सुर्खेतमा हनी ट्रयापः सहमतिमा यौन सम्बन्ध, गोप्य तस्बीर देखाएर ‘ब्ल्याकमेलिङ’ गरी १४ लाख बढी झ्वाम



एक पुरुषलाई ’हनी ट्रयाप’मा पारेर १४ लाख रुपैयाँभन्दा बढी रकम असुलेको आरोपमा सुर्खेत प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेख नौमुले गाउँपालिका—८ घर भई हाल जिल्ला वीरेन्द्रनगर नगरपालिका—९ बस्ने २१ वर्षीया सिन्दु चन्द रहेकी छिन् ।

प्रहरीका अनुसार, पीडित पुरुषले दिएको जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको हो । ०८१ भदौ महिनामा वीरेन्द्रनगर नगरपालिका–६ स्थित बुलबुले भ्यु होटलमा पीडित र चन्दबीच भेटघाट र सहमतिमै सम्बन्ध स्थापित भएको थियो ।

तर, पछि चन्दले त्यही सम्बन्धलाई हतियार बनाएर आर्थिक लाभ लिने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार, चन्दले पीडितलाई ‘जबरजस्ती करणीको मुद्दामा फसाइदिन्छु’ र ‘नाङ्गो तस्बिर सामाजिक सञ्जाल र मिडियामा सार्वजनिक गरिदिन्छु’ भन्दै निरन्तर धम्की दिएकी थिइन् ।

यही डर र त्रास देखाएर उनले विभिन्न मितिमा पटक–पटक गरी पीडितबाट जम्मा १४ लाख २५ हजार रुपैयाँ असुल गरेको जाहेरीमा उल्लेख छ ।

पक्राउ परेकी चन्दलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको डीएसपी बुढथापाले बताए ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार