राजस्व कार्यालय सुर्खेतले उठायो २ अर्ब १४ करोड राजस्व



आन्तरिक राजस्व कार्यालयले सुर्खेतले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब १४ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
आँकडा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा संकलित १ अर्ब ८६ करोड ८१ लाख रुपैयाँको तुलनामा १४.७३ प्रतिशतले बढी हो ।

कार्यालयले २ अर्ब ४९ करोड ८६ लाख रुपैयाँको वार्षिक लक्ष्य पाएकोमा ८५.८२ प्रतिशत मात्रै प्रगति हासिल भएको छ ।

कार्यालयका कर अधिकृत तथा सूचना अधिकारी अमरबहादुर थापाका अनुसार, सुरुमा विभागले कार्यालयलाई २ अर्ब २० करोड रुपैयाँको लक्ष्य तोकेको थियो । तर, आर्थिक वर्षको बीचमा ३० करोड रुपैयाँ लक्ष्य थपियो ।

आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलनमा सबैभन्दा ठूलो योगदान आयकरबाट भएको छ । आयकर शीर्षकमा मात्रै १ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ संकलन भयो, जुन अघिल्लो वर्षको तुलनामा १५.०६ प्रतिशतले बढी हो । यसैगरी, मूल्य अभिवृद्धि कर (भ्याट) बाट ६८ करोड रुपैयाँ संकलन भएको छ, जसमा १३.४१ प्रतिशतको वृद्धि देखिन्छ ।

ब्याज करमा सबैभन्दा उत्साहजनक ३०.२० प्रतिशत र अन्तःशुल्कमा २२.८७ प्रतिशतको वृद्धिले आर्थिक कारोबार र वित्तीय सेवाहरूमा भएको विस्तारलाई संकेत गर्दछ ।

यद्यपि, अधिकांश शीर्षकमा सकारात्मक वृद्धि हुँदा घर बहाल कर संकलनमा भने १.९८ प्रतिशतले गिरावट आएको छ ।

७ करोड ४० लाखको लक्ष्य राखिएकोमा जम्मा ४ करोड ३९ लाख मात्रै उठ्नुले लक्ष्यको ५९.३९ प्रतिशत मात्रै प्रगति भएको देखिन्छ ।

यसको कारणबारे थापा प्रस्ट पार्छन्, ‘प्राकृतिक व्यक्तिको घर बहाल कर स्थानीय तहमा जाने व्यवस्था भएपछि हाम्रो कार्यालयमा व्यावसायिक निकायहरूको मात्रै कर आउँछ । व्यक्तिहरूले स्थानीय तहमै कर तिर्ने भएकाले यो शीर्षकमा हाम्रो संकलन घटेको हो ।’

राजस्व संकलनसँगै कार्यालयले करको दायरा फराकिलो बनाउने अभियानलाई पनि तीव्रता दिएको छ। बितेको एकै वर्षमा १७ हजार ६७० नयाँ करदातालाई कर प्रणालीमा दर्ता गरिएको छ, जुन आफैँमा एक ठूलो उपलब्धि हो ।

तथ्याङ्कअनुसार, सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या १३ हजार ८५० रहेको छ ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार