पादनप्रति पनि कतिपय प्रश्नहरु उठिरहेका छन् वा तीन तहकै सरकारका कामकारबाहीका कारणले हाम्रा समर्थकहरु मौनतामा परिणत भएका छन्, विरोधीहरुले चलबलाइरहेको कुरा हाम्रा अगाडि देखिएकै एउटा अवस्था छ।

माननीय ज्यूहरुले पनि आफ्नो विचार व्यक्त गर्दा यसका बारेमा बोलिरहेको कुरा पनि सरकारले ध्यान दिएकै एउटा अवस्था छ। कसरी गर्ने होला, त्यो छलफलको विषय बन्छ नै। जे प्रश्नहरु अपुगताको कुरा गरिरहनुभएको छ, त्यो कार्यदल जो हामी बनाइरहेका छौँ, त्यसले ती सबैको उत्तर खोजेर मात्रै त्यो कार्यान्वयनको तहमा पुग्ने कुरा रहन्छ। आज बुझ्नासाथ त्यो कार्यान्वयनको तहमा त्यत्तिकै पुग्दैन। यतिको कुरा चाहिँ मैले यहाँ भन्नुपर्ने एउटा अवस्था उत्पन्न भयो।

म फेरि पनि विनम्रतापूर्वक अनुरोध र आग्रह गर्न चाहन्छु, हामीले सुधार गर्नैपर्ने छ। सुधार एक्लै गर्न सकिँदैन। एक्लै गर्ने गरी अगाडि बढिँदैन। त्यसका निम्ति आवश्यक परामर्श सदनभित्र, सदनबाहिर, सरोकारवाला सबैसँग हुने परिस्थिति निर्माण हुन्छ। तर हाम्रो समाजमा सुधार सबैले गर्नुपर्ने भन्ने हुन्छ तर सुधारको अग्रसरता लियो भने त्यसलाई कार्यसम्पादन गर्ने कुरामा धेरै किसिमका समस्याहरु, जटिलताहरु रहिआएको एउटा अवस्था छ। म त्यसकारणले फेरि पनि संक्षिप्तमा म के अनुरोध र आग्रह गर्न चाहन्छु त भन्दा, यतिसम्म पनि भन्नुभयो कि एक्लै पो गरे कि? सप्त बेवारिसे छन् कि ?

मलाई लाग्छ, त्यस्तो अवस्था होइन। भन्न त भनिहाल्नुभयो। भन्ने कुरालाई अन्यथा मान्न सकिने अवस्था रहेन। त्यसकारणले फेरि पनि म अनुरोध र आग्रह गर्न चाहन्छु, हामीले रिपोर्ट प्राप्त गरेका छौँ। त्यो रिपोर्ट सबैका लागि अध्ययनका निम्ति मुख्यमन्त्री तहको निर्णयबाट त्यो सार्वजनिक भएको अवस्था छ।

प्रदेश सरकारको निर्णयबाट त्यसलाई आवश्यक कार्यान्वयनका निम्ति अध्ययन गर्नका निम्ति सचिवको संयोजकत्वमा एउटा कमिटी बनेको एउटा अवस्था छ। तर कतिपयले के भन्नुहुन्छ त भन्दाखेरि, यो त त्यत्तिकै लागू गर्न खोजिरहेका थिए, भइहाल्थ्यो भन्ने पनि प्रतिक्रिया आउने कुरालाई म अन्यथा ठान्दिनँ। तर फेरि पनि म भन्न चाहन्छु कि हामीले केही न केही सुधार गर्नैपर्ने छ। कहाँबाट सुरु गर्ने? हामी छलफल गरौँला, कुराकानी गरौँला।

सरकारले प्राप्त गरेको प्रतिवेदन सार्वजनिक छ। असहमत हुन सकिन्छ, त्यसमा रहन्छ तर जे उपमा दिएर छलफल चलाइएको छ, त्यो स्तरको विषय हो भन्ने मलाई लाग्दैन। म उपमातिर जान चाहन्नँ। किनभने विगतमा पनि प्रतिवेदन बने। सरकारको वा दातृसंस्थाको उल्लेखनीय रकम खर्च भएको पनि दृष्टान्त देखिन्छ। ती रिपोर्ट बनाउनेलाई थाहा भयो होला।

कहीँ रेकर्डमा लिखित होला तर यसचोटिको रिपोर्ट सबैको चासो, केवल यो कर्मचारीको, केवल यो जनप्रतिनिधिहरुको विषय मात्रै होइन, यो सबैको सरोकारको विषय भएको हुनाले त्यो सार्वजनिक छलफलको विषय बनाउने उद्देश्यका साथ पनि त्यो प्रतिवेदन सार्वजनिक गरिएको एउटा अवस्था हो। त्यसमा विविधतायुक्त प्रतिक्रिया माननीय ज्यूहरुले पनि अध्ययन गरिरहनुभएको छ, मैले पनि त्यसलाई हेरिरहेको अवस्था छ।

तर म अनुरोध र आग्रह गर्न चाहन्छु, हामीले हाम्रा संरचनाहरु व्यावहारिक, समयअनुकूल, परिणाममुखी गर्ने गरी केही न केही गर्नैपर्ने अवस्था छ भन्ने मलाई लाग्छ। तर त्यो एकल विषय होइन, त्यो साझा, सामूहिक विषय हो।

सामूहिक विषय बनाएर नै त्यसको यात्रा प्रारम्भ गरिने कुरा म अनुरोध र आग्रह गर्न चाहन्छु। नकि माननीय ज्यूहरुले भनेजस्तै कसैको उठिबास गर्ने उद्देश्यका साथ यो प्रतिवेदन ल्याइएको पनि होइन, उद्देश्य त्यो राखिएको पनि छैन। यति चाहिँ म यहाँहरुका बीचमा भन्न चाहन्छु।

व्यावहारिक ढंगले, अनौपचारिक ढंगले हामी धेरै कुरामा सहमत हुने तर औपचारिक ढंगले आउँदा आ–आफ्ना पृथक्–पृथक् मान्यता बनाउने प्रचलन रहिआएकै अवस्था छ।

हाम्रा जे–जे नामाकरण गरिरहेका छौँ, संघीय सरकारको नामाकरणसँग मिलेको एउटा स्थितिको अवस्थामा कार्यक्षेत्र सातवटा मन्त्रालयको एउटै मन्त्रालयले प्रतिनिधित्व गर्नुपर्ने तर व्यवहारिक ढंगले एउटा मन्त्रालयको मात्रै जनशक्ति र कार्यक्षेत्र रहेर हामीले सात–आठ वर्ष बिताएको यथार्थ, व्यवहारिक ढंगले हामी सबैले महसुस गरेका छौँ।

जसका आधारबाट पनि हामीले पुनर्गठित गर्नुपर्ने, पुनर्संरचना गर्नुपर्ने जरुरी र आवश्यकता म देख्दछु। तर त्यो यात्रा एकल यात्रा नभएको हुनाले त्यो छलफलको विषय बन्ने गरी नै सरकार अगाडि बढिरहेको कुरा म यहाँ राख्न चाहन्छु। यो विषयमा मैले यति भन्न चाहन्छु।

अर्को विषय बजेट निर्माण र यसप्रतिको प्रतिक्रिया हो। बजेट ल्याउँदा सबै माननीय सदस्यज्यूहरुको सक्रिय सहभागिता रह्यो। बजेट प्रस्तुत गर्दाको मनोविज्ञान प्रस्तुतकर्ताबाहेक सबै सत्तापक्ष, प्रतिपक्षहरु एउटै ठाउँको मनोविज्ञान रहिआएको यो प्रदेश सभाको निरन्तर सात वर्ष, आठ वर्षदेखि एउटा प्रत्यक्षदर्शी भएर मैले अनुभव गरिरहेको एउटा अवस्था छ, यो मनोविज्ञान छ नै।

त्यसकारणले माननीय ज्यूहरुले भन्नुभएको कुरालाई मेरो तर्फबाट यो प्रतिपक्ष, यो सत्तापक्ष होइन, त्यो जनताको जनप्रतिनिधिका हिसाबले भन्नुभएको आधारबाट लिनुपर्छ र त्यसरी नै मैले बुझिरहेको अवस्था छ। र दलीय व्यवस्था छ, कहिलेकाहीँ यहाँ नोकझोक प्रकट हुन्छ। त्यही कुरा सत्तापक्षले भन्नुभयो भने त्यसैलाई नै मूल आधार बनाएर प्रतिपक्षले त्यसैलाई नै दोहोर्‍याएर विषय बनाउने चलन रहिआएकै अवस्था छ। त्यसैबाट पनि केही भइ पो हालिन्छ कि भनेर विचारहरु व्यक्त गर्ने कुरालाई म सामान्य र स्वभाविक अर्थमा लिन चाहन्छु। तर हामीले अन्तिममा बजेट सर्वसहमतिले पास गर्‍यौँ।

तर बाहिर म विनम्रतापूर्वक भन्न चाहन्छु, त्यो बिचौलियाको बजेट, छलफलसम्म आउनु ठीक छ। विचार राख्दा त्यो पनि प्रवृत्तिलाई म अन्यथा ठान्दिनँ। तर पास सर्वसम्मत हुने, तर प्रतिक्रिया त्यस्तो आउने, त्यो पनि एउटै खाले आउने, त्यसमध्ये होइन नि बजेट कार्यान्वयन भोलिदेखि सुरु हुन्छ। अहिले नै बिचौलियाको प्रतिनिधि पात्र आफैँ हौँ कि जस्तो गरी विचार व्यक्त गर्ने कुराले यो प्रदेश सभाको गरिमा, स्वयं माननीय जनप्रतिनिधिको गरिमा के हुन्छ? त्यो सम्बन्धितले ध्यान दिने कुरा हो। सरकारको धेरै चिन्ता नगर्नु भए हुन्छ। राम्रा सुझाव पालना गरेर अगाडि बढिन्छ।

पक्कै पनि त्यो प्रवृत्ति कहीँ न कहीँ छ होला भन्ने कुरामा म पनि सचेत छु। त्यसमा सबैको प्रयासका आधारबाट त्यसलाई हामीले न्यूनीकरण गर्दै जानुपर्ने कुरा हो। सबैको सहयोगको माध्यमबाट त्यसको मात्रात्मक रुपमा केही सुधार भएको छ तर केही कमीहरु अहिले पनि रहिआएको अवस्था छ।

त्यसलाई स्वीकार गर्न सकिन्छ तर समग्र आफूले समेत अंक भरेको बजेटलाई बिचौलियाको नजरले हेर्ने दृष्टिकोण सकारात्मक दृष्टिकोणका आधारबाट बदलौँ भन्ने म अनुरोध र आग्रह गर्न चाहन्छु। माननीय ज्यूहरुको सबैको ध्यान छ।

म त्यसलाई बेलैमा कार्यान्वयनको योजना बना भनेर जो गम्भीरतापूर्वक प्रश्नहरु उठाउनुभएको छ, प्रदेश सभामा सरकारका तर्फबाट जे कुरा भनिएको छ, त्यसअनुसार कार्यान्वयनको आवश्यक योजना बनाएर जस्तो संरचना छ, त्यसलाई हामीले अधिकतम आफ्ना ठाउँबाट परिचालित गर्ने पूर्व योजनाका साथ सरकार अगाडि बढेको कुरा म यहाँहरुका बीचमा राख्न चाहन्छु।

विगतमा त हामीले दशै जिल्लाका सबै कार्यालयका कार्यालय प्रमुखहरुलाई समेत भेला गराएर गरेको एउटा अवस्था थियो तर गएको २५ गते नै प्रदेश सभामा सरकारका तर्फबाट गरिएका सहमतिलाई समेत आधार बनाएर, आधार बनाएर निश्चित मिति र निश्चित तिथिका आधारबाट काम सम्पादन गर्ने गरी आवश्यक कार्यतालिका बनाएर सरकार अगाडि बढेको कुरा म यहाँहरुका बीचमा राख्न चाहन्छु। तर पनि फेरि त्यही हो संरचना, त्यही हो जनशक्ति, त्यहीमार्फत हामीले काम गर्नुपर्ने एउटा अवस्था रहन्छ।

हाम्रो हुटहुटी एउटा ठाउँमा छ, त्यो संरचनाहरुले बजेट पास गरिसकेपछि विश्राम गर्ने अवस्था रहँदो रहेछ। त्यसलाई पनि हामीले सुधार गरेर जाने गरी हामीले अगाडि बढेको कुरा म यहाँ राख्न चाहन्छु। अब बजेट बनाउँदा यो पहिलो बजेट होइन, यो पहिलो सरकार होइन। तर विगत सबै बिर्सिएर, अरुले त अरुले बिर्से, बनाउनेले समेत बिर्सिएर प्रतिक्रिया दिने अवस्था रहँदो रहेछ।

स्वयं मै मुख्यमन्त्रीले पनि यहाँ नीति तथा कार्यक्रममा बोल्दा बजेटको स्पिरिट यो जान्छ, सबैका अगाडि भनेको, त्यो भन्नका निम्ति होइन, त्यो अन्तर हृदयको कुरा नै थियो तर त्यसमा केही मुनानुकी कुराहरु बजेट आउँदा जनदबाबका कारणले होस्, जे–जे कारणले होस्, जे कुरा आइरहेको छ, त्यतापट्टि सरकारको ध्यान गएकै एउटा अवस्था छ। तर के त्यो शीर्षक पहिलो चोटी राखेको हो र? यहाँ अहिले पनि हाम्रो पर्यटन मन्त्री देखियो भने उहाँको नामै अर्को बनाउने गरी भन्नुपर्ने, के यो पहिलो चोटी हो र?

हो, त्यसमा हामीले अझै न्यूनीकरण गर्नुपर्ने कुरामा म पनि सहमत छु तर यो पहिलो चोटी होइन। सुधार गर्नुपर्ने कुराहरु छन्, त्यसलाई सकारात्मक ढंगले लिनुपर्ने हुन्छ। त्यस आधारबाट साथीहरुले अगाडि बढ्ने कुरा चाहिँ गरौँ भन्ने म अनुरोध र आग्रह गर्न चाहन्छु।

अहिले अब बर्खाको समय छ, दैविक प्रकोपका कतिपय प्राकृतिक प्रकोपका घटनाहरु घटिरहेको एउटा अवस्था छ। त्यसले आफ्नो ठाउँबाट आवश्यक समन्वय र सहकार्य गर्ने सोचका साथ सरकारले काम गरिरहेको कुरा म यहाँहरुका बीचमा राख्न चाहन्छु।

माननीय ज्यूहरुले भन्नुभएका कतिपय कुराहरुले पनि त्यसमा सरकारलाई सचेत, सचेष्ट बनाउने कुरा गरिरहेको एउटा स्थितिको बीचमा रहिआएको एउटा अवस्था छ। यस आधारबाट मलाई लाग्छ, यो कुरा गरौँ भन्ने छ।

तर अब कहिलेकाहीँ भिन्न–भिन्न पनि हुन सक्छ, कहिलेकाहीँ कुरा मिल्न पनि सक्छ। तर अब साथीले, कतिपय माननीय सदस्यले भन्दिनुभयो, त्यसलाई अलि टिप्पणी गरौँ नै जस्तो लाग्यो मलाई। अरु सबै माननीय सदस्यहरुको टिप्पणी जान चाहन्न।

सांगठनिक संरचनाको कुराका बारेमा कसैले केही प्रतिक्रिया व्यक्त गर्दा एकजना माननीय सदस्यले, म त्यो शब्द भनेर रेकर्ड गराउन त चाहन्न, त्यो तहको अवस्था होइन है। त्यो तहसम्मको अवस्था यो विषय होइन है। विषयमा असहमत हुन सक्ने कुरा हुन्छ। त्यसलाई दलीय प्रतिस्पर्धा छ, भिन्न–भिन्न पार्टी छौँ। सहयात्रामा पनि सँगै छौँ। साझा कुरा पनि निस्कन्छन्, कहिलेकाहीँ आ–आफ्ना पार्टीका कुरा पनि निस्कन्छन्।

त्यसलाई सहज, सहकार्यका आधारबाट लिनुपर्ने हुन्छ। मिल्दा सबै मिलेको जस्तो, नमिल्दा सबै नमिले जस्तोको यात्रा नेपालको राजनीतिक यात्रा छैन, रहेको अवस्था देख्दिनँ म। त्यसकारणले मिल्दा सहयात्राका साझा विषय पनि छन्, बेमेलका विषय पनि छन्, फरकपनका विषय पनि छन् तर त्यसलाई त्यो शब्दको सिम्बोल दिएर बुझ्ने कुरा चाहिँ नगरौँ भन्ने म अनुरोध र आग्रह गर्न चाहन्छु।

भिन्न पनि खोजौँ, म अनुरोध गर्न चाहन्छु, भिन्न पनि खोजौँ तर भोलि पिच्छे, व्यक्ति पिच्छे फरक कहाँ पाइन्छ भनेर खोजी गर्दा समय बिताउने मात्रै कुरा हो। हाम्रो तहको मतभिन्नताले, हाम्रो तहको बुझाइको डिफरेन्सेसका कारणले, त्यसलाई अब राम्रो भन्नुस् वा नराम्रो भन्नुस्, राजनीतिक सहयात्रा कमै प्रभावित हुने अवस्था छ।

त्यसकारणले हाम्रो ठाउँको, कर्णालीको विकास र निर्माणका निम्ति भिन्नता खोज्ने गरी होइन, देखिएका भिन्नतालाई पनि मित्रवत् व्यवहारका आधारबाट समाधान गर्ने कुरा गर्न सकियो भने मलाई लाग्छ त्यसले सहज वातावरण बन्छ। अन्यथा होइन भने के देखिन्छ त भन्दा सबै विषयलाई राजनीतिकरण गर्न खोजियो भने भिन्न मात्रै हाबी हुने एउटा परिस्थिति निर्माण हुन्छ।

यतापट्टि म सबैको ध्यानाकर्षण गर्न खोज्दै, बजेट कार्यान्वयनका सम्बन्धमा माननीय सदस्यज्यूहरुले जे तदारुकता, जे पहलकदमीका साथ भन्नुभएको छ, त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। त्यस अनुसार आफ्नो संयन्त्र र कार्ययोजनाका साथ अगाडि बढ्ने कुरा फेरि पनि दोहोर्‍याउन चाहन्छु।

सरकारका तर्फबाट प्रदेश सभाभित्र भनिएको जे मुताबिक छ, त्यस मुताबिकअनुसार नै प्रदेश सरकारले आफ्नो कार्ययोजना बनाएको, यहाँ गरिएका कतिपय निर्णयहरु त्यो तहको निर्णयका आधारबाट सम्बन्धित निकायलाई पत्राचार, निर्देशन दिएको समेत म माननीय सदस्यहरुका बीचमा जानकारी गराउँदै अहिलेका लागि यति कुरा राखेर बिदा हुन चाहन्छु। धन्यवाद।

 

पछिल्लो समय कर्णाली सरकारमाथि पुनर्संरचनाको विषय, प्रतिपक्ष दल तथा सत्तापक्षकै सांसदहरुले उठाएको विषयहरुमाथि बुधबार बसेको कर्णाली प्रदेश सभा बैठकमा मुख्यमन्त्री यामलाल कँडेलले गरेको सम्बोधन ।

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार